हङकङमा नियमित हुने साझा साहित्यको ९९ औं शृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास “रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुई-तीन जना साथीहरुको हस्तलिखित नामै सम्बोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएको रहेछ, तर वहाँहरू व्यस्तताले नै होला यो धारावाहिक कार्यक्रममा कहिल्यै उपस्थित हुनुभएन ।
हुन त योभन्दा अघि पनि साहित्यकार प्रधानले मे २६, २०१९ को ८५ औं साहित्यिक शृंखलामा चित्रकार एवं साहित्यकार रमण गुरुङ मार्फत “बौलाहीको यात्रा” भन्ने कथासंग्रह करिब आधा दर्जन हामी पाठकहरुलाई पढ्ने अवसर प्रदान गर्नुभएको थियो । जुनकुरोलाई यसै मुहार पुस्तिकामा उल्लेख गरेर धर्म निभाएकोथिए । उक्त पुस्तकको घतलाग्दा कथाहरुले म सारै प्रभावित भएको थिए । पाए भन्दैमा बाँकी नराखी हङ्रायोले पाङ्रा निलेझैं नखानुरे पनि भन्छ । यस रुदिनामात स्वयं लेखकले “आफ्नो कुरोमा” “यसलाई सुम्सुम्याउनुहोस् वा प्याट्ट पिटेर भए पनि प्रतिकृया दिनुहोला” भन्ने अनुरोध गर्नुभएको छ । यो वाक्यले मलाई केही नलेख्नु कताकता लज्जाबोध भयो । त्यसैले आफू त्यस्तो समालोचक, समिक्षक, विज्ञ नभए तापनि अथवा रुदिनालाई खुट्याउन सक्ने क्षमताको नभएता पनि एउटा साधारण अध्येता वा पाठक हुनुको नाताले ८, १० हरफ भए तापनि टिप्पणी गर्ने जमर्को गरेको छु ।

‘रुदिना’ भन्ने पुस्तकको नामनै कौतुहल लाग्ने ! न त रुनुको अकर्मक क्रिया रुदिन, रुन्न, भन्न खोजेको भन्ने पनि आउछ । यस्तै उत्सुकताको वावजुद फेद देखि टुप्पैसम्म पढेपछि सिनेमा हेरेझैं छर्लङ्ग भयो । एउटी अवोला नारी जस्ले पारिवारिक सामाजिक मूल्य र मान्यतासँग अनगिन्ती आरोह अवरोहहरू छिमल्दै संघर्ष गर्ने मुख्य पात्र “रुदिना” महिला रहेछ ।
चीनको हङकङ शहरको वातावरणलाई लक्षित गरी लेखक शिव प्रधानद्धारा कोरिएको यो उपन्यास विशेषत नेपाली समाज ई.सं. १९९४, ९५ देखि अहिलेसम्मको अधिकांश विवरण प्राप्त हुनेछ । जस्तै नेपालीहरू हङकङ आईडी कार्डमा कसरी गए ? कहिलेवाट किन गए ? यहाँ गएर नेपालीहरू कसरी वसे ? के काम गरे ? आदिदेखि लिएर यस्ले कसरी विकास र उन्नतिमा फड्को मारी, विश्वकै टप फाईभ धनी र महङ्गो शहरमा कसरी स्थापित भए ? यहाँ जनजीवनको वातावरण कस्तो छ ? आदि हङकङको वारेमा विश्वको कुनै कुनामा वसेर पनि जान्न इच्छुक हुनेहरुको लागि यो पुस्तक पढेपछि करिब जिज्ञासा मेटिने छ भने, हङकङमा वस्ने जो कोहीलेत झन पढ्नैपर्ने आवश्यक देखिन्छ । अँझ प्रष्ट पार्दा हङकङको एउटा दस्तावेजको रुपमा रुदिना उतार्न लेखक सफल हुनुभएको छ ।
मुख्य पात्र रुदिनाको जीवनमा कोरिएको यो उपन्यासले हङकङमा वस्ने धेरै नेपालीहरुको परिवार र समाजमा पनि आधारित जीवन कहानीको उपन्यास वन्न पुगेकोछ । मनोवैज्ञानिक ढङ्गले जिन्दगीको कथालाई जीवन्त उतार्न लेखक लिप्त भएर डुव्नुभएकोछ । एउटी महिला रुदिनालाई पहिलो आफ्नो सन्तानको कति चाहना हुन्छ ! शिशु जन्मने वेलामा प्रसव वेदनाले कति कष्टकर पीडादायी हुन्छ र यस्तो अवस्थामा आफ्नै श्रीमान अनिलको कति खाँचो हुन्छ र उनको रिक्तताले न्यास्रो सुत्केरी कति वेचैन र विक्षिप्त वन्निन्छ भन्ने कुरोमा उपन्यासकार समवेदनशील ढङ्गले पाठकको हृदयमा वस्न सफल हुनुभएकोछ ।
त्यस्तै घरमा सबैभन्दा ठुलो जीवन र कर्म दिने अभिभावकनै कमसल भएपछि एउटी महिलाले कति दुःखहरुसँग पौठेजोरी खेर्नुपर्छ भने, त्यै अभिभावकको मार्गदर्शन मायावी कर्त्तव्यवाट वञ्चित भविष्यको एउटा कर्णधार किशोर छोरा वावु आमाकै कारण कुलतमा लागेर एउटा सुन्दर जीवन कसरी समाप्त गर्छन ! भन्ने ज्वलन्त उदाहरण छ भने, यसरी विग्रेर माया मारिसकेको त्यै छोरो सुजन भाग्यवस सुधार गृहमा उपचारको निम्ति पहिलोचोटी छोरोलाई भेट्न दुईमहिना पछि आमा रुदिना छोरीको साथमा जाँदा “कहिले हेरौ भइरहेको” सारगर्भित मिलनले वेहत खुशीको पाठकमा अनुभूत गराउदछ ।
पुस्तकमा भाग “एक” सुरुवात गरिसकेपछि नसकिञ्जेलसम्म झनझन रहस्यमय कौतुहल लाग्ने यथार्थ पुरक कथावस्तु भए तापनि कुरो नचपाई भन्नुपर्दा सीमित कुरोमा लेखक चुक्नुभएको पनि देखिन्छ । पाठ “चौध” औंको १४४ पेजसम्म उपन्यासमा पात्र, कथा, परिवेश, विषयवस्तु आदि सबैकुरो नायल नदी अविरल वगेझैं सलललल आफ्नै गतिमा ‘रुदिना परिवारको राम कहानी’ वगिरहेको वेला परिच्छेदनै परिवर्तन नगरी अप्रत्याशित “हङकङमा प्रत्येक जातजातिको साम्प्रदायिक वर्गीय, क्षेत्रीय, आआफ्नै गुट उपगुट, गाउँ, टोल, वडा आदिका अनगिन्ती संघसंस्थाहरू छन् ।” भनेर यिनीहरुले विकृति फैलाएको सम्मान, खदा र ठालु हुनेहरुको दोहोलो काडेर ईर्ष्याको वमन गरेको देखिन्छ । यथार्थमा यहाँ जातीयता र क्षेत्रीयता वैमनस्यताको खाडल खानिएकै छ, लेखकले अकाट्य सत्य वोल्नुभएता पनि उपन्यासको मुख्य कहानीसँग विमेल हुनाले यस्ता प्रसँग विहीन कुरोले गर्दा पाठक अल्मलिने देखिन्छ ।
त्यसो त भन्नैपर्दा अहिले कोरोनाको कहरले गर्दा मात्र केही न्यून भएको देखिन्छ, नत्रत च्याउ उम्रेझैं यस्ता संघसंस्थाहरू पाँचसयभन्दा ज्यादा भएको र तिनीहरुले हप्तै पिच्छे नेपाल देखि ठुटे नेता र कलाकार भनाउदा आफ्नो मान्छे ल्याउदै ५, सात ठाउँसम्म नाकलाग्दो कार्यक्रम गरेर जुधाएको पनि छदैंछ । त्यस्तै केही एउटै व्यक्तिले भएभरको आफ्नै शाखा सन्तान सबै तानीओरी पनि ईष्ट मित्र गाउँले आदिलाई हङकङमा भित्राएर करोडौं आर्थिक उपार्जन गरी उधुमै मच्चाएको पनि छदैंछ ।
त्यस्तै लेखकले ९४ पृष्ठमा “हङकङमा नेपाली केटाकेटीहरू फेन्सिडल नखाने को होलार ? केटाकेटीको के कुरार अधवैंशेहरू पनि” भनेर हङकङमा हुने २, ४ जना दुर्व्यशनमा लाग्यो भन्दैमा सबै नेपालीहरुलाई एउटै घानमा मुछ्नु विल्कुल नमिल्ने तर्क देखिन्छ ।
त्यस्तै माथिको जस्तै ” हङकङमा अनिलको मृत्युपश्चात उनको पार्थिव शरीर नेपाल पुर्याएर सबै परिवार ईष्टमित्रको साथमा दाह संस्कार गरीबरी आमा रुदिना र छोरो सुजन हङकङ फर्किए” भनेर पृष्ठ १९५मा भनियो ! तर पुन ” रुदिना धेरै वर्षपश्चात जन्मभूमि नेपाल आउन पाउदा ….. ….. कान्छी आमासँग भेट, वावुसँग गनथन” आदि नेपालनै नसकी माथिको सुरुमै हङकङ फर्किएको कुरोले एकचोटी पाठक झुक्किनु पुगेकोछ ।
यस्ता सामान्य गल्ती भए तापनि रुदिना प्रेरणा मुलक, चेतना मुलक र सन्देश मुलक उपन्यास वन्न पुगेको छ । लेखकको एउटा घतलाग्दो अकाट्य वाक्य — “बाह्र वर्षमा खोला पनि फर्कन्छ रे, तर नेपालीहरू हङकङमा स्थायी रुपले वसेको २० वर्षभन्दा ज्यादा भएर पनि हाम्रा छोराछोरीहरू आज्ञाकारी भै सुवाटोमा लागे कन्स्ट्रक्सनमा भए कुल्ली र छोरीहरू भए वार कि कफी सोप काममा लागेको देखिन्छ, योभन्दा खासै उपलब्धि देखिन्दैन ।”
सत्यकथामा आधारित झैं लाग्ने यो नदिना उपन्यासका लेखक साहित्यकार शिव प्रधानज्यूलाई हार्दिक बधाई तथा शुभकामना सहित यो मेरो मनगढन्ते विचारलाई यही टुङ्ग्याउदछु, अस्तु ।
