२ नेपाली भाषामा वर्णविन्यासका समस्याका स्थानहरूः
क. केही निकटस्थ सन्दर्भः
नेपाली भाषाको लेखनका सन्दर्भमा वा वर्णविन्यासमा समस्या हुने ठाउँहरूको बेलैमा पहिचान गरियो भने सतर्क हुन सकिन्छ र भाषाको शुद्ध रूपका लागि पनि मद्दत हुन सक्छ । यसैले यो भाषामा जे जसरी लेखे पनि हुने र लेखेपछि कुरा बुझियो भने भैगो नि भन्ने जस्ता हचुवाहरूका कुरामा क्रमशः उत्तर पुग्दै जान्छ । नाम नभनौँ एक नारीको अमुक नाम राखेर देशको राजनीतिबारे ठुलो ठुलो र गहिरो विश्लेषण गर्ने व्यक्तिले भाषामा पनि अलिकति ध्यान दिनु पर्ला कि भनेर मैले सल्लाह दिएकोमा कुरा बुझियो भने भैगो नि केको भाषा र सासाका कुरा गर्छौ बुढा मान्छे । चूप लाग्न सिक भन्ने जस्तो खरो उत्तर निजबाट आयो । गोठाला खेताला हली भनेर सबैलाई सम्बोधन गर्ने निजले निजको बोलीको यो परम्परामा त्यो अवस्थामा मलाई पनि गोठाला हली खेताला भन्नु पर्ने हो तापनि सो विशेषण भन्नु भएन । यस्तो उत्तर पाएपछि मैले के बुझें भने नेपालीमा जसरी लेखे पनि हुने र कुरा बुझे भइगो नि भन्नेहरूको पनि अस्तित्व रहेछ । उहाँ जस्तो अरिमठे जवाफ दिनेको कुरा बेगल हो । तर भाषा, कला, साहित्य, सङ्गीत आदि देशका गहना हुन् भन्नेले लेखन पनि देशको इज्जत थाम्ने कुरा हो भनेर बुझेको हुन्छ । त्यस्तो गैरउत्तरदायी हुन मिल्दैन । जथाभावी लेखिएला र अन्यथा अर्थ लाग्ला भनेर विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा भनेर सम्विधान वा कानुनतिर समयमै भाषामाथि सतर्क रहने कुरा गरिएको हुन्छ चाहे नेपालको सम्विधानमा होस् चाहे अरु मुलुकको । उहाँको जस्तो अरिमठे जवाफ दिने हो भने विषय वा प्रसङ्गले अर्को अर्थ लागेमा जस्तो पदांशको खाँचो नै पर्दैन । म त अझ के पनि भन्छु भने विषय प्रसङ्ग र गलत लेखनबाट अन्य अर्थ नलागेमा समेत थप्नु पर्ने कुरा अब म प्रस्ताव राख्छु । अहिले मेरो हातमा नेपाल विद्युत् प्राधिकरणको मेरा घरको माघ महिनाको बिल छ । यसमा नेपाल बिद्युत प्राधिकरण नेपालीमा र अङ्ग्रेजीमा Nepal Electricity Authority लेखिएको छ । सही लेखन विद्युत हो । यो विद्युत् शब्दलाई बिद्युत गर्न मिल्ने भए Electricity Authority लाईilektrisiti athoriti भन्दा पनि बुझियो त कुरा ता । किन त्यसो नलेखेको अङ्ग्रेजीतिर चाहिँ । अरिमठेलाई सोध्न मन लाग्छ । धेर गाली नगरौँ नत्र जीवन नै जसले गाली गरेर बिताएको छ अर्को खैमल खनिन सक्छ ।
हामीले भाषाको क्षेत्रमा त्यस्तो गैरजिम्मेवार हुनुहुन्न । कुरा बुझिहालिन्छ भने nalej लेखे भैगो नि किन knowledge लेखिरहनु । kampitisan लेखे भैगो नि किन competition लाई यसरी लेख्नु । यस्ता हजार उदाहरण यहाँ म खन्याउँदिनँ । कुरा यति हो जथाभावी लेखेमा वा जोड्नेलाई छुट्याएमा वा छुट्याउनेलाई जोडेमा एक वर्णका स्थानमा अनुहार हेर्दा एकै जस्तो लाग्ने अर्को वर्णलाई प्रयोग गरे अर्थमा तलमाथि हुन सक्छ अर्थ शून्य हुन सक्छ । बेगल अर्थ देखिन सक्छ । भनेको भन्दा अर्कै अर्थ पनि देखिन सक्छ । परम्परामाथि आघात पर्न सक्छ । लेखनमा अराजकता उत्पन्न हुन सक्छ । यसैले भाषाको लेखनमा पनि राष्ट्रले व्यवस्थित गरेको हुन्छ । अघिल्लै अङ्कमा मैले नेपाली भाषामा अङ्ग्रेजीमा जस्तो अति भद्रगोल खालको लेखन छैन भनिसकेको नै छु । छैन भन्दैमा यस भाषाको लेखन र कथनमा कतै समस्यै छैन भन्ने पनि हैन । जुन भाषामा पनि लेखन र कथनमा केही न केही तलमाथि हुने कुरा पनि बुझिरहनु पर्छ । यसो हुनुको कारण त मैले अघिल्लै अङ्कमा भनेकै छु ।
ख. वर्णहरूका कुराः
देवनागरी लिपिका वर्णहरू जुन ध्वनिका लागि बनेका हुन् लगभग अहिलेसम्म पनि त्यही कामकै र त्यही ध्वनिका लागि चलनमा छन् । यिनमध्ये धेरैमा जे लेखिन्छ त्यही बोलिन्छ । एक उदाहरण हेरौँ । कुनै वक्ताले दुई ओठ जोडेर नाक र मुखको सहायताले जुन ध्वनि बोल्छ त्यसरी बोलिने ध्वनिलाई लेख्य लिपिमा म यो वर्णले प्रतिनिधित्व गर्दछ । त्यस्तो ध्वनिलाई म वर्णमा प्रतिविम्बित गरिन्छ । अनि यसरी जसले उच्चारण गर्छ त्यसका लागि जसले पनि म यो वर्णमा लेख्छ भने स्रोताले पनि म नै म ध्वनि सुनिएको अवस्थामा क लेख्तैन । अङ्ग्रेजमा C लाई कतै च कतै क कतै स भनेझैँ यहाँ हुन्न । जे बोलिन्छ त्यही लेखिन्छ र त्यसलाई कसै अर्काले उच्चारण गर्दा उसले पनि त्यही बोल्छ । अनि यसलाई लेख्य चिन्हमा व्यवस्थित गरिएको हुन्छ । /म/ लाई त यहाँ उदाहरणकाे नमुना मात्र लिइएकाे हाे । यसै गरी /म/ बाहेक अन्य सबै ध्वनिहरूका विशेषताहरूलाई समेटेर नै देवनागरी वर्णहरू निर्माण भएका हुन् ।
अरू सबै कुराहरूलाई अहिले छाडेर म नेपाली वर्णहरूमा हुने लेखन र कथनका समस्यातिर अब लाग्छु ।
कुनै पनि अक्षर चिनेका व्यक्तिले तलका वर्णहरूलाई उसका जे विशेषता हुन् त्यही बोल्छ । स्वर वर्णहरूमाः
अ आ इ उ ओ औ अं अः
अ र आ मा कुनै समस्या छैन । अ लाई आ र आलाई अ कसैले पनि बोल्दैन । अङ्ग्रेजीको A जस्तो बहुध्वनि वा य ए अ आ जस्तो हुन्न । इ ई मा उच्चारण एकै भएको हुनाले भिन्न सुनिन्नन् । यस्तै उ ऊ मा पनि । ऋ वर्ण रि कै रूपमा उच्चारण हुने हुनाले रि भन्दा ऋ कुन रूपमा फरक छ, यो ऋ ? भनेर कसैले सोधेमा कुनै उत्तर हुन सक्तैन । यसैले यसमा ठुलो समस्या छ । यो स्वर वर्ण हो र तत्सम शब्दमा मात्र यो लेखिन्छ र व्यञ्जनमा भने यसको तल्लो भागको लेख्य चिन्ह मात्र उपयोग गरिन्छ जस्तै कृष्ण प्रकृति तृण आदि भनेर उत्तर दिनु बाहेक उपाय हुन्न । यसरी यसबारे यस्तो छ भनी पन्सिनु पर्ने स्थिति छ । ए ऐ मा ठुला ठुला मान्छेहरू पनि झुकिएका देखिन्छन् । दोलख नभएकोले ऐ लाई पनि ए का रूपमा बोलेको भरमार सुनिन्छ । खास गरी ऐनलाई एन भनेको जहिले पनि सुन्नु नै परेको छ । एक पटक सर्वोच्च अदालतलबाट रिटायर न्यायाधीशजी पनि एन भन्दै हुनुहुन्थ्यो । जीवन भर यो अक्षर नचिनी बुढा भएका मान्छे निकै छन् । तर एकलख नदिएको ए र एकलख दिएको ऐ हो अर्थात् ऐ चाहिँ अइ हो भनेर बुझ्नुपर्छ । ओ औ अं अः मा खास समस्या देखिन्न । पुराना स्वरहरूमा ऋ को दीर्घ र लृ र त्यसको पनि दीर्घ थिए । यी चलनमा उहिल्यैदेखि हटिसकेकाले अब छैनन्र । यिनको कुरा नगरे पनि हुन्छ । यसपछिका अर्का अङ्कमा हामी व्यञ्जनको कुरा गर्ने छौँ ।
क्रमशः
