Skip to content

पोष्टमार्टम रिपोर्ट


कोठा चिठिक्क मिलेको छ, खाट टेवल अनि सानो सुटकेस । कोठा मिलाउनलाई बढी मेहनत गरे जस्तो देखिन्छ ! टेवलमा सधैं झै किताव, छेउमा पानीको थर्मस अनि सिसाको गिलास । दुई जना पुलिस हातमा नेपाली कागज लिएर उसको कोठामा प्रवेश गर्दछन् । एक हुल जमात मानिस बाहिर कौतुहल्ताका साथ जिज्ञासु हुन्छन्, भनौ रमिते । म उसको अत्यन्त नजिकको साथी ठान्थे, हर कुरा मसँग साटछ भन्थे, तर आज यस्तो क्षण हुदा पनि म अज्ञानी भए । यसमा मेरो के दोष ? अहँ ! उसको पनि छैन । मखमलको ब्लाङकेट त्यसमाथि सिरक, सिरमा उनीको टोपी, डसना माथि बुटटे तन्ना, अनि सिरानीका साथ ऊ मस्त छ । छेउमा दुई ओटा मोबाईल तर अच्चम कुनै दिन अफ नहुने आज दुई ओटै बन्द छन् ।

म उसको चेहरा हेर्छु हसिलो देख्छु सधैं झै मुस्कुराइरहेको । पुलिस यत्र तत्र हेर्दै केही शब्द कोर्छ, म त्यो शब्द कदापि स्वीकार्न सक्दिन मृतक । म कसरी स्वीकारौ, कसरी विश्वास गरौ पुलिसले लेखेको त्यो वाक्य । ऊ उठने बेला नै भएको छैन, ऊ अँझै सुतिरहेको छ । उठ्यो भने मलाई फोन गर्छ चिया पिउन अपिल गर्छ । अहँ ऊ मृतक होइन । कदापि हुन सक्दैन ।

जीवन यात्राको क्रममा कैयन घुम्ती पार गर्नु पर्छ, कैयन जंघार तर्नु पर्छ । हजारौसँग चिनारी भयो होला, सयौसँग हात मिले होलान ! ती सबै कहाँ सम्झिन सकिन्छ र ? कति सम्बन्ध पानीका फोका झै बिलाउने हुन्छन् त कति सिमलका भुवा झै उड्ने । ऊ साह्रै हसिलो मान्छे, जस्तो कठिन मोडमा जिउन सक्ने मान्छे, मेरो अनुमान आज सत्य सावित भएन । धेरै पुरानो चिनारी नि हैन उसँग तर थोरै समयमा धेरै नजिक ! थाहा छैन् मलाई, जब कोठाका चार पर्खाल भित्र प्रवेश गर्थ्यो ऊ, झयाल ढोकामा चुकुल लाग्थ्यो, उसको मनमा कुन सुनामी कुन हुरीबतासले बज्रपात गर्थ्यो, हैन भने बाहिर संसारमा ऊ जतिको रसिक सायदै अरु कोही होला मेरो लागि । आफ्नो कर्तव्य पुरा गर्दै पुलिसले एक पेज नेपाली कागज कालो डटपेनले भर्यो । तर खै ! के लख्यो थाहा छैन मलाई, फेरि मतलब नि छैन् र सहमत पनि ।

कुनै कुनै बेला ऊ मसँग हुदा भावुक हुन्थ्यो, उसले कसैलाई माया गर्थ्यो, यहाँ आए पछि, त्यो म जानकार थिएँ । माया एकोहोरो नि थिएन र फेरि कहिले नकरात्मक पनि । सबै कुरा त उसले मलाई भनेन छ, त्यो आज साबित भयो । तर एउटा कुरा, ऊ हमेसा गर्थ्यो, आफूले माया गर्ने मान्छेको नि खुसी देख्न सक्नु पर्छ रे नि त ! ? यदि त्यसो हो भने किन यो सांसारिक माया मोहमा अल्झिन दुनियाँबाट धेरै टाढा जानु पर्छ । आजसम्म उसँगको संगतमा सबैभन्दा निरास भएर बोलेको शब्द थिए ती । आज मलाई उसको ती शब्दले मर्माहित पारेको छ । प्रेम माया प्रति घृणा जागेर आएको छ । त्याग नै प्रेम हो ? जवाफ कोसँग खोजौ । उनको सुखीको लागि उसले दुनियाँ छाड्यो । उनी कति खुसी छिन् उनी कुन ठाउँमा कोसँग खुसी साट्दै छिन् । विचरा मेरो साथी …

आफनो कोठा आफनो भएन उसको लागि ! रमिते खास खस गर्दै गर्दा उसलाई गाडीमा राखियो । हामीले चिया पिउने पसल अगाडिबाट ऊ गएको कसलाई के थाहा ? म आफूलाई समाल्न सकिन, स्ट्रेचरबाट उसलाई पोष्टमार्टम कक्षमा घिसार्दै लगिदा संसार अन्धकार लाग्यो निष्पट्ट औँसीको रात झै, आँधी तुफान आए झै भयो, जताततै कोलाहल चित्कार मात्रै मेरो कानमा गुञ्जियो । एक घण्टा भै सक्यो कोही निस्किदैनन् । कसरी ब्लेड लगाउन सकेको होला मेरो साथीको शरीर माथि ?! पुलिसले जे लेख्यो त्यो मैले स्वीकारेको छैन । अँझ डाक्टरले जे देख्यो त्यसमा नि सहमत हुन छैन । मेरो साथी, हिजो झै चिया पसल जान मन छ, सँगै चिया पिउँनु छ अनि धेरै जीवनका कुरा पनि ।

हातबाट सेतो ग्लोब निकल्दै हामीतिर आए डाक्टर । पहिलो पटक डाक्टरको चेहेरा मलिन देखेँ, कठोर हुन्छन् भन्थेसँगै आँखामा आँशु । पोष्टमाटम रिपोर्टमा आफनो हस्ताक्षर गर्र्दै भने ‘उ मेरेको छैन’ ! मैले आफूलाई छामेँ, म जिउँदो छु कि मरेको, सास रोकिएझै भयो, हातखुट्टा गले, शरीर काम्यो र त्यही ढले ।

बाफ्रे कस्तो सपना देखे छु ? कहिले सत्य नहोस यो सपना । छेउमा मेरो त्यही प्यारो साथीको फोन आइरहेको रहेछ, सायद ऊ आज चाडै चिया पसल पुगेछ क्यारे !

लोकमणि गिरी ‘सार्थक’
तुलसीपुर, दाङ
हाल यस्बिया, डेनमार्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *