Skip to content

शहरभित्रको मेरो आफन्त


‘हेलो दाइ! आराम हुनुहुन्छ?’ उसले फिसिक्क हाँसेर भन्यो। मैले अलमल्ल पर्दै भनें– ‘मैले तपाईलाई चिनिन नि?’ ‘हत्तेरिका, दाइले पनि कसरी चिन्नु हुन्छ त? म तल्लाघर साँहिलाको छोरो रमेश के त। चार कक्षा पढ्दा–पढ्दै भागेको।’
‘दशवर्षको केटा अहिले पच्चीस वर्षको भैसक्यो अनि कसरी चिन्नु त?’ मैले आफन्तीय हाँसो हाँसेर भनें। त्यसपछि उसले मलाई शानदार कोठामा लग्यो। महँगो रेष्टुरेन्टमा खाना खुवायो। कुरै–कुरामा उसले मलाई खर्च छ कि छैन भनेर सोध्यो। मैले उसभित्र पूर्ण आफन्तिय ढुकढुकी देखेर पाँच हजार रुपियाँ बोकेर आएको बताएँ।
‘दाइ! यो शहरमा कोही पनि आफ्नो न। यहाँ मान्छेलाई मान्छेको कुनै वास्ता न। त्यसैले आपद परेको बेला यो भाइलाई सम्झिनु होला।! उसले निक्कै गम्भीर भएर भन्यो।
‘नाता सम्बन्ध भनेकै आपदको घडीमा चाहिने न हो।’ मैले उसलाई हेरेर भनेंं। त्यसपछि ऊ मुसुक्क हाँस्यो र मलाई एउटा अँध्यारो गल्लीबाट हिंड्न भन्यो।
पाँच मिनेटजति हिंडेपछि ऊ र म एउटा झनै अँध्यारो गल्लीभित्र पुग्यौं। चार–पाँचजना खाइलाग्दा मोटेहरु आएर उसँग हात मिलाए। मैले उसैको साथी ठानेर वास्ता गरिनँ। अचानक एउटा माटे आएर मेरो गलामा छुरी तेर्स्यायो। अरु मोटेहरुले वरिपरि घेरे। त्यो मोटेले मलाई छुरी रोपुँलाझैं गर्दै भन्यो– ‘माल कति छ निकाल।’
‘मसँग त केही छैन हजुर।’ मैले उसलाई हेर्दै भनें। ऊ मज्जाले हाँस्न थाल्यो र देशी रिवल्भर मतिर सोझ्याउँदै भन्यो– ‘बढ्दा इमान्दारिता देखाउने हैन।’
मैले आफूसँग भएको पाँच हजार रुपियाँ त्यो मोटेको हातमा हालिदिएँ। उनीहरु अन्धारमा विलीन भए। म भने कहिले रुपियाँ र कहिले त्यो आफन्तको बोली सम्झिरहें– ‘दाइ! यो शहरमा कोही पनि आफ्नो रहेन।

1 thought on “शहरभित्रको मेरो आफन्त”

  1. its really to say bad tanka
    its really to say bad tanka ge sanchai nai bhannu parda yo jamana ma aafno pan ko masus garnu bhanako dhari gaharo bhai skyo

Leave a Reply

Your email address will not be published. Required fields are marked *