Skip to content


तीनवटा वर्षौटे सन्तान प्रेमको नाममा उपहार दिएपछि रोजगारीको खोजीमा मुग्लान पसेको लोग्ने उतै बेपत्ता भयो । सहरको बसाइँ । गुजारा चलाउन धौधौ पर्‍यो । लाज र घिन मानेर भएन । अर्काको चुलोचौको र जुठो भाँडो गर्नेसम्मका काम गरी । यति गर्दा पनि जीवनको गाडी सहजतासाथ गुडेन । घरभाडाको पैसा तिर्न सकिन । विधूर घरधनीले अप्रत्यक्षरूपमा उसको सुगठित मांशपेशी भाडामा माग्यो । खुद्रा पसलेले उधारो सामानको बदला मुस्कान भुक्तानीको प्रस्ताव राख्यो । यसरी बाध्यता र आवश्यकताको विनिमय भयो ।

समयसँग सम्झौता गरी र यसैलाई व्यवसायमा रूपान्तरण गरी उसले । जे जसरी भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भन्ने उसको विचार थियो । भनिन्छ, पहिलो पाठशाला घर हो । घरको वातावरणका कारण छोराछोरीलाई स्कुलको शिक्षामा अभिरुचि भएन । सानैदेखि पढाइमा भन्दा ठर्रा र मासु ओसार्ने काममा रमाइलो मान्न थाले । वयस्क हुँदै गएको छोरो लागूऔषधि र रक्सीको कुलतमा फस्यो । आमाले सुधार्न प्रयत्न गरी । सबै बेकार भयो । कहिले सडकमा त कहिले नालीमा रात बिताउन थाल्यो ।

दैनिक झगडा त्यो घरको नियमितताजस्तै भयो । एकदिन त खै के भएछ कुन्नि, छोराले आमालई पिट्दै सडकमा निकाल्यो र ‘रण्डीलाई नमारी छोड्दिन’ भन्दै सडकमै निर्घात भकुर्न थाल्यो । छरछिमेकीहरूले बल्लतल्ल छुट्याए पनि मौका छोपीछोपी आमामाथि प्रहार गर्दै रहृयो । कसैले पुलिसमा खबर गर्‍यो र पुलिस आयो । पुलिसकै सामुन्नेमा पनि छोरोले आमामाथि आक्रमण गर्दै रहृयो । गजबको कुरो त के थियो भने शान्तिसुरक्षाका पर्याय पुलिस र केटोको शारीरिक अवस्थामा खासै भिन्नता थिएन । पुलिसको मुखबाट शान्तिसुरक्षा हृवास्हृवास्ती गन्हाइरहेको थियो । पुलिसले वर्दीको सम्मानार्थ आˆनो लठ्ठी केटोमाथि बजार्न थाल्यो ।

केटो निहाल भएर सडकमा लड्यो । आखिर आमाको मन न हो थामिएन । उसले अघि भरखरको घटना बिर्सी । टाउकोबाट हृवाल्हृवाल्ती बगिरहेको रगत बिर्सी, अनुहारभरिका नीलडाम बिर्सी र सुरक्षा प्रहारबाट आहत छोरोको रक्षाकवच बनेर पुलिससामु हात जोड्दै भन्न थाली, जे भए पनि केटाकेटी हो माफ गरिदिनुस् हजुर ।

-भैरहवा, रूपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *