वि.सं. २०४२ सालमा ‘व्यथा’ (साहित्यिक त्रैमासिक) को कविवर भरतराज पन्त विशेषाङ्कभन्दा २०६६ मा प्रकाशित कविवर भरतराज पन्त स्मृतिग्रन्थ आकारले निकै मोटो छ र यसमा लेख्नेहरू पनि निकै छन् ।
भरतराज पन्तले पाउनुभएको सम्मान, पुरस्कार समारोहमा, उहाँका साहित्यिक कार्यक्रममा भन्दा गएको असार ३० गते लेखनाथ साहित्य सदनमा आयोजित उहाँको जन्म जयन्ती र स्मृति ग्रन्थ विमोचन समारोहमा धेरैको उपस्थिति थियो ।
भरतराज पन्तको जीवनमा आइपरेका अनेकौं दुःख, पीडामा हामीमध्ये धेरै कमले मात्र सम्झ्यौं होला । उहाँको परिवारमा दुःख पर्दा (कवि भरतराज पन्तको निधनपछि) हामीमध्ये धेरैले उपस्थिति जनायौ, लेखेर, सहभागी भएर …
साहित्य साधक भरतराज पन्तप्रति ढिलै भएपनि सम्झिएको र सम्झना गरिएको उदाहरण हुन् यी । त्यसो त साहित्यकार भरतराज पन्तको साहित्यिक व्यक्तित्वको मूल्याङ्कन राम्ररी भएको छ, मानसम्मान, पुरस्कार पनि उहाँले त्यत्तिकैप ाउनुभएको छ । पाठकको माया पनि त्यत्तिकै पाउनुभयो उहाँले । जीवनमा पारिवारिक कलह र विपत्तिले सधैं घेरिरहेकोले भरतराज पन्तको जीवन सुखद् रहेन । दुःखी जीवन बाँच्नु परेपछि उहाँ सधैं हाँसी हाँसी बाँच्नुहुन्थ्यो । दुईदुईवटा छोराको निधन हेर्नुपर्दाको पीडा पनि भोग्नुभयो उहाँले । प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ भएर बस्ने इच्छा पनि गर्नुभयो, यसका लागि प्रयास पनि गर्नुभयो एउटा असफल प्रयास जीवनमा प्रज्ञमा प्राज्ञ बन्न पाउनु भएन उहाँ । नेपाली भाषा र साहित्यमा उत्कृष्ट योगदान दिने सक्रियता देखाउने भरतराज पन्तको जीवनमा यो एउटा दुःख भने रहिरहृयो । वि.सं. २००८ सालदेखि लेख्न थालेको मान्छे २०१२ सालदेखि नै पुरस्कृत हुन थालिसक्नुभएको थियो र २०६३ सम्म पनि उहाँ सम्मानित भइरहनुभयो । कविता महोत्सव पुरस्कार (२०३१) गुणराज पुरस्कार (२०४४) हरिहर शास्त्री पुरस्कार (२०४९) रुद्रराज पाण्डे पुरस्कार (२०४९), मुक्ति पुरस्कार (२०५१), भानु सेवा पुरस्कार (२०५२) राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३) राजीवलोचन जोशी पुरस्कार (२०५४) बाबा ओमवीर सिं पुरस्कार (२०५६), भूपालमान सिंह कार्की पुरस्कार (२०५७) पण्डित वासुदेव भट्टराई पुरस्कार (२०५८), आदिकवि भानुभक्त पुरस्कार (२०६२) लगायत अन्य १० वटा पदक पुरस्कार पाउनुभयो । १० पटक सम्मान र अभिनन्दन गरियो उहाँको ।
वि.सं. १९८६ सालको असार ३० गते काठमाडौँको फसिकेव टोलमा जन्मिनुभएका भरतराज पन्तले वि.सं. २००८ सालमै ‘गोरखापत्र’ मा आफ्नो पहिलो कविता छपाइसक्नुभएको थियो । २००८ देखि २०६५ सम्म निरन्तर साहित्य साधनामा संलग्न स्रष्टा साधक भरतराज पन्त नपत्याउँदो गरी अचानक बित्नुभयो – २०६५ वैशाख १८ गते । कविता काव्य, महाकाव्य, आत्मजीवनी, समीक्षा, जीवनी आदि विधामा कलम चलाएर दुई दर्जन कृति दिने भरतराज पन्त अनुवादमा पनि त्यत्तिकै सशक्त हुनुहुन्थ्यो । जीवन बाँच्न र परिवार पाल्न अनेकौं पेशा अपनाउनु परेपनि शिक्षासेवी र साहित्यसाधकका रूपमा उहाँले आफूलाई चिनाउनुभयो, परिचित गराउनुभयो र यिनै क्षेत्रमा सम्मानको जीवन बाँच्नुभयो ।
भरतराज पन्तको उत्साही परिवार अनि सहयोगी स्रष्टाहरूको सक्रियतामा गत असार ३० गते आयोजित एक कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले ‘कविवर भरतराज पन्त स्मृति ग्रन्थको विमोचन गर्नुभयो । जीवनमा ‘शोक’ धेरै लेख्नुभएका कविवरको जन्म जयन्तीमा धेरैले शोकका कुरा गरे, कविवरको कवित्वको कुरा गरे । त्यसै प्रसङ्गमा उपन्यासकार एवं कथाकार हरिप्रसाद पाण्डेयले भन्नुभयो – “बाँचुन्जेल आलोचना र मृत्युपछिको सम्मानले नेपाली समाज प्रताडित हुनुको विकल्प स्व. भरतराज पन्तको जीवनीबाट खोज्नुपर्ने हुन्छ ।”
५०४ पृष्ठको बृहद आकारभित्र १०१ लेखकका विविध लेखरचनाले भरतराज पन्तको समग्र परिचय मात्र समेटेको छैन, उहाँको जीवनमा आइपरेका दुःख बिघ्न बाधा शोकबारे पनि चर्चा गरेका छन् । उहाँको स्मृति-ग्रन्थमा सहभागी भएजस्तै लेखक साहित्यकार उहाँको अभिनन्दन ग्रन्थमा सहभागी भइदिएको भए भरतराज पन्तले आफ्नो जीवनमै देख्न पाउनुहुन्थ्यो । मरेपछि पनि बिर्सिने प्रवृत्ति कमसेकम भरतराज पन्तमा देखिएन, उहाँलाई सम्झेर उहाँको योगदानको चर्चा गरेर यति बृहद् आकारको ग्रन्थ निकाल्नु लरतरो कुरो होइन । यो सम्झना, यो उत्साह, यो सहभागिता निरन्तर रहिरहोस् ।
जीवनलाई कवितामै बिताउने कविवर भरतराज पन्त प्रायः रातमा कविता लेख्नुहुन्थ्यो रे । उहाँकी सुपुत्री कल्पना शर्मा लेख्नुहुन्छ -“कसैसँग रिस उठेपनि कविता, केही दुःख परेपनि कविता, कवितामा नै उहाँलाई आनन्द लाग्थ्यो ।” हुन पनि सात आठ वर्षको उमेरमै आफ्ना बाबुको साथ कवि शिरोमणि लेखनाथ पौड्यालको घर पुग्नुभएका भरतराज पन्तले त्यतिबेलै कवि शिरोमणिलाई कविता सुनाएर प्रभाव पार्नुभएको थियो र त्यही नै कवि शिरोमणिले ‘यो केटो पछि कवि हुन्छ’ भनि दिनुभएछ । नभन्दै त्यही केटो पछि भरतराज पन्तको नामबाट चिनिएर नेपालको प्रसिद्ध कवि बन्न पुग्नुभयो र धेरैलाई प्रभाव पार्नसक्ने हुनुभयो । साहित्यमा विविध विधामा कलम चलाएर, विभिन्न सङ्घ संस्थामा संलग्न भएर, विभिन्न पत्रपत्रिकाको सम्पादन गरेर अनुवाद गरेर आफूलाई सक्रिय राख्ने भरतराज पन्त ‘कवि’ को रूपमा परिचित हुनुभयो, सम्मानित हुनुभयो । कवि शिरोमणि लेखनाथ पौड्यालको भविष्यवाणी ठ्याक्कै मिलेछ ।
