आज धर्ती दुख्यो । माटो दुख्यो । बैरी हावाको कुत्सित मनसायले आफ्नो अधिकार ! अधिकार ! भनी भजाएर साम्प्रदायिकता हुल्याइरहेछन् । स्वाभिमान भनी मनको टुटुल्को उठ्ने गरी गिजोलिरहेछन् । सबैलाई एकजुट हुन दिन उनीहरु कहिल्यै चाहँदैनन् । चेतनाको प्रवाहलाई विजोग बनाउनु नै शासकहरुको रणनीति भइरहेको छ । कहिल्यै भाषिक अधिकार भनेर जनाताहरु विभाजित हुन्छन् अनि त उनीहरु दङ्ग हुन्छन् । त्यस्तै कहिल्यै प्रादेशिक अधिकार भन्दा पनि उनीहरु झन् दङ्ग हुन्छन् । अझ धार्मिक अधिकार भन्दा त उनीहरु झनझनैै दङ्ग हुन्छन् । विभिन्न राजनीतिक पार्टीहरु जति बढ्न थाल्छन् उनीहरुको रवाफ बढ्दै जान्छ र उनीहरु मैमत्त भएर ढुक्क हुन्छन् । यस्ता कुराहरुले उनीहरुको कुत्सित सोचाइ सफलिभूत भएकाले उनीहरु झनै प्रफुल्लित भइरहेका छन् । त्यसैले आजको आवश्यकता भनेको सारा जनता एकै ठाउँमा गोलबद्ध भएर सञ्चारित हुनु नै हो । यस्तोमा पनि उनीहरुले अलिकति प्रगती गर्दा पनि सर्वसाधारणलाई एकले अर्काको खुट्टा तान्न दिएर, उनीहरुको स्वार्थी मनोवृत्तिले पक्का जीत हासिल गर्यो भनी दङ्ग हुन्छन् । यी बैरीहरुका आफुमात्र मोज लुट्ने प्रवृत्तिका विरुद्ध सबै जुझारु भई लम्कनु आजको आवश्यकता हो ।

२०६१ फागुन ४

आज उसको सुत्ने मनसाय छैन । कौतुहलताका साथ उसको लक्षको प्रतिक्षामा छ ऊ । रातमा उसले यसरी डायरी लेखिसकेपछि मनमनै सोच्यो कि “सारा विश्व एक प्रदेश एक भाषा, एक गाउँ । यही नै हो आजको चूरो । एकजूट हुने नारा यसैमा हुन्छ । सबैमा आत्मियता अनि भाइचारा ।” त्यसपछि रातको १ बजे पार्टी प्रवेशको कार्यक्रममा उसलाई जानुनै पर्ने थियो । ऊ हिँड्यो सुनसान चकमन्न रातमा त्यतैतिर, उसलाई भनिएकै ठाउँमा, गाउँमा कसैलाई पनि नभनी, गाउँका कसैलाई सुइँको पनि नदिई सुटुक्क त्यतैतिर लम्कियो । ऊ त्यो कार्यक्रममा ज्यान हत्केलामा राखेर त्यहाँ पुग्दा जोशिला स्वरहरुले आम जनसमुदायमा उन्माद रन्किरहेको थियो । उनीहरुको शिरका टोपीका ताराहरु चम्किरहेका थिए । त्यस्तै गरी आकाशमा पनि ताराको जन्ती नै देखिन्थ्यो ।

प्रभात उदाउने स्वदेश भन्दैछौँ हामी ।
स्वाभिमानी भई देशको पहिचान दिँदैछौँ हामी ।।

आफु जन्मेको रक्तिम धर्तीलाई बाँझो नपारी,
एक मुठ्ठी सास रहेसम्म अथक परिश्रम गर्दैछौँ हामी ।

पुर्खौँ देखिको सङ्घर्षको श्रमको बोली बोली,
त्यही भाषामा स्नेहित भई रमाइरहेछौँ हामी ।

को उँच को नीच सबै नागरिक एकै बनी,
सदासदा समानताको नारा लगाउँदैछौँ हामी ।

सामन्ती शासनको मूल जरो नै राजतन्त्रे भनी,
जनगणतन्त्र नेपाल ! धेरै प्यारो नेपाल सदा भन्दैछौँ हामी ।

त्यसपछि शहीद नायिका योद्धाका विदुर पतिहरुले एकदम साहसका साथ अग्र पङ्क्तिमा आई, सबैले रातो झण्डा फहराए । उपस्थित सबैले गडगडाहटका साथ ताली पड्काएर उल्लासपुर्ण रुपले कर्तल ध्वनीका साथ समर्थन जनाए । फेरि सबैले एकै स्वरमा गाउन थाले आफ्नी प्राण प्यारीलाई सम्झी ।

हे सखी ! हे सखी ! तिमीनै मेरो विश्वास,
मेरी प्राण ! मेरी मुटु ! तिमी मित्र सबै तिमी,
छैन मेरो सामन्ती सोच,
छैन मेरो सामन्ती संस्कार,
छ ममा समभाव !
छ ममा हाम्रो भाव,

फेरि अझ ठुलो स्वरमा उनीहरुले स्वर बढाए । स्वरमा स्वर मिलाए ।

सुनिदेऊ मेरो भाव,
ल्याइदेऊ साम्यवाद,
ल्याउनुपर्छ साम्यवाद,
सवको सुख साम्यवाद,
एक ढल्यौ त पराजित गर्न हजारौँ उठेका छौँ,
लाखौँ जुटेका छौँ,
करोडौँको ढुकढुकी बनेका र्छौँ,
विश्वलाई एक गर्न रौसिएका छौँ ।

त्यसपछि फेरि सबैजना सतर्क ! सतर्क ! भन्दै मार्चपासमा उत्रिए । सियो झर्दा पनि आवाज नआएसरि बसी शहीदहरुप्रति मौनधारण गर्न थाले । मौनधारण सक्नेवित्तिक्कै फेरि माइकमा जोशिलो, योद्धिलो आवाज आउन थाल्यो ।

…..विद्रोहको झण्डा गाडिसकेपछि आवाज, रोकिएर अनि दबाएर रोकिन्न । सामन्तका पिँजडामा थुनिएकाहरु सास फेरी हेर झन्झन् भै जुझारु ! तिम्रो एक झिल्कोले थोरै अन्धकार मेट्नेछ । त्यसैको उर्जाले सबैतिर झिल्को बल्नेछ । क्रान्तिको ज्वाला दन्किनेछ । शहीदको मुहारमा लालीमा मुस्कान आउनेछ । देशले, अन्तराष्ट्रियले नयाँ उज्यालो पाउनेछ । फेरि नयाँ शुद्धिलो युग, फेरि नयाँ शुद्धिलो विहानी, सदासदाका लागि आउनेछ । सदासदाका लागि धर्ती रम्नेछन् । सुरम्य हुनेछन् ।……….

विहानी प्रभात हुन तब धेरै समय बाँकी थिएन । फेरि एक जत्था युवाहरु (जसमा ऊ सामेल थियो) पार्टी प्रवेश गर्नका लागि अध्यक्ष कमरेडका हातबाट रातो टीका लगाउन शुरु गर्न थाले । टीका लगाउने वित्तिक्कै उनीहरु गर्वले राँकिरहेका थिए र उनीहरुका तर्फबाट एकजना प्रतिनिधीले बोल्ने पालो आएको थियो । त्यहाँ उसैले बोल्ने सहमत भयो । ऊ माइकमा गयो र बोल्न थाल्यो,

…..सबै जनालाई लाल अभिवादन !!
मेरा कोही शत्रु छैनन् म त अजात शत्रु भन्थेँ । तर सामन्त मेरा शत्रु रहेछन् बल्ल थाहा पाएँ । सङ्ग्लो पानी धमिल्याउने धुपौरे, छुपौरे यिनै हुन् । कसैको हाडछाला घोटेर पनि आधा पेट खान पुग्दैन । तर उनीहरुको भने हिँड्न नहुने गरी भुँडी बढेको छ । कसैको ओत लाग्ने घर हुँदैन । उनीहरुको महल र दरबार छ । हामी सबैको यस्तै हालत छ । निमिट्यान्न पार्नुपर्छ यी सामन्तीहरुलाई । हामी सब मिलेर अनि समानताको युगमा नयाँ, ताजा, स्वच्छ वैरभाव नभएको एकै परिवारको सफल समाज निर्माण गर्नु छ । यही हो हाम्रोे अठोट ! कसैको छैन यसमा दुईमत । यही वैरी बिनाको समाज उद्धार गर्ने हाम्रो प्रतिवद्ध हो । विशुद्ध सङ्कल्प हो ।…….

यत्ति भनीसकेपछि सबैजनाले मुठ्ठी कसेर अभिवादन गरे । फेरि अन्तिम वक्ताका रुपमा अध्यक्ष कमरेड आए ।

…….अहिले रातो सुर्य उदाउनै लागेको छ । हामी अबको यो भाषण सक्नेवित्तिक्कै आफ्नो उद्देश्यका लागि ज्यान हत्केलामा राखी तितरवितर भई एकदम सजगताका साथ देश र जनताका कर्तव्यका लागि आआफ्नो ठाउँमा डट्नेछौँ । हामीहरु एकदमै दुःख पाएका जनताहरुका लागि ज्यानको बाजी थापेर लागिपर्नेछौँ । यस्तो जीवन दिनेलाई सबैले सुन्दर देख्दछन् । हावाको लहरले सास दिएर जीवन प्रदान गर्दछ । वाफ वादल भएर वर्षा दिन्छ । पानीले तीर्खा मेटाउँछ , प्यास हटाउँछ , झरनाको कलरव गुञ्जन गराउँछ । प्रकृतिलाई हराभरा तुल्याउँछ । वसन्तबहार सदासदा ल्याउँछ । हामीले पनि यो शिशिररुपी समाजलाई वसन्त दिनु छ । जस्तो उज्यालोले अदृष्य सबै हटाएर दृष्य दिन्छ । प्रकृतिले रङ्गीन छटालाई उजागर गराउँछ । नयनको महत्त्वलाई बढाउँछ । हामीले त्यस्तै सत्यले जनताका अधिकार देखाइदिनुपर्छ र उनीहरुको कर्तव्य अनि अधिकारतर्फ समाधान न्यायिक किसिमले दिलाइदिनुपर्छ । त्यस्तै चराको चिरचिरविरविर आवाजले विहानीको सुवासको आभाष दिलाउँछ । सातसुरको सङ्गीतको मीठासले जनताको श्रवणको मीठास उजागर गराउँछ । कर्णको महत्त्वलाई यसरी बढाउँछ । यही चरा हौँ हामी, सुगा मैनासरि पिँजडामा जकडिएकाहरुको उद्धार गर्न एकदम सासहसका साथ, एकदम धैर्यताका साथ, एकदम सहनशील भई, एकदम कर्मठ भई हरतरहले लागिपर्नु पर्छ । पहाडले मधुर उपत्यका दिन्छ । धरतीले वास दिन्छ , बादलले आकार दिन्छ । गगनले शुन्यमा अनन्त छानो दिन्छ । हिमालले सदा सित्तलता टलक दिन्छ , आधार दिन्छ । हामी पनि यसरी नै जनताका लागि, देशका लागि जुटौँ, उठौँ, डटौँ, बढाैँ ।

लालसलाम !! ……..

रातो किरण आउन आउन आँटेको प्रसव पीडा झैँ देखिन्थ्यो । सबैजना जोस्सिएर गन्तव्यतिर लम्कन जुमुराउँदासम्म रातो प्रभातको लालीमा सबै प्यासीतिर सिञ्चित भइसकेको थियो । सबैजना एकैसाथ रातो किरणसरि उज्यालोका साथ तितरवितर भए ।

२०७७ कात्तिक २९ शनिवार
प्रतिक्रियाका लागि [email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *