
आउ साथी याहा के छैन सब थोक छ
रोग छ शोक छ अनि बियोग छ
पैसा छ ऎस छ अनि सकिएको बैँस छ
सुन्दरिको ताती छ सेकिएको छाती छ
अध्यारो नहुने रात छ दुई तलाको खाट छ
ओहो साथी यहाँ के छैन सब थोक छ
उचाली नसक्ने सेफ्टी जुत्ताहरुको थपना छ
तातो घाममा सेकिएको चिसो सपना छ
लडि हिड्ने सराबिलाई सोमरसको मात छ
कन्याउदै सुत्नु पर्ने उडुस कुद्ने खाट छ
बिहान बेलुका डिउटी छुट्ला मनमा ठुलो त्रास छ
ओहो साथी यहाँ के छैन सबै थोक छ
गाउमा खाने छाली जस्तो यहाँ शाहुको गाली छ
मैना मर्छ भोलि पल्टै यीनै खोजी खाली छ
दिनै पर्ने तर्पण अनि जवानिको अर्पण छ
आफ्नै कथा नदेखिने जिन्दगानी दर्पण छ
देख्ने हरु भन्लान आहा कस्तो राम्रो रिवन छ
ओइलाएको यौवन अनि कात्रो भित्र जीवन छ
म के भनौ साथी यहाँ के छैन सब थोक छ
नपुगेको निन्द्रा नपुगेको सपना पूरा नभएको चाहना छ
तेइ सपना पूरा गर्ने पसिनाको बिपना छ
निल्न नसकिने किक्लिक्क पार्ने खब्बुस को गाँस छ
छोरोले त केही गर्ला कि भन्ने आस छ
उठ्दैनन कोहि साथी सुते पछि
ल्या भोलि मेरो के होला नि भन्ने छुट्टै त्रास छ
न आइज भन्यो नभन साथी
यहाँ के छैन सब थोक छ
पानी माथी पनि घर छ घर हेर्दा टोपी झर्ने डर छ
आफ्नाले आफ्ना नचिन्ने एउटा छुट्टै सन्सार छ
उसकी बुडि (बुडो) पोइला गइ उसकै छोरो गाजामा
काममा गाको साथी किन, रुदै आउछ साझमा ?
सुन्यौ ,देश बिग्रेको समचार छ घर बिग्रेको समाचार छ
अब म के भनौ साथी यहाँ के छैन सब थोक छ
तिमिलाइ त आइफोन सस्तो लाग्छ है त्यहा
तर साथि आइफोन भन्दा स्याम्सुङको फोन महङगो छ
टिप्ने गाँस भन्दा स्वास्नी र छोराछोरीको रहर महङ्गो छ
यहाँ घडी भन्दा समय महङ्गो छ
साच्चै भनौ साथी त्यो आफैले बनाको राहदानि महङ्गो छ
अरे यार साथी यहाँ के छैन सब थोक छ
केएफ सि छ नान्डोज छ बर्गर किङ छ सव वे छ
तेइ पनि हातमा स्टिलको टिफिन छ
पच्पन्न डिग्रीको घाममा पनि टल्किने मधुर मुस्कान छ
तिमी समुन्द्रको फोटो देख्दा मोज छ भन्छौ होला
नुनिलो पानीमा तैरिएका पिडा अनि डुबेका अथाह बेदना छ
सुन न यार
यहाँ सन्सारको सबैभन्दा ठूलो खलिफा टावर छ
कल पधेरो जानू पर्दैन टाढा
कोठा भित्रै नुहाउने सावर छ
अरे साथी मोज छ
यहाँ के छैन सब थोक छ
हेर्नै नसकिने कसैको काटिएको हात खुट्टा छ
आँप जस्तै झुण्डिएका लासहरुको बुट्टा छ
सग्लो पठाएको छोराको अपांगको बजार छ
मृत्यु पर्खिने हरुको एउटा छुट्टै जमात छ
एक पल्ट नेपाल हेर्छु भन्ने हरुको रहर छ
आफन्तलाइ एक पल्ट भेटाइदेओ भन्नेको शहर छ
म न आउ भन्दिन साथी यहाँ के छैन सब थोक छ
त्यहा र यहामा एउटै फरक छ साथी
यहाँ न जात छ न धर्म छ
न कोहि बाहुन छ न कोहि अछुत छ
यहा टिस्टा छ यहाँ काली छ
एउटै कोठामा हिमाल पहाड र तराइ छ
यहाँ सिङ्गो एउटा मात्र रास्ट्र छ
चन्द्र सुर्य एउटै मात्र झण्डा छ
त्यसैले चिन्ता नलेउ साथी मेरो
यहाँ के छैन सब थोक छ ।
मोरङ्ग पथरी शनिश्चरे नगरपालिका ५
हाल दुबई
