बन्यौ स्वार्थी, लोभी भन किन तिमी सन्ततिहरू ?
लुछ्यौ छाला, लाम्टा, रगत पनि चुस्छौ कति अरू ?
गला घोटी घोटी रिपु सरह हान्यौ मरणमा
दया भिक्षा माग्दै अब त म परेँ लौ शरणमा ।
म सग्लो प्राणी हूँ, वरिपरि घुमाऊ नजर त्यो
नदी नाडी सम्झे जल रगत नै सम्झ तनको ।
लता झाडी हुन् रौँ, हिमगिरि भयो माथ बुझ यो
बुझे ढुङ्गा हड्डी, सकल धरती यो तन भयो ।
यहाँ रम्ने सारा चर अचर हुन् आश्रितहरू
म हूँ साझा बस्ती, घर म सबको जान्दिन अरू ।
तिमी मान्छे मात्रै उडुस, उपियाँ झैँ किन बन्यौ ?
यहीँ जन्म्यौ, हुक्र्यौ अनि घर बिचै खाडल खन्यौ ।
बनेको भत्काई नव गृह तलासी किन गर्यौ ?
कुटी आमा मार्यौ, फगत कसमीको वश पर्यौ ।
छ उन्मादै उस्तै जग विजयको आज बहुतै
चहार्दैछौ नौला गगन परका आश्रय कतै ।
तिमी हिँड्छौ रोप्दै अझ कति यहाँ वृक्ष विषको ?
डढेलो यो कस्तो ! अमृत वन सिङ्गै खहरियो ।
कसो गर्लान् बाबै सकल जगका सन्तति बरा !
खरानी खाएरै कति दिन बाँच्लान् र बिचरा !
सहेँ ऐया, आत्था जति सहनु यो द्रव्य युगमा
स्वयम् आफू जल्दै सब चिज बचाएँ परतमा ।
म थाकेँ फत्रक्कै अब नगर ज्यादा कर अरू
झिकाई वैदाङ्गी टहल गर मेरो अब बरू ।
(छन्दः शिखरिणी)
नामः डा. दिवाकर रेग्मी
जन्मस्थानः ठोक्शिला–९, उदयपुर
हाल बसोबासः इटहरी–१६, सुनसरी
पेशाः प्राध्यापन
क्याम्पसः पिण्डेश्वर क्याम्पस, धरान
पदः उप–प्राध्यापक
अध्ययनः विद्यावारिधी, अंग्रेजी साहित्य
सप्तरीसँगको सम्बन्धः २०५४ देखि २०५७ सम्म महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस, राजविराजमा स्नातक तहमा अध्ययन गर्दा सप्तरीको जोलहरी मलेठ तथा खर्साल टोलमा बसोबास गरेको र सोही समयमा खुँजेली माइलाको नामबाट सगरमाथा साहित्य परिषदसँग आवद्ध भई साहित्य सिर्जनामा लागी विभिन्न समयमा पुरस्कृत तथा सम्मानित भएको ।
