दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो। दुईजनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुईव्यक्तिले नपाउने’ भनी प्रतिबन्ध लगायो। जसबाट थुप्रै मोटरसाइकल सवारलाई पुलिसले पक्डियो। हत्या कम भएन। फेरि साइकलमा चढेर हत्यारा भाग्न सफल भए। सरकारले साइकलमा चढ्ने हरेकलाई साइकल नचढ्न आदेश दियो। सबै साइकलवालाहरूले आ–आफ्ना घरमा साइकल थन्क्याएर पैदल हिँडे। जब तेस्रोपल्ट हत्या भयो तब हत्याराहरू नीलो पोसाकमा देखिए। अब पुलिसले फेरि नीलो लुगा लगाउने जतिलाई पक्डिँदै थुन्दै गर्न थाल्यो। त्यसपछिको हत्याकाण्डमा हत्याराले मात्रै गन्जी र कट्टु लगाएको पाइयो। अब बिचरा रु गन्जी र कट्टु लगाउने मात्रै हैसियत भएकाहरूले गन्जी पनि लगाउन छोडिदिए पुलिसले पक्डिएला भन्ने डरले। हत्याराहरूलाई अझै पुलिसले पकड्न सकेको थिएन अब हत्याराले कतै अर्को हत्या कट्टुमात्रै लगाएर गरे भने आफू पुलिसको भयङ्कर कुटाइबाट बच्नको लागि कहाँबाट लुगा ल्याएर आफ्नु शरीरलाई ढाक्ने? अति विपन्नवर्गका जनतालाई चिन्ता पर्न थालेको छ।
