Skip to content

दृष्य क
एउटा ठेलामा तरकारी बेच्न राखिएको थियो । तरकारी नकिनी ठेला समाएर १०…..१२जना गफमा मस्त थिए । मैले तरकारीको मोल सोधेँ, व्यापारकै मतलब नगरी सुन्याजस्तै गरेनन् बरु अरु गफ गरिरहे । मैले उनीहरुको गफमा ध्यान नदिई पाइला अन्तै मोडेँ । गफ गर्नेहरुमा २ जनाको मास्क पनि थिएन ।

दृष्य ख
एउटा साइकलमा साग बेच्न राखिएको थियो । बेपारी उदास देखिन्थ्यो । मैले सागको मोल सोधेँ, एउटा बाइक राकियो उसले बाइकबाटै कति भन्छ यसले भनी मलाई सोध्यो । मैले अन्य पसलतिर पाइला मोडेँ । अरु तरकारी किनेर आइसकेपछि त्यो सागवालाको उदास चेहरा गढ्यो र साग एकमुठा दिनुस् भनी पैसा दिएँ । फेरि बाइक ठ्याक्क मलाई छेक्ने गरी आइपुग्यो र भन्यो मलाई २ मुठा है ? अन्य ३….४ ग्रुपले पनि तुरुन्ता तुरुन्तै छानेर किनुन्जेल म उम्केर सडकको पारि पुगिसकेको थिएँ । मैले उनीहरुतिर नियालेँ साग किन्नेबाहेक उनीहरु फेरि अन्य गफमा मस्त भइरहेका थिए ।

दृष्य ग
फेरि दूध किन्न गएँ । डेरीमा म जानुभन्दा अगाडि किन्नेहरु कोही थिएनन् । जब मैले आधालिटर दूध हालिदिनुस् भनेँ, मलाई नै धकेली एकजना एकलिटर दूध किन्न आइपुग्यो । डेरीवालाले उसलाई दूध दिएपछि मात्रै मलाई दियो । म ऊभन्दा दुई मीटरपछि परेर कुरेँ, यसरी एकलिटर दूध किन्ने ३ जनापछि उनीहरुको लामो विनामास्कको गन्थन सुनिसकेपछि मैले आधा लिटर दूध किनेँ ।

दृष्य घ
बाटोमा आराम गर्ने मेचमा एकछिन थकाइ मार्न बसेँ । एकजना व्यक्ति आएर धुम्रपान गर्न सुरु गर्यो । मैले आराम नगरी सरासर पाइला बढाएँ । त्यहाा त झन् चुरोट तान्नेहरुको दायाबायाँ घेरामा म परिसकेको थिएँ । मैले मास्कलाई एउटा हातले बेस्करी मुखमा छोपेँ भने अर्को हातले पत्रिकाले आफुलाई हम्कँदै पाइला बढाएँ । चूरोट तान्ने जमातहरुको पनि आफ्नै तालको गफ भइरहेको थियो ।

दृष्य ङ
आफ्नो गन्तव्यको दूरी एक स्टपको मात्र थियो । हिँड्न मलाई सकस भयो त्यसैले आफ्नै अगाडि झ्यास्स रोक्न आएको बस चढेँ । बसको सिट सबै भरिभराउ थियो । एउटा सिटमा २…२ जना बसिरहेका थिए । एकजना व्यक्ति झगडा गरेर २० रुपियाँ फ्याँकेर उत्र्यो । मेरो पनि स्टप आइपुग्यो, कोचाकोच गरी राख्दा पनि मसँग २५ नै लियो, २०ले मानेन । फेरि बसमा प्राःय सबैजना मास्क खोलेर गफ गर्दै मस्त थिए ।

आजको मेरो सर्भे यही भयो । यी सब दृष्य क देखि ङ सम्म सबैजना “कोरोनासोरोना केही होइन । यसलाई मतलब गर्नु हुँदैन । यो सब हौवा हो ।” भन्दै गफिनेहरु नै थिए । सकेसम्म उनीहरु कोरोना भन्ने रोग नै होइन भन्ने सावित गर्न चाहेका जस्ता देखिन्थे ।

घर पुगेर समाचार हेरेँ, “काठमाडौँमा हेल चेक्रयाँइँ भयो कडा लकडाउन हुन्छ भन्ने धम्कीले सरकारले आतङ्क चाहिँ पार्नु नहुने । पसल खोलेको छ । बैङ्क खोलेको छ । गाडी सबै चलाएको छ । मान्छेहरु खुलेआम आवतजावत गर्न दिएको छ । अनि सामाजिक दूरी कायम भएन भनेर कुर्लेर सरकारले के लकडाउनको धम्की दिएको ?

हो ! अवश्य नै ६ महिनाको लकडाउन, निषेधाज्ञाले सबैलाई मोनोटोनस भएको छ । तर यसबाट पार पाउने निहँुमा महामारीलाई बढावा दिन चाहिा भएन भन्न मात्र खोजेको ।

दृष्य नं क देखि दृष्य नं ङसम्म मैले गरेजस्तो सर्वेक्षण पत्रकारलाई गर्न आउँछ कि आउँदैन । पत्रकारको घरवसीवसी गर्ने रिपोर्टिङ्गले सारा देश लकडाउनमा नफसुन् । सामाजिकदूरी, मास्क, सफाइ आदिको एसएमएस सबैले पालन गरेमा अझै पनि समय छ लकडाउन हामीभन्दा धेरै टाढा हुनेछ । महामारीले उग्र रुप लिनेछैन ।

२०७७ असोज २६ सोमवार
प्रतिक्रियाका लागि bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *