पोइलको भ्रम

  • by

राधा आँखामा राखे पनि बिझाउन्नथी । पीडाको दहमा हर्दम पौडी खेल्नु परे पनि अत्तालिन्नथी । ऊ आफ्ना दुई बहिनीकी दु:ख नासिनी दिदी थिई । छोरीछोरी मात्र जन्माई भनेर हजुरआमाले आमासँग गरेको गनगनले भने उसको मुटुमा बज्र हानिरहन्थ्यो । अँझ बाबुको कुटपिट र लछारपछार असह्य हुन्थ्यो उसलाई ।

एकाबिहानै नगरपुरभरि एउटै हल्ला फिँजियो । नजिकका इष्टमित्र र हितैषीजन सबैजना हल्लाका पछि दगुरे । सबैको मुखबाट एकै थरीको वाक्य निस्कन्थ्यो– राधा, अब त्यो राधा रहिन । हामीहरूको विश्वासलाई कुल्चेर हिँडी । आफ्नो बाटो आफैँ तय गरी । बाहिर हेर्दा सोझी भित्रभित्रै कैँचीले काट्दिरहिछ ।

राधाकी वाल्यसखा शशिकलाले राधाले साथीसंगीको नाक कटाएको यकिन गरी । ऊ पनि भर्खर सोह्र टेकेकी थिई । उसले मनमनै प्रतिज्ञा गरी– म राधाजस्तो बैँसले उन्मत्त कहिल्यै हुन्न । सनातनी परम्परा कुल्चने काम कदापि गर्दिनँ ।

अढाई महिना राधा अलप भई । त्यस बीचमा कसैले पनि आफ्नो सोचमा पुनर्विचार गर्ने इच्छा देखाएनन् । नगरपुरवासीका नजरमा सम्पूर्णरूपले राधाले मनलाग्दी गरेर हिँडेकै ठहर भयो ।

बाबु महुलीबाट नगरपुर घर पुगे । गाउँलेका प्रश्नका घोचा तेर्सिए । जवाफमा खुलासा गर्दै उनले भने– ‘केटालाई देखाउन हरिपुर लगेको, राधालाई मन पराई हाल्यो । तीन घण्टामै बिहेदानको प्रपञ्च रचियो । धन नभएपछि सामाजिक रीतिथिति पनि संशोधन गरेर हिँडियो ।’

अघि नानाथरिका आशंका गर्ने गाउँलेका मुखबाट एउटै वाक्य निस्कियो– विचरी, हाम्री राधा ! धर्ममा छे । सोझीसीधा छे । हामी पो भ्रममा परेका रहेछौ ।

कञ्चनरुप–१२, रुपनगर, सप्तरी
मोबाइल नम्बर :– ९८४२८२०३०१

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *