एकाबिहानै,निद्राबाट ब्यूँझाएर
आमाले भन्नु भो
बाबु उठ, भगवानको पूजा गर ।
तर खै ! म नदेखिने भगवानको
पूजा कसरी गरूँ…..।
यहाँ हजारौँ भगवान्हरू
सडकमा छट्पटाउँदै रोइरहेछन्
भोक, शोक र रोगले
तिनको दयनीय स्थिति हेर्दै भगवान्
म तँलाई महल र मन्दिरको
उच्च आसनमा सजाएर के चढाऊँ ।
नित्सेले भनेझै तँ मरेकै होस् मलाई लाग्छ ।
नत्र दुःखीका कुरा नसुनी
किन निर्दयी बनेर चुप बस्थिस् ।
भो, म तेरा लागि
अबोध प्राणी अर्पण गर्दिन
सुन्दर घुम्टो ओढाएर
पुष्प गुञ्छा वर्षाउँदिन
मेरा सफलता र सुखका निम्ति
तँलाई घुस खुवाउँदिन ।
थाहा छ,
मलाई अन्योलमा बाँच्न झैँ
तँलाई पनि धेरै गाह्रो छ भगवान् बन्न
दुःखी देख्छु तँलाई आजकल
किनकि, तँ भन्न सक्दैनस्
तिम्रा सफलताका निम्ति मलाई नपुकार
रगतले नपोत नधुँवाऊ भनेर ।
पीडामा सम्झन्छन्
पोख्छन् दुःख र पीडाहरू
तँ स्थिर मूर्ति वा चित्र
टुलुटुलु हेरिरहन्छस्
अनि सुनिरहन्छस् कहिलेसम्म ?
अब भनिदे सत्ययुगमा जसरी
जनका मन रुवाएर मेरा पछि नलाग
धर्मको अपव्याख्या गरी पण्डित्याइँ नगर
नबस लाइन लागेर प्रतीक्षामा
अनन्त र अमूर्त मेरा निम्ति ।
त्यो समय बरु कर्म गर
आत्म विश्वासका साथ
चेतना दे
मान्छेलाई मान्छेका रूपमा हेर्न सिका
प्राणी जगत्को कल्याण गर्ने विवेक दे
धन्य भगवान् ! तँ बल्ल धन्य हुनेछस् ।
गोपाल खनाल
तारकेश्वर गापा १ दाङसिङ नुवाकोट
