विशालै बनेली निराला अतुल्य
बसाहा चिनारी छ ताहूँ अमूल्य ।
अतीवै पियारो थियो पाठशाला
शुभेच्छा पठाएँ यही हालसाल ।।
निशाको सुनौलो जुनेली झरेझैं
शितैका छिटाले तरेली परेझैं ।
धपक्कै बलेको उज्यालो मुहार
थपक्कै बसेको छ ताहूँ बजार ।।
निकै पो विलाशी बनेरै बसेथ्यौं
निछट्टो भएरै अबीरै घसेथ्यौं ।
तिनै याद आयो हितैषी हरूको
मनै हुन्छ भारी अचाक्ली गरूको ।।
प्रतिष्ठा र मेला छ जन्माष्टमीको
भवानी पुजारी कमीमा सधैंको ।
कठै के गरी आज धूपै हुदो हो
सधैं झैं उचाले र डोको रुदो हो ।।
बनैको बिचै भाग रम्भा भवानी
यतै पो बितेछन् समस्तै जवानी ।
पहाडी बनैमा उडेका चकोर
थिए ती सुवासी किशोरी किशोर ।।
कहाँ पाउँला सानु स्वर्गै सदृश्य
यहीं नेरि भू स्वर्ग जस्तो छ दृश्य ।
बसाहा र ताहूँ कसोरी म बिर्सुं
धरित्री रहे सम्म कैले न बिर्सुं ।।
छन्द:- भुजंगप्रयात
