Skip to content

प्रश्नको मुद्दा


उनी न्यायाधीश हुन् । उनलाई गाडीको सुविधा छ । क्वार्टर सुविधा छ काम गर्ने एक कामदार पनि छ । न्यायाधीशज्यूकी पत्नीलाई आराम छ ।

छोरो बीस वर्षको छ उसलाई मोटर साइकल किनिदिएका छन् बार पास गरेपछि । उसकी बहिनी भर्खर १० वर्षकी मात्र हुँदैछे । बडो जिज्ञासु छे । घरमा नानु भनेर सबैले बोलाउँछन् । घरै उज्यालो पारेकी छे । यिनै न्यायाधीशका क्वार्टरमा विश्वकर्मा बाबाको पूजाका दिनको कुरा हो ।

बिहानै नानुका दाजुले मोटर साइकल धोयो । नयाँ जस्तै देखियो सफा गरेपछि । उसको काम उसकी नानुले हेरिरही नजिकैबाट ।

“किन दादा यसरी धुनु भएको सोधी ?”

“आज भगवान विश्वकर्मा बाबाको पूजाको दिन हो नि त ! आफ्ना गाडीहरू, मोटर साइकल कलकारखानाहरुलाई धोइपखाली गरेर सफा गरेर पूजा गर्नुपर्छ । पर्साद चढाउनु पर्छ ।”

नानुले के बुझी कुन्नि । “ए !” मात्र भनी । अनि साथैमा रहेको आफ्नो बाबा चढ्ने गरेको नजिकै रहेको कारलाई देखाउँदै सोधी- “यो पनि सफा गर्नु न दादा !”

‘आ यो सरकारी गाडी हो आफ्नो हैन । यसलाई कसले सफा गरिरहोस् !”

“सरकारीले चैं सफा हुनु पर्दैन र दादा ?”

“पर्दैन पर्दैन !” अलिक झर्केजस्तो गरेर भन्यो ।

“हाम्रो बाबा पनि सरकारी है दादा !”

“हो त, सरकारी जागिरे ।”

“सरकारीले सफा हुनु पर्दैन भन्नुहुन्थ्यो त फेरि हाम्रो बाबाले किन दिनदिनै नुहाएको त ?”

दाजुचाहिँले जवाफ दिन सकेन । अनि गाली गर्यो- “नकरा यो केके भनेर दिक्क लाउँछे ।”

बालिकाको प्रश्न दाजुबाट अनुत्तरित रह्यो । यो जिज्ञासा ता उसले उसका पितासँग पनि सोध्छे नै । त्यो बेला सायद उसका न्यायाधीश पिताले छोरीको कुरामा फैसला गर्लान् वा मुद्दा तामेलीमा राख्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *