उनी न्यायाधीश हुन् । उनलाई गाडीको सुविधा छ । क्वार्टर सुविधा छ काम गर्ने एक कामदार पनि छ । न्यायाधीशज्यूकी पत्नीलाई आराम छ ।
छोरो बीस वर्षको छ उसलाई मोटर साइकल किनिदिएका छन् बार पास गरेपछि । उसकी बहिनी भर्खर १० वर्षकी मात्र हुँदैछे । बडो जिज्ञासु छे । घरमा नानु भनेर सबैले बोलाउँछन् । घरै उज्यालो पारेकी छे । यिनै न्यायाधीशका क्वार्टरमा विश्वकर्मा बाबाको पूजाका दिनको कुरा हो ।
बिहानै नानुका दाजुले मोटर साइकल धोयो । नयाँ जस्तै देखियो सफा गरेपछि । उसको काम उसकी नानुले हेरिरही नजिकैबाट ।
“किन दादा यसरी धुनु भएको सोधी ?”
“आज भगवान विश्वकर्मा बाबाको पूजाको दिन हो नि त ! आफ्ना गाडीहरू, मोटर साइकल कलकारखानाहरुलाई धोइपखाली गरेर सफा गरेर पूजा गर्नुपर्छ । पर्साद चढाउनु पर्छ ।”
नानुले के बुझी कुन्नि । “ए !” मात्र भनी । अनि साथैमा रहेको आफ्नो बाबा चढ्ने गरेको नजिकै रहेको कारलाई देखाउँदै सोधी- “यो पनि सफा गर्नु न दादा !”
‘आ यो सरकारी गाडी हो आफ्नो हैन । यसलाई कसले सफा गरिरहोस् !”
“सरकारीले चैं सफा हुनु पर्दैन र दादा ?”
“पर्दैन पर्दैन !” अलिक झर्केजस्तो गरेर भन्यो ।
“हाम्रो बाबा पनि सरकारी है दादा !”
“हो त, सरकारी जागिरे ।”
“सरकारीले सफा हुनु पर्दैन भन्नुहुन्थ्यो त फेरि हाम्रो बाबाले किन दिनदिनै नुहाएको त ?”
दाजुचाहिँले जवाफ दिन सकेन । अनि गाली गर्यो- “नकरा यो केके भनेर दिक्क लाउँछे ।”
बालिकाको प्रश्न दाजुबाट अनुत्तरित रह्यो । यो जिज्ञासा ता उसले उसका पितासँग पनि सोध्छे नै । त्यो बेला सायद उसका न्यायाधीश पिताले छोरीको कुरामा फैसला गर्लान् वा मुद्दा तामेलीमा राख्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
