पठन र पाठनमा आफूले जीवनका यो बेलासम्म बिताइयो । साना कक्षामा उहिल्यैदेखि भए पनि उच्च कक्षामा २०३८ सालदेखि अध्यापन थालियो र अहिले त रिटायर पनि भइसकियो । यो पक्ष अलग हो यसबारे कुरा रहून् ।
पढाउँदा कहिले पनि बेइमानी गरिएन बाटो पनि छोडिएन । साथीहरूमध्ये कति जना लामै यात्रामा वा भ्रमणमा दस पन्ध्र दिन जानुहुन्थ्यो र यता सर्लक्कै हाजिर गर्नुहुन्थ्यो आफूले त्यो उद्योग पनि गरिएन । यसबारे पनि नभनूँ धेर ।
त्रिभुवन विश्वविद्यालद्वारा नेपाली भाषा व्याकरणका प्राध्यापकहरूको लागि गरिएका अभिमुखीकरण गोष्ठीहरूमध्ये धुलिखेल, नेपालगन्ज, पाल्पा, धरान, विराटनगर, भद्रपुर आदिमा सहभागिता जनाइयो मात्र हैन सक्रिय सहभागिता रह्यो । यो सहभागिता भत्ता खानका लागि मात्र थिएन । यहाँबाट तय भएका भाषिकलेखन वा वर्णविन्यासका नियम कक्षाहरूमा पुगाएर विद्यार्थीहरूमा लागु गर्नुसम्म पनि थियो । भत्ताकै कुरा गर्नु हो भने दिनको ५० ६० रुपियाँको के अर्थ र । यसैले ती गोष्ठीहरूका विशेषज्ञहरू डा वल्लभमणि दाहाल, प्रा मोहनराज शर्मा, डा वासुदेव त्रिपाठी, प्रा ठाकुर पराजुली, प्रा गोपीकृष्ण शर्मा, प्रा शरदचन्द्र शर्मा, प्रा राजेन्द्र सुवेदी, डा कुमारबहादुर जोशी, प्रा दैवज्ञराज न्यौपाने आदिबाट जे बुझ्न पाइयो त्यो कुरा कक्षामा जस्ताको तस्तै लागु गरियो । विद्यार्थीलाई त्यही सिकाइयो त्यही सोधियो त्यही बुझाइयो ।
कक्षामा अहिलेसम्मका लेखनमा जे जे लेखिएको भए पनि अब उसोः
१ संस्कृतबाट नेपालीमा प्रचलित लगभग तिसदेखि चालिस प्रतिशत शब्दहरू छन् ती शब्दलाई जस्ताको तस्तै उहाँ संस्कृतमा जे जसरी लेखिन्छन् त्यही र त्यसरी नै लेख्ने, नचलाउने भन्ने निर्णय थियो । कक्षामा सोही प्रायोगिक रूपमा लागु गरियो । अनि उत्तर पुस्तिका परीक्षण गर्दा पनि सोही नियमलाई आधार बनाइयो र उत्तर पुस्तिका परीक्षण गरियो । विभक्तिहरू लागेका, प्रत्ययबाट बनेका, उपसर्गहरू लागेका, समास र सन्धि आदि भई बनेका र द्वित्वबाट भएका समस्त शब्द जोडेर लेख्ने कुरा थियो । सो लागु गरियो । यी कुरामा अहिले पनि म दृढ छु र यसै हुनुपर्छ भन्ने धारणा राख्छु । कान्तिपुर गोरखापत्र नागरिक अन्नपूर्णपोस्ट जस्ता देशका एक नम्बरका प्रतिष्ठित पत्रिकाहरूले र साहित्यिक नाना पत्रिकाहरूले यही लेखनलाई अहिले निर्वाध स्वीकार गरी अपनाएको हुँदा यो नै अहिलेको अधिक सम्मत लेखन हो भन्ने लागेको छ । पत्रपत्रिकाहरूमा सभा सेमिनार र कार्यपत्रहरूमा जहाँ जहाँ नेपाली भाषाको प्रयोग गरिन्छ त्रिवि र प्रज्ञाले तयार गरेको तत्कालीन लेख्य प्रणाली वा नियमलाई निःशङ्क लागु गरेको देखिएको छ अहिले पनि । यसैले सबै पत्रपत्रिकाहरू धन्यवादयोग्य छन् ।
२ लेखनमा विवादका कुराः
बेलाबेलामा लेखनमा विवादहरू जन्मेका छन् । यो हुनु पर्ने कुरै हो । अनेक प्रस्तावहरू पनि छन् त्यो पनि हुनै पर्ने कुरा हो । वाणी निरन्तर गतिशील र परिवर्तनशील हुने मानवीय श्रीसम्पत्ति हो । थाहा नपाउँदो तरिकाले बोलीमा परिवर्तन भइरहने हुन्छ । बोलीमा चाल नपाउने गरी परिवर्तन हुन्छ यो सत्य हो तर लेखनमा यसरी परिवर्तन गर्न सहज हुन्न । यसै कारण लेखनमा परिवर्तन गर्न खोज्दा नाना वादविवाद जन्मन्छन् । परम्परावादी धारणा परिवर्तनवादी धारणा यथास्थितिवादी धारणा तथा अति कठोरपन्थी धारहरू देखापरेर द्विविधा जन्मन्छन् । लेख्य चिन्हहरू वा प्रचलित लिपिचिन्हहरू पनि उच्चारण हुन छाडेर वा अर्को रूपमा उच्चारण हुन थालेर कालान्तरमा काम गर्न वा चल्न छाड्छन् भन्ने कुरा पनि हामीले बिर्सनु हुन्न । नेपाली भाषामै हेर्दा अब ल्ह ह्र म्ह जस्ता कुनै बेला अलग रूपमा कायम रहेका अलग वर्णहरू अहिले उच्चारण हुन छाडेका वा अर्कै रूपमा परिवर्तित भएका वा दिशा परिवर्तन गर्ने अवस्थामा देखिएका छन् । लेखन एक र कथन अर्कै हुने कुरा ता धेरै वर्णमा छँदैछ । अलग अलग विशेषता भएका श ष स हरू एकै ध्वनिमा बोलिन्छन् । यसैले नेपाली भाषामा श ष छैनन् भनिएको हो । भिन्न भएर पनि एकै उच्चारण हुने पनि छन् । ग्यँ र ज्ञ उही सुनिन्छन् । क्ष र छ्य पनि एकै सुनिन्छन् । यँ र ञ ता फरकै हुन्नन् । लेख्न ये लेखिए पनि ए नै बोलिन्छ । इ र ई को पनि उच्चारण फरक छैन । त्यस्तै उ र ऊ मा पनि उच्चारण गरेर कुन चाहिँ उ र कुन चाहिँ ऊ हो भनेर छुट्याउन सकिन्न । हेर्दा फरक देखिए पनि ब र व धेरैतिर एकै सुनिन्छन् । उदारणका रूपमा देवनागरी वर्णमाला यी दुई ठाउमा आएका व लाई हेरौँ । पहिलो ठाउमा छिटो बोल्दा हुने उअ भएको छ भने दोस्रो स्थानमा ब भएको छ । यसबाट यसको समस्याबोध हुन्छ । केही एकै अनुहार भएका वर्णहरूले पनि समस्या पारेका छन् । हेर्दा ध घ द्य एवं द्द ध्द्ध हरूका अनुहार मिल्दाजुल्दा छन् । यिनलाई जोड्दा मोड्दा पनि उही समस्या आउँछ । ध्य घ्य मा सधैं समस्या परिरहेको देखिन्छ । लेख्न ध्य लेख्ने तर बोल्दा घ्य वा द्य भएका र यही क्रम उल्टिएको प्रमाण यहाँ अनेक छन् ।
हो यी केही अप्ठेराहरू नेपाली भाषाको लेखनमा छन् तापनि रोमनको तुलनामा यो कुरा नगण्य हो । एक थोक लेखेर पुरै अर्को थोकको बोली र कतै उही एक किसिमको र कतै उही अर्कै किसिमको लेखन उच्चारण नेपालीमा अति नै कम छ । दस बिस अक्षर घोक्नासाथ यहाँ समस्या समाधान हुन्छ । रातदिन हिज्जे रट्ने जुन काम अङ्ग्रेजीमा छ त्यो यहाँ पर्दैन । त्यस मानेमा हामीले चलाएको लिपि धेरै वैज्ञानिक मान्न सकिन्छ ।
नेपाली भाषाको वर्णविन्यासमा समस्या हुने ठाउँहरू केके हुन् र कहाँ कहाँ पाठक वक्ता वा लेखकले गल्ती गर्छन् यसबारे अर्को अङ्कमा ।
