यो ठुलो महल यी रङ्गिन भित्ता
यो अन्धकारदेखि डर लाग्न थाल्यो छोरा
आफ्ना छाला र आकृतिदेखि म आफै तर्सिन थाले
आज हात खुट्टा कर कर खादै थर थर काँप्दैछ्न
जसरी त सानामा थिगिरी थिगिरी गर्दा काँप्थिस
त्यसैले यो दशैंमा म बुढोलाई केही चाहिदैन
बस अलिकति तेरो समय किन्दे
मेरो वृद्ध भत्ता लिएर भए पनि छोरा
तेरो थोरै फुर्सद किनिदे ।
घुमौरिको लौरो बारम्बार चिप्लिरहन्छ साने
लौरिको साटो तेरो हात समाएर निस्फिक्री हिड्न सकु
बस तेरा हात समाएर बाहिरको उज्यालो हेर्न सकु
जसरी सानामा तलाई काधमा राखेर गाउँ घुमाउदा
तेरा सबै इच्छा पूरा भए जस्तो मान्थिस
छोरा आज त जस्तै म भएको छु
सानामा कोकाइ-कोकाइ गर्दा त कत्ति सताउथिस
आज म सताउदिन दुई गाँस तेरै हातबाट खान चाहन्छु
सास लिदा पनि फोक्सो नै बाहिर निस्केला जस्तो हुन्छ
जसरी सानामा त लड्दा मुटुनै बाहिर निस्केला जस्तो हुन्थ्यो
मैले दिन सक्ने केही छैन अब बाहेक शरीरका अङ्ग
छोरा सके तेही पनि बेचेर अलिकति तेरो समय किन्दे
लाग्दैछ मेरो मृत्यु मेरो आफ्नै नगिच आइ सक्यो
साने सक्छ्स भने तेरो अलिकति फुर्सद किन्दे ।
छोरा मलाई चार महिनाको दबाइ पर्दैन किन्न
बस मात्र म दुई महिना जिउन चाहन्छु
बचेको दुई महिनाको औषधीको पैसाले
तेरो अमूल्य समय किन्दे
भला एकै महिना बाचौला नचाहादा नचाहदै
छोरा तेरो अमूल्य थोरै फुर्सद किन्दे
ताकी मर्नु अघि तलाई धित मरुञ्जेल राम्ररी हेर्न मन छ
त जन्मिदाको खुसीलाई अङकमाल गर्न मन छ
हिजै जस्तो लाग्छ तेरा तोते बोली लटपटिएको
बस बाबू आज तलाई फेरि सुम्सुम्याउन मन छ
साने म मरेपछि रुनु पर्दैन रत्ति
बस जिउदो हुञ्जेल छेउमा बसेर मुस्कुराइदे पुग्छ
छोरा पछि मलाई खिरको पिण्ड तर्पण गर्नु पर्दैन तैले
त्यो खर्चले अहिले अलिकति तेरो समय किन्दे
ब्राह्मण गाई र श्राद्ध गर्ने खर्चले
बाबू तेरो अलिकति थोरै फुर्सद किन्दे ।
साने मात्र तँ मेरो आफ्नै छोरा जस्तै बन्दे
ताकी तेरी आमालाई सुनाउन सकु
उसले ज्ञानी भन्ने छोरो आज ठुलो भएको छ
शहरको ठुलो गन्ने मान्छे भएको छ
तिम्रो सपना साकार भएको छ
तेरि आमाले तेरो हालखबर सोध्ली
छोरालाई नभेटी आएभन्दा पक्कै मन दुखाउली
तेरो खुसीको लागि फेरि मसँग रिसाउली
त्यसैले छोरा यो दशैंमा मलाई अलिकति समय किन्दे
दृष्टि धमिला भए मेरा तेरो अलिकति फुर्सद किन्दे ।
