Skip to content

केही दिन अझै पर्खौँ


टाढा थियौँ पहिले हामी नजिक हुँदै आयौँ
धेरैपछि स्कुलमा भेट्ने मौका पायौंँ

रोगव्याधि आउँदा रै´छन् कस्ता-कस्ता खाले
हामीलाई नि अत्यायो लौ पापी कोरोनाले
कान दुखिन्जेल मास्क लगाई हिँड्ने गर्थेँ मैले
हात मिलाउन डराउँथेँ साथीसँग पैले

कोरोनाको डरले सातो लिनुसम्म लियो
पाँच-छ महिना झ्याल-ढोका र घरै बन्द थियो
गाडी चल्न छोडेपछि सडक थियोे खुल्ला
सोच्ने गर्थेँ यो बाटोमा को हिँड्ला र डुल्ला ?

बिस्तार बिस्तार जागिरेको काम सुरु भयो
सडकमा अहिले फेरि जाम सुरु भयो
बाटो खुल्यो, स्कुल खुल्यो, कलकारखाना खुले
कोरोना थ्यो भन्ने कुरा अहिले यिनले भुले

फेरि जात्रा सुरु भयो सुरु भयो मेला
दूरी कायम भन्ने गर्थे छैन यतिबेला
अँगालोमा बाँधिएर हिँड्छन् केटाकेटी
यही बेलामा हड्ताल गर्न आए टाढादेखि

यति साह्रै हेलचेक्र्याइँ नगरे भा हुने
नत्र फेरि रोगले च्यापी आउला दिन रुने
सफा हुँदा केही बिग्रन्न सेनिटाइजर छर्कौँ
महामारी लखेट्नु छ केही दिन अझै पर्खौँ ।

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
(२०७७/१०/१२)

1 thought on “केही दिन अझै पर्खौँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *