जन्मेको ठाउँ उघ्रेको बल्ल सुनौलो बिहान ।
छेपारो उखान पारेर हुन्न राष्ट्रको निर्माण
सगरमाथा हिमाली राष्ट्र मिलेर उठाऔँ ।
गाउँमा फर्की उन्नति गरी गाउँलाई बनाऔँ ।।
यस्ता सुन्दर गीति कविताहरू लेख्ने कवि वैकुण्ठप्रसाद लाकौल हुन् । नेपाली भाषा र नेवारी भाषामा साहित्यको सिर्जना गरेर उनले ठूलो योगदान दिएका छन् ।
उनको जम १९६३ साल बैशाखमा काठमाडौँमा भएको थियो । उनका बाबु दुर्गाप्रसाद लाकौल मीरसुब्बा पदका सरकारी जागिरे थिए । उनैले बैकुण्ठप्रसादलाई अक्षर चिनाएका थिए । उनी नौ वर्षका हुँदा उनका बाबुको निधन भयो । त्यसपछि आमाले नै उनलाई हुर्काएकी थिइन् ।
बैकुण्ठप्रसादले सुरुमा घरमै बसेर पढे । उनलाई वीर अस्पतालमा काम गर्ने एकजना बङ्गाली कम्पाउण्डरले अङ्ग्रेजी सिकाएका थिए । त्यसपछि उनी वि.सं. १९७४ मा दरबार हाइस्कुलमा चार कक्षामा भर्ना भए । नेपालबाट म्याटि्रक परीक्षा दिने व्यवस्था नभएको हुँदा उनी भारतको पटना गए र पटना विश्वविद्यालयबाट १९८२ सालमा म्याटि्रक परीक्षा उत्तीर्ण गरे । त्यसपछि काठमाडौँ आई उनले त्रिचन्द्र कलेजमा आई.एस्सी. अध्ययन गरे र फेरी पटनाबाटै आई.ए. पनि उत्तीर्ण गरे । कलकत्ताबाट शारीरिक शिक्षाको तालिम लिए र नेपाल फर्किए । त्यसपछि त्रिचन्द्र कलेजबाट उनले अर्थशास्त्र र संस्कृत विषयमा बी.ए. परीक्षा उत्तीर्ण गरे ।
देश विकासका लागि शिक्षा र भाषा-साहितयको विकास हुनुपर्छ भन्ने उनको सोच थियो । उनी पुस्तकालय खोल्नका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाहरूको समूहमा मिले । त्यसबेला देशमा राणाहरूको शासन थियो । त्यसैले पुस्तकालय खोल्न खोज्ने सबैलाई एक-एक सय रूपियाँ जरिवाना गराइयो । उनले पनि जरिवाना तिरे । यो घटना ‘लाइब्रेरी पर्व’ को नामले चिनिन्छ ।
बैकुण्ठप्रसादले १९९० सालदेखि विद्यालयमा पढाउन थाले । सुरूमा उनी भक्तपुर स्कुलमा पढाउँथे । उनलाई ‘मास्टरसाब’ भनिन्थ्यो । उनले पाटन स्कुलमा पढाए । उनी खाद्य परिषद्, त्रिभुवन स्मारक समिति र नेपालभाषा साहित्य सेमिनारका सचिब बनेका थिए । उनीले खाद्य विभागका डाइरेक्टरसमेत भएर काम गरे ।
बैकुण्ठप्रसाद उदारदाता थिए । भाषा-साहित्यको विकासका लागि उनी धेरै काम गर्न चाहन्थे । त्यसैले उनले ‘साहित्य सदन, नेपाल’ का लागि २०४० सालमा एक लाख रुपियाँ सहयोग गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागमा आˆनै खर्चमा ‘चैन लाकौल स्मृति भवन’ निर्माण गराइदिएका थिए । उनले ‘चैन लाकौल पुरस्कार’ र ‘लाकौल पुरस्कार’ गरी भाषा साहित्यका क्षेत्रमा दुईवटा पुरस्कारको स्थापना गरेका थिए । नेपालभाषा एकडेमीलाई ३ लाख रुपियाँ सहयोग गरेका उनी । नेपालभाषा एकेडेमीका प्रथम कुलपति भए ।
बैकुण्ठप्रसादले नेपाली र नेवारी भाषामा धेरै कृतिहरू लेखेका छन् ।
लाकौल वर्णमाला, साझा वर्णमाला, महात्मा गान्धी, लू सुन महान् क्रान्तिकारी लेखक नवदृष्टि, लाकौल पदको सवाई ः काजी छत्रसिंह भारो, सहिद बन्छौँ बाँच्न सिकेर, ऊँ ईशावास्योपनिषद, जीवनमा मोड, वीर बलभद्र, गाउँको माया गरी ११ वटा नेपाली भाषाका कृतिहरू प्रकाशित छन् । त्यसैगरी नेवारी भाषाका- थुलिंचा, कं-स्वाँ, बुद्धधर्म व नेपालभाषा, रस-अलङ्कार-छन्द, गांया ममता, नेपालय् स्थविरवाद गुकथं वःगु खः, नेपालय् हानं स्थविरवाद वयेकेत व नेपालभाषा हृवयकेत धर्माचार्य, नगु व मिला, जिगु मिखाय जे.एस.मल्ल, हृवंगः कलरिजजुया पुलांम्ह मल्लाहया बामखं- मे कृतिहरू पनि उनले लेखेका छन् ।
यी बाहेक नेपाली र नेपाल भाषामा उनका थुप्रै रचनाहरू प्रकाशित छन् ।
बैकुण्ठप्रसादले भाषा-साहित्यको विशिष्ट सेवा गरेबापत थुप्रै सम्मानहरू पाएका थिए । नेपालभाषा परिषद्ले २०५४ सालमा उनलाई ‘नेपालभाषा शिरोमणि’ उपाधि प्रदान गरेको थियो । उनले शुभराज्याभिषेक,पदक र त्रिशक्ति पट्ट पाएका थिए । शेषहीरा प्रतिष्ठान,काठमाडौँ महानगरपालिका, भाभा पुस्तक भण्डार, साहित्य-सदन नेपाल, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली शिक्षा परिषद्, सस्यः समाज, इन्द्र-जवाहर सहयोग गुठी, पूर्वकर्मचारी सेवा परिषद्, नेपालभाषा केन्द्रीय विभाग, सुनकोसी साहित्य प्रतिष्ठान, पाटन माध्यमिक विद्यालय, प्रगतिशील समाज नेपाल, नेपालभाषा प्रगतिशील च्वमि गुठी आदि सङ्घ-संस्थाहरूबाट उनलाई अभिनन्दन गरिएको थियो ।
बैकुण्ठप्रसादको निधन २०६३ साल माघ १९ गते १०१ वर्षको उमेरमा काठमाडौँको महाबौद्धस्थित आˆनै निवासमा भएको थियो । उनी नेपालका ठूला साहित्यकारका रूपमा प्रसिद्ध बनेका छन्
