Skip to content

पद्यान्तरको भूमिका

20201214_HomSuvedi-Book


सामग्री गद्यका केही पद्यबद्ध गरूँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
सोही लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।

मेरै लहडिलो सोच मेरै बुद्धि विवेकको
यो त्यही सोचको यौटा आलोकाँचो निचोड हो ।
मूलको जे थियो मर्म यहाँ भिन्न कुरा परे
यसैले यसका मर्म माथि केही चिरा परे ।

मैले यो जे गरें गर्नु पर्ने काम थिएन कि ?
केही सौन्दर्य थप्ला कि भन्थें, कामै दिएन कि ?
काव्यको घरमा यौटा इटा यो थपियो भने
मलाई धन्य मान्नेछु यस्ले काम दियो भने ।

मेरै लहड हो मेरै इच्छा हो यो यसै गरें
यसमा जे गरें मैले म आफ्नै भरमा परें ।
आँटैले मात्र यो काम के हुन्थ्यो सजिलो बसी
यसैमा भासिनु पर्ने अहोरात्र घुँडा धसी ।

कसै गर्दा घुँडा धस्न सकिएन म ठान्दछु
जे भयो त्यो जुठो हाल्नु जस्तो मात्रै म जान्दछु ।
बरु मौलिक लेखिन्छ आँटेर सजिलैसँग
ढाँटेर लेख्न पाइन्न यसलाई कसैसँग ।

हम्मे हम्मे पर्यो धेरै पद्यबद्ध गराउन
मूलको भावनाभित्र थाल्थें आफू हराउन ।
मैलाई त्रास यो हुन्छ औंलो उठ्दछ मैतिर
मूलको जे थियो भाव हरायो कि सबैतिर ।

जे भयो जे भयो भैगो जे हुन्थ्यो त्यो भएनछ
राम्रो पार्ने थियो सोच सजिलै यो रहेनछ ।
दाउ पक्का थियो पार्ने कच्चै माल भएछ कि
भित्रको गुदी छाडेर बोक्रै पो उक्किएछ कि ?

माफ माग्छु दुबै हात जोडेर तिनका सँग
जसका कृतिमा मेरा हात नाचे मजासँग ।
गर्व गर्नेछु यो काम राम्रै हो भन्नु भो भने
तान्नुहोस् कन्सिरी मेरा नगर्ने काम हो भने ।

छन्दका बारेमा:
अनुष्टुप् छन्दका नाना भेद छन् उपभेद छन्
टुप्पा छन् त्यसका केही त्यसका केही फेद छन् ।

अन्य छन्दहरूभित्र हुन्छ लेख्ने मिठो क्रम
यसमा सूत्रको धागो नहुँदा हुन्छ विभ्रम ।

यसैले यसमा केही तलमाथि छ निश्चय
जसले यो बुझेका छन् उनको होस् सधैं जय ।।

लेखनबारे केही :

हलन्त नाम वा सर्वनामको गर्नु हुन्न यो
दृढता यसमा मेरो रहन्छ प्रण नै छ यो ।
बाध्यतामा परें केही थोरै शब्द हलन्तिए
बाँकी शब्द नपाएर हलन्तै शब्द भित्रिए ।

चाहन्थें निख्खरा शब्द कोरा शब्द यहाँ छरें
राम्रा शब्द नपाएर सारै मुस्किलमा परें ।
निख्खरा शब्दको खोजी गर्दागर्दै ढिलो भएँ
भाव बोक्ने मिठा शब्द खोज्दैमा थङ्थिलो भएँ ।

शब्द न्यून भएकैले कुनै शब्द मुठारिए
रुखबाट नपाकेकै आँपका फल झारिए ।
तेलको बदला पानी हालेर दीप बल्छ र ?
सुकेको वृक्षमा आँप भन्दैमा मात्र फल्छ र ?

मैले यो काममा त्यस्तै व्यर्थको धृष्टता गरें
पानीसम्म नछोएर पारिपट्टि यसै तरें ।
जे सकें जे गरें मैले म आफ्नै भरमा परें
बालुवा माथि उम्रेला भनेर कनिका छरें ।

यहाँ प्रस्तुत गर्नेछु पाकेको स्वादिलो फल
भन्ने मेरो थियो सोच फल्न गो अमिलो फल ।
रसिला फलका दाना अर्पने दाउमा थिएँ
कहाँ पाक्नु यसै मैले काँचा काफल अर्पिएँ ।।

धन्यवाद तथा आभार:

भूमिकाका लागि: कविवर श्री रमेश खकुरेलमा

हे स्रष्टा जो यहाँबाट शब्दाशीर्वाद निर्मल
प्राप्त भो यो यहाँकै हो शुभाशीर्वादको फल ।।
धन्यवाद दिएँ मैले सश्रद्धा सयमा सय
आशीर्वचनका लागि खकुरेल महाशय ।।

श्री पुरुषोत्तम अधिकारी: प्रकाशनतर्फ आर्थिक व्ययभार बेहोदिएकोमा

मेरा अत्यन्त नै प्यारा छात्र हुन् पुरुषोत्तम
प्रशंसा गर्न छन् योग्य मलाई छैन क्यै भ्रम ।।
हे शिष्य जय होस् तिम्रो गुरुभेटी यहाँ रह्यो
सहयोग गरेकोमा आभारी गुरु यो भयो ।।

होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *