खुशी ! म कहाँ आऊ है
कति प्यारी तिमी ।

उनले भनिन् तिमी पढ म आउने छु
मैले पढेँ तिनी आइनन्
उनले वाचा गरिन् राम्रो जागिर खाऊ म आउने छु
मैले जागिर खाएँ तर तिनी आइनन्
घर खोई तिम्रो ? म आउनलाई
सकि नसकि घर बनाएँ तैपनि आइनन् ।

मैले फेरि अनुरोध गरेँ
उपहार पठाएँ, अनूनय विनय गरेँ
राम्री खुशी ! तिमी जसरी पनि मेरो घरमा आऊ है ।

उनले म तर्फ हेरिन् र भनिन्
छोराछोरी पढाउ ठुलो मान्छे बनाउ
म पक्कै आउने छु
छोराछोरी पढे बढे फेरि पनि तिनी आइनन् ।

पूजाअर्चना गरेँ प्रसाद चढाएँ
व्रत बसेँ आह्वान गरेँ
हे मेरी खुशी ! तिमी आऊ है म तिम्रै प्रतीक्षामा रहने छु ।

आफ्नो जागिर राम्ररी सकाउ
छोराछोरी जागिरे बनाउ
विश्वास गर म आउने छु, खुशीले भनिन् ।

जागिरबाट निवृत्त भएँ
छोराछोरी जागिरे भए ठुला भए
तैपनि कस्ती अटेरी खुशी, आउँदै आइनन् ।

राजधानीमा जाऊ विदेश जाऊ
गाडी चढ बङ्गला बनाउ
कसम म आउने छु ।

सक्दो प्रयास गरेँ आफूलाई ठोकेँ घोटेँ तर सकिनँ
थाहा भयो कि त्यो दिन निश्चित छ
डाक्टरले उसैको भरोषा भन्यो ।

खुशी न आएकोभन्दा पनि प्रतीक्षा सकिनलागेकोमा म दुःखित भएँ
खुशीले मेरो विश्वास नगरेकोमा म दुःखित भएँ
त्यो निश्चित दिन आयो तर खुशी आइनन् ।

त्यो दिनपश्चात् म आफै खुशीलाई भेट्न गएँ
म जस्तै अनगिन्ती पागल प्रेमीहरू
खुशीलाई भेट्ने आशमा जाँदै थिए
तर टाढा टाढासम्म खुशीको नाम निशान थिएन
निश्चित भयो खुशी धोकेबाज रहिछन्
मेरो प्रेम एकतर्फी सावित भयो
र मेरो प्रतीक्षा समाप्त भयो ।

मूर्दा शान्ति छायो, चकमन्न भयो
म भित्रक‍ो म उडेर जानेक्रममा कसैले झकझकाय‍ो र बिस्तारै साउती ग-यो
“हे महाशय ! खुशी त त्यहीँ छिन जहाँबाट तपाँई आउनु भयो
खुशी तपाँइसँगै थिइन् तर चिन्न सक्नुभएन
बेला बेलामा आँउथिन् तर देख्नु भएन
खुशी भेट्ने मन चाहिन्छ
खुशी सँगाल्ने धैर्य चाहिन्छ
खुशी हुने बहाना चाहिन्छ
खुशीरहने कला चाहिन्छ ” ।

२०७७/०५/२७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *