
कोरोना महामारी मत्थर भएर अहिले फेरि बढ्दो ग्राफमा छ । अवश्य नै यो दोस्रो लहरको सुरुवाती चरण हो । अहिले कोरोनाको खोप लगाएकाहरुले दोस्रो पटक लगाएमा मात्रै त्यो प्रभावकारी हुन्छ ।
कोरोनाबाट त्रसित भएर, आतङ्कित भएर विश्वका प्रायः सबै देशहरुले लकडाउनले आफ्नो आर्थिक स्थिति धरासायी पारे । यसलाई हामीले चाहिनेभन्दा बढी चिन्यौँ । नेपाल यसबाट पनि अछुतो रहेन ।
अबको दोस्रो लहरमा हामीले धेरै नै सावधानी अपनाउनुपर्ने देखिन्छ । विश्वका अन्य देशमा चौँथो लहरसम्म फैलिएको उदाहरण हामी सामु साक्षी छन् । त्यसैले यसलाई हेलचेक्र्याँइँ गर्नु हुँदैन । भारतमा दोस्रो लहरले उग्र रुप लिइरहेको छ । त्यहाँबाट त्रसितहरु पहिले जस्तै नेपाल पसिरहेका छन् । यसलाई सही व्यवस्थापन गर्न सकिएन भने यसले ठुलो महामारीको रुप लिन कत्ति पनि बेर लाग्दैन । भनिन्छ नि “रोग लाग्नु भन्दा त्यसको कारणलाई नै आउन नदिने सावधानी अपनाउनु पर्छ ।” यसका लागि सदैव होशियारी हामी सबैमा हुनु नितान्त जरुरी छ ।
यसका लागि भारतको सिमा नाकामा कडाइ गर्नुपर्ने देखिन्छ । मास्क, सरसफाइ, सामाजिक दूरी कडाइका साथ पालन गर्नुपर्छ । विद्यालयलाई अनलाइनमै पढाइ गरिनु पर्छ । अनि विद्यालयको बचेको स्थानमा कोरोनाको क्वारेन्टाइनका लागि उपयोग हुनुपर्छ । सकेसम्म हरेक क्ुराहरु अनलाइनमै हुनुपर्छ । क्युआर कोडबाट पनि अनिवार्य कारोवार गर्न सकेमा कागजी माध्यमबाट सर्ने सम्भावना रहँदैन । तरकारी, खाद्यान्नहरुलाई पहिलेभन्दा बढी सरसफाइमा ध्यान दिनुपर्छ । विदेशबाट आएकाहरुलाई राज्यले राम्रोसँग जाँच गरेर नेगेटिभ भएपछि मात्र अन्य व्यक्तिसँग घुलमिल हुन दिनुपर्छ । बसहरुलाई जोर विजोर कदापि गर्नु हुँदैन यो पहिले कमजोरी भइसकेको छ । बरू अन्य क्षेत्रकाहरुले पनि लोकल गाडीहरु बढाउन सहयोग गर्नुपर्छ । बसमा एउटा सिटमा एकजना मात्रै राख्ने गर्नुपर्छ । त्यसका लागि भाडा समायोजन गर्नुपर्छ । जसले गर्दा जति बढी यात्रु भए पनि होलोसँग यात्रा गर्ने सुविधा हुन्छ । भिडभाडका कुराहरु राज्यले रोक्न निर्देशन दिए पनि कार्यान्वयन फितलो छ । नागरिकहरुले बेवास्ता गरिरहेका छन् । रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु बेश हो । यी सावधानी यदि अपनाइएन भने हाम्रो देशमा पनि कोरोनाको महामारीले विकराल रुप नलेला भन्न सकिन्न । चिन यसको सशक्त उदाहरण हो कि जहाँ कडा रुपमा लागु गरेकाले पहिलो चरण पछि महामारी आएको छैन जसले गर्दा अस्तव्यस्त पनि भएन ।
त्योभन्दा हामी सँस्कृतिका धनी देश हौँ । सँस्कृतिका कतिपय कुराहरु जस्तो कि मृतकको १३ दिन बार्ने चलन , जुठो नखाने चलन , हातखुट्टा धोएर अनि चढाएर खाने चलन अहिले हाम्रा लागि बरदान सावित भएका छन् । पश्चिमाहरुले सिक्नुपर्ने धेरै बाँकी छन् । अब हामीले गर्व गरेर मात्र हुँदैन । दैनिक जनजीवन अस्तव्यस्त हुन नदिन हामी पनि यी माथिका सबै सावधानी कडा रुपमा लागु गरौँ । यदि हामीले सावधानी अपनाएनौँ भने यसले हामीलाई पहिलेको लकडाउनले भन्दा बढी पिरोल्ने छ । तहसनहस पार्ने छ । केही पनि उपाय सुझिएन भने लकडाउनबाहेक अरू विकल्प पनि हुन्न । यसलाई बेवास्ता नगरौँ । अवश्य नै सबैले आआफ्नो ठाउँमा डटी सावधानी अपनाएमा हाम्रो जीवन हामी सबैले सु्रक्षित राख्न समर्थ हुनेछौँ ।
२०७७ चैत २४
बिजु सुवेदी विजय
