Skip to content

महान हस्ताक्षरको उपेक्षा

  • by


पारिजात दिदी बितेको पन्द्रह वर्ष भएछ । उनको पुण्यतिथिमा ५ गते म्हेँपीस्थित सालिकमा फूल चढाउन आउनेको सानो हुलमुलमा पंक्तिकार पनि मिसिएको थियो । संख्यामा केही घटीबढी भएकोे उही परिचित अनुहारहरू , सुकन्या दिदी अनि ससाना स्कुले केटाकेटीहरू । खादा, अबिर, फूलमाला र पुष्प गुच्छाहरूमा पारिजातप्रतिको श्रद्धा चढाउनेहरूको त्यो सानो हुलमुलमा मिसिँदा पंक्तिकारलाई दिदीको सालिकले स्नेही भएर सोधेको जस्तो लाग्यो, “यसपालि त घर आएछौ नी…।”

विष्णुमती किनारमा स्थापित गरिएको पहिलाको ठाउँबाट सालिकलाई सारिएको रहेछ । पारिजात स्मृति भवनको संघारमा सारिएको सालिक सुरक्षा र सम्मानका लागि उपयु देखिएको भए पनि बन्दाबन्दै निर्माण रोकिएको उजाड खण्डहरमा भइरहेको जस्तो लाग्यो । यस अनिर्मित भवन जहाँ पारिजात दिदीका स्मृतिहरूलाई सहजने योजना छन् । एउटा स्मृतिकक्ष जहाँ उहाँले प्रयोगमा ल्याउनुभएको व्यिगत सामानको सङ्ग्रहालय हुनेछ । पारिजात स्मृति केन्द्रका अध्यक्ष डा महेश मास्केका अनुसार, पुस्तकालय लगायत छलफल र सांस्कृतिक कार्यक्रमका लागि बेग्लै सभाकक्ष हुनेछ । तर दुर्भाग्य, निर्माण कार्य अधुरै छ ।

२०६४ साल पुस महिनादेखि पारिजात स्मृति भवन बनाउने अभियान सुरु गरिएको थियो । करिब एक करोडको लागतमा नेपाल भवन विभागको आर्थिक सहयोगबाट सुरु गरिएको यस पारिजात स्मृति भवन बन्न सुरु भएको एक वर्षपछि बजेट निकासा नभएको भनेर निर्माणाधीन अवस्थामा यसै अधुरो छाडियो । सत्तामा बस्नेहरूको अनुहार फेरिँदा योजना दयनीय अवस्थामा आइपुग्दो रहेछ । ताजा उदाहरण बन्दाबन्दै रोकिएको पारिजातको स्मृति भवन हो । सरकारले सहयोगको हात रोके पनि तर खोज्न सकिएमा अन्य धेरै स्रोत पनि छन् । पारिजातका कृतिहरू आफैं दृश्य-श्रव्यका लागि राम्रो स्रोत हुन् । एक दर्जन उपन्यासहरू, आत्मकथाका तीनवटा शृङखला लगायत आधा दर्जन कथा सङ्ग्रह, निबन्ध सङ्ग्रह र सयौं गीत-कविताहरू छाडेर जानुभएको साहित्यकार परिजातका राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरका चलचित्र बनाउन सकिने उत्कृष्ट कथावस्तु छनोटमा पर्न सक्नेछन् । यस्तै गीत-सङ्गीतका लागि बेजोडका गीत-कविताहरू पनि छन् । ती सबैको राम्ररी संयोजन हुनसके भौतिक स्रोत र साधनको कमी हुने छैन ।

“राल्फाकालदेखि पारिजातका सहकर्मी वरिष्ठ कलाकार रायन, रामेश लगायत जनमुखी अन्य धेरै कलाकारहरूलाई सक्रिय पार्न सकिए विभिन्न सांस्कृतिक कार्यक्रमबाट पनि भवनका लागि यथेष्ट भौतिक संसाधन जुट्न सक्छ । यस अधुरो रहेको भवन निर्माण गर्न असम्भव छैन । सरकारसित हात फैलाइरहनुपर्ने आवश्यक छैन । मात्र अलिकता सही संयोजन चाहिएको छ ।” पारिजातका निकट रहेर प्रगतिशील कलाकारको रूपमा लामो समय काम गरेका रञ्जित लामा सम्भावना औंल्याउँछन् ।

पारिजात नेपाली साहित्यको शान हुन् । नेपाली साहित्यका जिज्ञासु हरकोहीलाई पारिजातका विचार कृतिहरूमा सहज पहुँच र प्राप्ति हुनसक्ने वातावरण दिने पारिजात स्मृति भवनको निर्माण कुनै हालतमा पनि सम्पन्न हुनुपर्छ । पारिजातजस्तो प्रतिभाको नाममा सहयोगी हातहरू अगाडि आउनुपर्छ । लाखौं जीवनलाई ऊर्जा दिने, प्रेरित गर्ने उहाँको कृति र विचारहरू पाठकहरूमा फैलाउने कार्यहरूले मात्र उहाँको उचित सम्मान हुनेछ । यस शताब्दीको नेपाली वाङ्मयकी बेजोड स्रष्टा पारिजातको सम्मान हुनु राष्ट्रको पनि सम्मान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *