Skip to content

म अनि मेरा बस्तीहरु


सुन्दैछु
प्रियसीका एकाध बस्तीहरुमा
दोहोरी गीत नगाएको धेरै भो रे
रोधीघर पनि नधाएको धेरै भो रे
त्यही भएर होला सायद
युवाहरु बिदेशिएको मात्र देख्छु
मरूभूमिको बालुवामा मात्र भेट्छु ॥१॥

अफसोच
मेरो बिकट तर निकट बस्तीहरुमा
बिरह र बेदनाको चित्कार सुनिन्छ रे
झुटको खेती गर्ने जालहरु बुनिन्छ रे
त्यही भएर होला सायद
जताततै लासै-लासको थुप्रो देख्छु
सपनामा तिनै लासको आत्मा भेट्छु ॥२॥

खै के भनौं
छिया-छिया परेका ती मेरा बस्तीहरुमा
भाला खुँडा र तरवार बोक्नेहरु भेटिन्छ रे
जस्को गला रेटे पनि आफन्तकै रेटिन्छ रे
त्यही भएर होला सायद
विह्वल अनि करुण पीडा र व्यथाहरु सुन्छु
गाउँभरिका साईला-माईला यतै तिर भेट्छु ॥३॥

हिजोआज
चिराचिरा धुजाधुजा परेका मेरा बस्तीहरुमा
बसाईँ सर्नेहरुको लस्कर बैराग्यहरु देखिन्छ रे
जता गए पनि निमुखा र असाझ्फ्य सेकिन्छ रे
सायद… अफसोच… बिडम्बना… यद्यपि
धर्ती उही आकास उही उस्तै-उस्तै देख्छु
कर्मले मर्मले ठगिएको नेपाली मात्र भेट्छु ॥४॥

सुन्दैछु
प्रियसीका एकाध बस्तीहरुमा
मेरो बिकट तर निकट बस्तीहरुमा………

दोहा कतार

1 thought on “म अनि मेरा बस्तीहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *