Skip to content


मेरो प्रिय मान्छे
आऊ मेरो समिपमा
तिम्रो काखमा पीडाको भारी
बिसाएर
न्यानो अङ्गालोमा आराम गर्न चाहन्छु

तिमीसँगको साथले जुनेली रातमा
त्यो झलमल बलेको आकाशमा
भर्याङ राखेर ती जून तारा टिप्छु

जब तिमी एक्छिन ओझेल हुन्छौ नि मबाट
थाहा छ प्रिय ? त्यो एक एक पल
औंसीको रात बनिदिन्छ
हो त्यही अन्धकारलाई चिर्न
तिनै जून तारालाई
आफ्नै नजरको जेलभित्र बन्दी
बनाएर राख्छु

जून ताराहरुको त्यै सिङो संसार
आकाशमा उमङ्गको
पखेटा फिजाएर तिमीलाई
चञ्चलताको अङ्कुशले तानेरसँगै उडाउनेछु
कतै त्यो बतासले मेरो प्रियलाई
छुने त होइन ?
ईर्श्याले आगो दङ्केको मन
बोकेर झार्नेछु तिमीलाई फेरि
यही आफ्नै सुन्दर दुनियाँमा
अनि निर्धक्कसँग

पसाउन थालेको धानभित्र
चखेवाको हाम्रो जोडीले
चामल भरौला
तब
यिनी मुहारमा
मुस्कान फक्रनेछ
हर्षको उन्मात चड्नेछ

तिमी मिठो संगीतमा गुनगुनाउनु
त्यही स्वर ब्यञ्जन चुडेर
प्रेमको माला उन्नेछु
मेरो मनको मान्छे
हाम्रो प्रगाढ मायाको माहासागरबाट
खुशीहरुका थोपा थोपा
सङ्गालेर
हिमालको चुचुरो बनाउँछु
यिनै भावनाका पृष्‍ठभूमिमा
एउटा अटल अमर प्रेमकहानीको
ईतिहास रच्छु
तिमी नायक म नायिका
युगान्तर जीवन्त
रहनेछौ सिङ्गो ईतिहास
बनेर ।

कल्पना पौडेल “जिज्ञासु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *