१)
देशमा खुब हाजिरी जवाफ प्रतियोगिता चलेको छ
चेसमा प्युसा अगाडि बढाएर आफू पछि सरेको छ
संघ संस्था र नेता च्याउ उम्रे झै उमृएको छ देशमा
तपाई हैन मपाई पुरस्कृत आफैमा हात जोडेको छ ।
२)
राजनीति पनि नातागोता गुटको खेल बनाएको छ
त्यसैले त सबको अनुहारमा नैरस्यताले छाएको छ
मानव जगतमा मन ह्रदय र रगत एउटै भएता पनि
खै किन, राजनीतिमा जालझेलको भेल मौलाएको छ ।
३)
कहिले धनले कहिले मनले चिरा चिरै पार्यो नेताजी
कसैलाई यहीँ गनि नसक्ने हिरा हिरै पार्यो नेताजी
जिन्दगी मात्र हैन देशै बन्धक राख्ने परिपाटी बने,
नारा जुलुस मात्र हैन जनतालाई पिरै पार्यो नेताजी ।
४)
बुझ्न नसक्ने गरी अचम्मले हुदैछ यहाँ हानाहानमा
शहर देखि गाउँ बेशीसम्म छुदैछ यहाँ हानाहानमा
तैं राजा मैं राजा कसले गर्ने जनता र डुमाको काम
आफू त दुखेदुखे देश पनि दुख्दैछ यहाँ हानाहानमा ।
-डम्बर धिमाल
राजदोङ्ग्ये, मोरङ
दिनाङ्क: २०७७ माघ ९ शुक्रबार ।
