कानून लागू हुने देश


त्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो। हावा झै उड्ने मेरो मन कसरी थिग्रियो होला यत्तिका दस वर्ष? आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास?

साना थिए। कलिला थिए। भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईवर्षे छोरी ज्योतिका कोमल अंगजस्तै। आज बयस्क भएछन्। मेरी ढुकढुकी ज्योति कत्री भैहोली? बयस्क भैसकी होली इपिलजस्तै बढेर ऊ या मेरो अभावमा पानी नपाएर सुकेका यी बकाइनाका विरुवाजस्तै भैहोली। उँभो बढ्न पनि त सहारा चाहिँदो रहेछ नि। नत्र एकै ठाउँका/एउटै उमेरका यी इपिल र बकाइनाका बोटमा किन यत्रो अन्तर?

दुवै रुखहरुलाई म पालैपालो मुसार्न पुग्छु। अँझ धेर करुणाले मुसार्छु-बकाइनाका पातहरुलाई। अंगालो हाल्छु विरुवालाई। मलाई मेरी ज्योतिको जिन्दगी पात पातमा टाँसिएझै लाग्छ। “बाबा। मलाई एक्लै छोडेर अँझै कति दिन लुक्न सक्नुहुन्छ? के माया लाग्दैन छोरीको? ” छोरीको स्मृति गंगामा डुब्छ मन। छत्ल्याङ छुत्लुङग पोखिन्छ-जीवनको मेलो। तैपनि जवाफ फर्काउँछु-” छोरी। तिमीहरू नै त हौ नि मेरो सबैथोक। तिमीलाई भुलेर के म बाँच्न सकूँला?

आज दस वर्ष पछि मैले देखेको दुनियाँ यत्ति हो। जम्मा पच्चीस मिनेट यत्तिकैमा बितेछ। हत्तपत्त फेरि उही दुनियाँमा फर्काइयो मलाई। तर मन कहाँ मान्छ र फर्किन? उसैगरी छिर्यौं हामी सात जना-उहीँ रूममा,जहाँ जीवनका दस वर्ष बिते-बेरहर।

भित्र छिर्ने बित्तिकै केही साथीहरू पर्समा पोते भर्न लागे। केही साथीहरू नाइलनको मूढा बुन्न लागे। पेसाले म सामान्य कुक्। अँझ भनु म “भुतपूर्व कुक्। आफ्नै हातले पकाएका ती परिकारहरू मलाई चस्स बिझाएर जान्छन्। अन्तिम पटक राधासँगै बसेर खाएको “एग चाउमिन” को सम्झनाले घाँटी क्याप्प बाँध्छ। म आँसु आँसु हुनबाहेक के गर्न सक्छु र – यति मीठो अतीतको एक फिलिङ्गो टिपेर?

जिन्दगीमा मैले तीनजनालाई सबैभन्दा धेर सम्झें- दस वर्षमा सायद दस बिलियनभन्दा बढी पटक। मेरी बुढी आमा। मेरी राधा। मेरी छोरी ज्योति। दस हजार पटक त
यही पुरानो पर्सबाट झिकेर तस्विरसँग एक्लै बोले हुँला। चुमे हुँला। तर कहिल्यै पाइन- यी तीनको एक झोक्का मायामा छोइन। सम्झिँदै रुँदै। रुँदै सम्झिँदै। दिनरात यसैगरी बिते,जो बित्नकै लागि भनेर आए।

यहाँ रहँदा भोगेको पिटाई लान्छना त के यातना मेरा लागि? सबैभन्दा बढी पीडा त सम्झनामा बाँच्दा पो हुँदो रहेछ। पर्सबाट पुरानो पेपर झिकें। शब्दहरू आफै बग्न थाले-

मेरी राधा,
मलाई माफ गरिदेऊ। मैले तिम्रो जिन्दगीलाई फूल टिपे झैं टिपेर ल्याएँ। तर, तिम्रा रहरहरुलाई कहिल्यै रङ्गयाउन सकिन। बदलामा, धुजा धुजा बनाएँ। मलाई फेरि पनि माफ गरिदेऊ राधा। म कुनै अपराधी हैन। यो देश त्यस्तो देश हो, जहाँ अरुले दुख सुख गरिखाको देख्न सक्नेहरू कमै हुन्छन्। मलाई फसाइएको हो। म निर्दोष छु।

त्यो रात म रेष्टुरेन्टबाट फर्किँदै थिएँ। मलाई बाटामा चार जना मुन्द्रे केटाहरुले एक्कासि बाटो छेके। भने-“गएर त्यो केटीलाई हातपात गर्छस् कि तँलाई सिध्याइदिउँ? ”
लामा ती खुकुरीका धार आज पनि भरिन्छन् नजरभरी।

यो बेला मैले तिमीहरुलाई धेरै मिस गरें। म बिनाको तिमीहरुको संसारको कल्पनाले म मरेतुल्य भएँ। लाग्यो मर्नुभन्दा बहुलाउनु निको। फेरि अर्डर गरे उनीहरुले। ज्यान बचाउनकै लागि भए पनि गएर मुख थुने उसको। झाँगलझुँगल पारें। ऊ चिच्याउन थाली। यत्तिकैमा पुलिस आयो र मलाई हत्कडी लगायो। तर उनीहरुले चेक गरेनन् ती हतियारधारीहरुको साथमा रहेका खुकुरीहरु। राधा। कानून आफै कत्ति अपराधी छ है? कानून् पनि सोझाका लागि मात्र हुँदो रहेछ। जेल पुगेपछि मोबाइल चलाउन दिएन। मैले कसरी खबर गरुँ तिमीहरुलाई? यो बीचमा म दस लाख पटक मरेर बाँचें हुँला। सायद तिमीहरू पनि।

जेलभित्रको जिन्दगी त पशुको जस्तै हुँदो रहेछ। आज पनि गोठाला आए। हामीलाई फुकाइदिए। एकछिन गेट बाहिरको दुनिया चर्न दिए। चरेपछि लगत्तै उहीँ खोरमा हाले। आज दस वर्ष पछि पाएको पहिलो मौका थियो यो। त्यो पनि माथि सुबेदार काकाको सोर्सले। उनका आफन्तहरू आएका थिए उनीहरुको मान्छे भेट्न। मैले सबै बताएँ। त्यै भएर यति मौका दिएर गए। यहाँ मसँगै आएका,ज्यान मारेका धेरै अपराधीहरू दस दिन पछि नै छुटे। कोही यहीँ छन्। तर उनीहरुलाई पुरै राणा परिवारको जस्तो सुबिधा छ जेलभित्रै पनि। कानूनले यसरी छान्दो रहेछ धनीहरुलाई। सायद यो कानून् तिनै ठुला टाउकाहरुको बाउको बिर्ता होला। हामी त “मोही” मात्र रहेछौं कानूनको।

ज्योति। मैले भुलेको छुइन। आज तिम्रो बाह्रौं जन्मदिन। म औँला भाँचेर बसेको छु। तिम्रा प्रत्येक जन्मदिनमा फरक फरक डिजाइनका दस ओटा पर्स बुनेको छु मैले-तिम्रो नाम लेखेर। दस वटै कविता लेखेको छु। दस पटक मृत्यु मरेको छु।

मेरी छोरी। मलाई माफ गर। मैले तिमीलाई बाबाको आभास दिलाउन सकिन। के गर्छ्यौ? हामी गरीब भएर जन्मियौं। गरीब हुनु स्व घोषित अपराधी हुनुजस्तै रहेछ। छोरी। मैले आशा गरेको छु। तिमी धेरै ज्ञानी भएकी हौली। तर म चाहन्छु- तिमी यी कानूनलाई मुठ्ठीमा लिएर हामीजस्ता निमुखाहरुलाई शोषण गर्नेहरुको मलामी बन्नुपर्छ। हुन त आज मैले तिमीलाई भेटें भने पनि चिन्दिन हुँला। जस्ले आफ्नी छोरीलाई चिन्दैन,उस्लाई यसो भन्ने अधिकार पनि छैन होला। तर छोरी। मैले तिमीबाट यत्ति आशा गरेको छु।

राधाले तिमीलाई यो पत्र सुनाउँदा तिमीले बाबाको वचन ” नाइँ” भन्ने छैनौ। यो पत्र हात पर्यो भने यदि, आओ ल मलाई भेट्न आमा छोरी?

उहीँ अभागी लोग्ने/ बाबा
कृष्ण
(नख्खु जेल)

हेर्न नपाए पनि सुनिन्छ यहाँबाट बाहिरको घर्माइलो आवाज। अँझ धेर सुनिन्छ- ठुला टाउकाहरुको मोजको साइरन- सवारी। जेल बाहिर पुलिसको गाडीको हर्न बज्दा पनि आफ्ना आफन्तहरुको डर पस्छ मनमा। यस्ता डरमा बितेका पलको पनि मलाई कुनै हिसाब छैन। निद्रा नपरे पनि ढल्किएँ। ढल्काइमै बिहान भयो।

सुवेदार काका फेरि आउनुभयो। हातमा पेपर दिँदै भन्नूभयो-” छोरीले तिम्रो पत्रको रिप्लाई गरेकी छे लेऊ कृष्ण। त्यसपछि उहाँ लागिहाल्नु भो आफ्नो बाटो।

पहिला लामो आभास लिएँ खुसीको। मेरी छोरी लेख्न सक्ने भैछ। योभन्दा ठुलो खुसी के होला र मेरो। आज राधाका सबै कुरा समेटेकी होली मेरी छोरीले।

हतपत्त खोलेर पढ्न थालें-
“बाबा, पत्र पाउँदा संसार जितेजस्तै भएकी छु म। बाबा। म “पुष्पा आन्टी” को संस्थामा छु। उहाँले म जस्ता धेरै अनाथहरुलाई आमाको आभास दिलाउनु भएको छ। मेरी आमा म तेस्रो वर्ष लाग्दा,बित्नुभएको रे। हजुरको पीरमा सुकेर सिङ्कीजस्ती हुनून्थ्यो रे।

बाबा, मलाई धित मरुञ्जेल लेख्ने मन थियो। सबै बताउने मन थियो। हातै सरेन। काँप्न थाल्यो। अहिले मेरो सातको फाइनल एक्जाम चलिरहेछ। एक हप्ता पछि पुष्पा आन्टीलाई लिएर भेट्न आउँछु ल।

लभ यु बाबा,
उही हजुरकी छोरी ज्योति”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *