मेरो बाबा,
जो बिहान सबेरैदेखि
बेलुका अबेरसम्म
सञ्चो बिसञ्चो केही नभनीकन,
परिवारको इच्छा र आकांक्षा पूरा गर्न
अहोरात्र सघंर्ष गर्नुहुन्छ ।
उहालाई संघर्ष गर्नबाट,
न त हावाले छेक्छ,न त पानीले
न त प्रचण्ड गर्मीले नै छेक्छ,न त कठ्याङ्ग्रिदो जाडोले ।
संघर्ष गर्दा कहिल्यै थाक्नुहुन्न मेरो बाबा
पीडा र सघंर्षका बीच पनि
अधुरा राख्नुहुन्न मेरो इच्छा र आकाङ्क्षा ।
व्यस्त समयको बाबजुद पनि
हाम्रो खुसीमा रमाउनुहुन्छ,
हाम्रो गल्तीमा सम्झाउनुहुन्छ,
अनि हामीलाई सुमार्गतर्फ डोहोर्याउनुहुन्छ ।
त्यसैले त हरेक मान्छेभन्दा विशेष हुनुहुन्छ,
मेरो बाबा ।
