गाउँबाट सहर पढ्न आएको गोफ्ले सहरी युवतीहरूको सुन्दरताबाट मोहित भयो। गाउँमा धूलोमैलो र फाटेका लुगामा देखेको युवतीका तुलनामा सहरी युवतीलाई स्वर्गकी अप्सरा नै ठान्न पुग्यो। गाउँमा युवतीहरू कम देखिने र सहरमा जताततै देखिने गरेको घटनाबाट उसको मन पढ्नभन्दा पनि तिनीहरूलाई प्राप्त गर्न सके गाउँको अभावग्रस्त जिन्दगीबाट मुक्ति पाउन सकिने ठान्यो। यसका लागि सहरमा घर भएकी र धनधान्यले पूर्ण भएकी युवती पाउन पाए “के खोज्छस् कानो आँखो” हुने ठानेर ऊ त्यसैको ताकमा लाग्छ। “तँ चिता म पुर्‍याउँछु” भनेझैँ उसको धनी हुने सपना पुर्‍याउलीजस्ती युवती भेटिई। दुवैका बीचमा ननस्टप हिमचिम बढ्दै गयो र विवाह पनि भयो। विवाहको रात दुलहीले खुट्टादेखि शिरसम्म लगाएकी झकिझकाउ गहनालाई ऊ लोभी नजरले हेर्न थाल्यो। दुलहीले उसको भाव बुझेर भनी, “के हेरिसिएको? यी सबै त नक्कली हुन्। सक्कली त मेरो माया हो। त्यो हजुरमा आजदेखि समर्पित भयो।”
दुलहीले त्यति भनिसक्ता ऊ खङ्ग्रङ्ग भयो र भन्यो, “त्यस्तो थियो भने पहिल्यै मलाई भन्नुपर्दैन?”
केही नबुझी दुलहीले अबोध बन्दै भनी, “हजुरले नै तिमीलाई जन्मजन्मसम्म माया गर्छु। आकाशको तारा पनि टिपेर ल्यादिन्छु भनिसिएको होइन …”
झोक्किएर बीचमा कुरा काट्तै उसले भन्यो, “त्याँसम्मको मूर्ख ठानेकी तैंले।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *