Skip to content


हिमाल हाँसिरहेको बेला,
नेपाल र नेपालीको प्रतीक
संसारलाई चिनाउनु परेको छ ।

पूर्वजहरूको रगतले सिंचेको यो नेपाल
वर्तमानदेखि भविष्यसम्म,
राष्ट्रभक्ति र देशभक्तिको पाठ,
हामी र हाम्रा सन्ततिहरूलाई सिकाउनुपरेको छ ।

देशमा शान्ति आइरहेको बेला,
यही उर्वर भूमि नेपालबाट,
दिगो शान्तिको वीउ रोप्नुपरेको छ ।

गौतम बुद्धको देश नेपालबाटै,
विश्वभर शान्तिको दियो बाल्नुपरेको छ ।

भृकुटी र सिताले जस्तै,
यही धर्तीमा बलिदान दिनुपरेको छ ।

हिमालको डम्फूलाई,
पहाडको मादल र खैंजडीसँग मिलाउनुपरेको छ ।

पहाडकै सारंगी र सहनाई,
तराईमा लगेर बजाउनुपरेको छ ।

हिमाल, पहाड र तराबासीलाई,
एकै ठाउँमा मयूर जस्तै नचाउनुपरेको छ ।

नेपाल एक नेपाली एक,
संसारभर चिनाउनुपरेको छ ।

अब एउटा महान पर्वको खाँचो परेको छ,
हरेक नेपाल र नेपालीको धड्कनलाई
एउटै मालामा गाँस्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *