Skip to content

बूढेसकालको उमेर सुनाउँदै गोरखातिर

  • by


गोरखा भन्नासाथ मलाई इतिहासकै स्मरण हुन्छ । हुन त त्यहाँ प्रकृति पनि आफ्नो अद्भुत छटा छरेरै बसेको छ । तर त्यहाँ इतिहास विस्तृत छ । यसपटक गोरखा जाँदा मैले फेरि इतिहासको स्मरण गरेँ ।

यात्रा भने साहित्यिक थियो । ऐतिहासिक नभने पनि अविस्मरणीय भने अवश्य थियो, धेरै कारणले । एउटा कारण त यही थियो, म पहिलोपटक बसमा गोरखा जाँदै थिएँ । अन्य बेला कुनै प्रकारको निजी लिफ्ट पाइन्थ्यो । रमाइलोका कारण सार्वजनिक बाहनको यात्राजस्तो लागेन, निजी गाडीजस्तै लाग्यो । साहित्यकारको समूहमा मलाई सधैं सजिलो अनुभव हुन्छ । लाग्छ, एक आत्मीय यात्रा गर्दैछु । सबै चिनेका हुँदैनन्, तापनि आत्मीयता अनुभव हुन्छ ।

म अघिल्तिरको सिटमा एक्लै बसेको थिएँ । राजविक्रम थापा मभन्दा अघिको सिटमा हुनुहुन्थ्यो । वास्तवमा उहाँ नै मलाई निम्तो गर्न आउनुभएको थियो । थापाको कथा संग्रहको केही समयअघि मैले विमोचन गर्ने मौका पाएको थिएँ । यात्रामा अगिल्तिरको सिटमा बसेको म वरपरका दृश्य हेर्न थालेँ । यो मेरो पि्रय सोख हो । त्यसैले म झयाल रूचाउँछु । बसमा मात्र होइन, हवाइजहाजमा पनि । सहजै बाटो काट्ने उपाय पनि हो यो । यसले कल्पनाशीलतालाई पनि घचघच्याइरहेको हुन्छ । त्यसकारण मलाई एक्लै बस्न पनि नरमाइलो लाग्दैन । त्यसमाथि संगत राम्रो भयो भने अझ बेस ।

निकै समयदेखि गाडीको पछिल्लो पंक्तिमा बस्ने लेखकहरू गीत, दोहोरी, चुट्किला आदिको फर्माइस सुनाइरहेका थिए, वातावरणलाई रोमाञ्चित बनाउनेगरी । त्यत्तिकैमा एउटी युवती स्वर मेरो कानैमा गुञ्जियो- ‘सरलाई एक्लै बस्दा बोर लाग्यो कि ?’ मैले भनेँ- ‘होइन, ठीकै छ ।’ उनले सोधिन्- ‘म बसौं छेउमा ?’

मैले भनेँ- ‘तपाईंलाई मन लाग्छ भने बस्नुस् ।’

तिनी आएर बसिन्, मेरो छेउमा । मलाई स्मरण गराइन्- राजविक्रम थापाको पुस्तक विमोचनमा हाम्रो भेट भइसकेको रहेछ । तस्वीर पनि खिचिएको रहेछ, उनले देखाइन् । कविता संग्रह ‘अभिलाषा’ प्रकाशित रहेछ, त्यो पनि दिइन् । मलाई लाग्यो, उनका कवितामा प्रशस्त सम्भावना छ । उनले एउटा उपन्यास पनि लेखेकी रहिछन्, मलाई भनिन्- भूमिका लेखिदिनुस् न ।

मैले भनेँ- ‘अनि धराबासीले के लेखेको ?’

‘ए त्यो त बीचमा लेखेको हो । मैले सरबाट भूमिका नै चाहेको हो ।’ यी लेखिकाले बोल्ने तरिका यस्तो विनयी थियो कि मैले नाइ भन्नै सकिन ।

यात्राका बीचमा यिनले आफ्नो बारेमा र परिवारको बारेमा बताइन् । पढाइका बारेमा बताइन् । मेरा बारेमा सोधिन् । आफ्नो नाम ‘प्रसुन’ लेख्छु भनिन्, निरूपा प्रसुन । हुनलाई उनी ढुङ्गाना हुन् क्यार । मलाई मोबाइल चलाउन, फोटो सेभ गर्न पनि सिकाइन् । यी एउटी भावुक केटी हुन्, यो उनको लेखन र व्यवहारबाट प्रकट भयो ।

त्यति चाँडो यति निकटताजस्तो अनुभव हुनु कमै हुन्छ । प्रसुनको व्यवहारले यस्तो गरायो । हुन त रेलका लामा यात्राहरूमा म एक्लै हुँदा सामुन्नेको परिवारले मसित खाना बाँडचुँड गरेर खाएको, ठेगाना लिनेदिने, चिठीपत्र लेख्ने वाचा आदि भएका छन्, खासगरी भारतको रेलयात्रामा । तर पछि ती वाचाहरू बिर्सिएर गइन्छ, आजसम्म त्यही भएको छ । निरूपा अलिक बढी नै भावुक रहिछन् । एकपटक उनको भनाइ कसैले बुझिदिएन भनेर धेरैबेरसम्म चित्त दुखाइरहिन् । त्यसैले उनी ‘ग्लास ः हेन्डल विथ केयर’ टाइपकी होलिन् भन्ने लाग्यो ।

गोरखाको कार्यक्रम । अत्यन्त सफल थियो । मे १ मा पर्ने श्रमिक दिवससहितका कार्यक्रमका कारण दर्शक/सहभागीको खडेरी लाग्ने सम्भावना थियो । तर सहभागीको भीड राम्रै थियो । त्यो अवसरमा गोरखाको नयाँ पुस्तालाई सुन्न पाइयो । त्यहाँको नयाँ पुस्ता राष्ट्रपति निकै चिन्तित रहेछ, खराबीहरूप्रति आक्रोशित पनि । यही आजको हाम्रो लेखनको नयाँ स्वर पनि हो । गोरखा पनि यो स्वरमा भिन्नता राख्दैन नै । मैले धेरै दिनमा आफ्नो आख्यानकारको चिनारीसामु उभिएर एउटा आफ्नै गीत गाएको थिएँ ।

राति सत्यम् होटलमा म डा तुलसी भट्टराईसित बसेको थिएँ । उहाँ साहित्यकारमात्र होइन, कुशल संगठनकर्ता र व्यवस्थापक पनि हुनुहुँदोरहेछ । उहाँले बताउनुभयो- गोरखामा उहाँहरूकी कुलदेवी छन् । त्यसका पुजारी भट्टराई नै हुन् । भट्टराईका इतिहासहरू सबै सुन्न पाइयो । अझ राति भीष्म उप्रेती र तुलसीहरि कोइरालाले मेरो साथ दिनुभयो । अनेक साहित्यिक कुराहरू भए । उहाँहरूको कोठा मेरै छेउ थियो, आवत-जावतमा सजिलो ।

बिहान सबेरै सबै गोरखा दरबार हेर्न गए, म गइन पहिले हेरिसकेकाले । अनि उकालाको कारणले पनि । पछि थाहा भयो, जानेमा चन्द्रकला नेवार पनि हुनुहुन्छ । उहाँ मेरो कोठामा आउनुभयो, भारतको असममा उहाँले गरेको संघर्षको कथा निकै प्रभावकारी लाग्यो । नेपालको धर्ती टेकेपछि उहाँले यहाँको माटो निधारमा लगाएर आँसु झारेको बयान मन छुने खालको थियो । उहाँको त्यो पक्षका लागि मनमा श्रद्धाभाव पलाउँछ । हाम्रो काठमाडौं फिर्ने तयारी चल्न थाल्यो । मैले सम्झेँ र सोधेँ पनि । गोरखामा एक लेखक थिए, सुशीलचन्द्र श्रेष्ठ । उनको उपन्यासमा मैले भूमिका लेखेको थिएँ, गोरखा पुगेर विमोचन पनि गरेको थिएँ । उनले आज गोरखा छाडेमात्र होइन, एउटा मोटरसाइकल दुर्घटनामा परेर संसारै छाडे । अरूहरू भन्दै थिए- उनी हुँदा साहित्यमा यहाँ धेरै चहलपहल थियो । केही समय मैले उनलाई सम्झेर बिताएँ ।

काठमाडौंबाट केही अन्य युवती स्रष्टा पनि कार्यक्रममा सहभागी थिए, नाम थाहा नपाए पनि मैले तिनीहरूसित तस्वीर खिचाएँ । तिनका कविता सुनेँ, त्यही थियो आपसी परिचय । त्यो बेला सम्झेँ, गीता रेग्मी पनि त थिइन्, जसको कथा संग्रह मैले काठमाडौंमा सार्वजनिक गर्ने मौका पाएको थिएँ । उनी पनि गोरखाकै रहिछन् ।

बसबाट ओर्लने बेलामा एउटी केटी आइन् । केही कुरा गरिन् । अनि एक्कासी सोधिन्- ‘एउटा कुरा, सरको एज भने कति होला ?’

यस्तोमा म आफूलाई कि एक वर्ष कम, कि एक वर्ष बढी भनिरहेको हुन्छु । आइमाईको उमेर नसोध्नु भन्थे । मलाई लाग्छ, यो परिपक्व बेलामा अथवा वृद्धवयमा उमेर किन सोधिरहनु ? नजिकै एउटा वृद्ध बसेको छ, उसको उमेर के सोधिरहनु ? तर नहुने रहेछ । यसकारण म अहिले आफ्नो उमेर भन्न थालेको छु- ‘सिक्सटी प्लस त हो नि ।’ कि त प्रोक्सीमा मेरा एक चिनारू पत्रकार मित्रलाई देखाएर भनुँ- उहाँभन्दा निकै बढी । यसरी गोरखा यात्राजस्तै यो विचार पनि अविस्मरणीय रहयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *