DhamalaBhattarai


त्यतिबेला हामी सानै थियौँ । हाम्रो गाउँमा एक जना अधवैंसे मान्छे साइकलमा टीका–धागो बेच्न आउँथे । उनी आफ्नो पुख्र्यौली घर सप्तरी जिल्ला बताउँथे । झापातिर व्यापार गर्न आएको भन्थे । उनलाई हामी सम्मानले ‘भैया’ भनेर बोलाउँथ्यौँ । तर, बुबाले उनी तिमीहरूभन्दा ठुलो मान्छे भएकाले काका भनेर बोलाउनुपर्छ भन्नुहुन्थ्यो । हामीले काका भनेर बोलाउँदा उनी एकदमै बुढो भएको अनुभव गर्थे । हाम्रो भाषामा दाजुलाई ‘भैया’ भनेर बोलाइन्छ, त्यसैले तिमीहरूले मलाई भैया नै भनेर बोलाउनु भन्थे । कसैले भैया भनेर बोलाउँदा मलाई आफू जवान भएको अनुभूति हुन्छ र काम गर्न जोसजाँगर चलेर आउँछ भन्थे ।

हप्तैपिच्छे उनले साइकलमा नयाँ–नयाँ डिजाइनका टीका, धागो, नेलपोलिस इत्यादि लिएर गाउँमा आउँथे । केही किन्नु त थिएन तर पनि उनलाई अलमल्याउन हामी टीका, धागो हेरी टोपल्थ्यौँ । बेकारमै अलमल्याएको भन्दै उनी हामीसँग रिसाउँथे । तर, उनी रिसाएकोमा हामी मज्जा लिँदै हाँसेर उडाइदिन्थ्यौँ । बच्चाहरू यस्तै हुन् भन्दै उनी पनि आफ्नो बाटो लाग्थे ।

हामी सबै साथीहरूको विवाहपश्चात् पहिलो पटक तीज मनाउन माइत गएका थियौ । उनी सधैँझै नयाँ–नयाँ डिजाइनको टीका, धागो आएको छ हजुर किन्नुहोस् भन्दै आए । हामी सबै साथीले टीका, धागो छान्न थाल्यौँ । उनले पहिलेकोभन्दा धेरै सरसामानहरू बेच्न ल्याएका थिए । हाम्रो विवाह कुरा चलेकै बेला उनले यसो भनेका थिए– ‘मेरो पनि एउटी छोरी छे, उनको विवाह गर्नु छ, हाम्रोमा छोरीको विवाह गर्नलाई धेरै पैसा चाहिन्छ ।’

धागो लिँदै हामीले उनलाई सोध्यौँ– ‘भैया, तपाईँको छोरीको विवाह भयो त ।’ जवाफमा उनले भने, ‘छोरीको विवाह त भयो, तर सम्धीले मागेजति दहेज दुई वर्षमा चुक्ता गरिदिन्छु भनेर बाचा गरेकाले पहिलेभन्दा अहिले व्यापार अलिक बढाएको छु ।’

त्यसको पाँच वर्षपछिको तीजमा मात्र माइत जाने मौका जुर्यो । तीजका लागि टीका, धागो किन्न उनकै बाटो हेरिरहेका थियौँ । तर, यसपटक उनी आएनन् । उनको साटो एक किशोर आए । उनलाई भैयालाई चिनेका छौ भनेर सोध्यौँ । किशोरले भैयाकै कान्छो छोरा भएको बताए ।

हामीले कौतुहलतापूर्वक उनको सोधखोज गर्यौं । उनको जवाफ सुनेर तीन छक्क पर्यौँ । ‘उहाँ अब कहिल्यै आउनुहुन्न, अबदेखि सधैंमै आउँछु ।’ किशोरले थप्दै गए– ‘केटा पक्षको मागजति दहेज दिन नसक्दा दुई वर्षभित्र चुक्ता गर्ने सर्तमा कान्छी बहिनीको गरिदिएका थियौँ ।’

सर्तअनुसार भैयाले दुई वर्षमा दहेजको रकम चुक्ता गर्न सकेनन् । शर्तमा हारेकाले बहिनीमाथि दाइजोकै कारण कुटपिट एवं दुव्र्यवहार हुन थाल्यो । अचानक एक दिन बहिनीले आत्महत्या गरेको खबर आयो । परिवारका सबै बहिनीको घर गए । बहिनीको शव पोष्टमार्टम गर्न अस्पताल लगियो । हामी पनि अस्पताल पुग्यौं । शवको चेकजाँचपछि चिकित्सकहरूले हत्याको आशङ्का गरे । पोष्टमार्टम प्रतिवेदन अनुसार बहिनीको हत्या भएको सुन्नासाथ भैयालाई हर्ट–एट्याक भयो । दहेजकै कारण भैया र उनको छोरी दुवैको ज्यान गयो ।

किशोरका कुरा सुनेर हामी मर्माहत भयौं । प्रेमले भैया भनी बोलाउने दाजु अब कहिल्यै भेट हुने छैनन् ।

– ढमला भट्टराई
सह–सम्पादक, सगरमाथा आवाज साप्ताहिक
न्यू प्रज्ञा प्रिन्टिङ्ग प्रेस, राजविराज–३
रुची :– साहित्य लेखन, पत्रकारिता, ड्रेस डिजाइनिङ आदि ।
(लेखक नेपाल पत्रकार महासङ्घ सप्तरीबाट केन्द्रीय पार्षद हुन् ।)
स्थायी ठेगाना :– झापा, गौरादह नगरपालिका वार्ड नं.– ५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *