
बार्दलीबाट ठेलमठेल गरेर
कालो मुलायम केशलाई सुनौलो देखाइदिने
ती एक अम्खोरा प्रकाशका किरणहरुलाई हेर्छु
अनि
निला गगनमा चन्द्रमा टिप्न उडेका एक हुल चराका बथान देख्छु
कहिले पूर्व कहिले पश्चिम कहिले उत्तर त कहिले दक्षिण
कहिले हाँस्दै फिर्र फिर्र रमाउदै
प्रेमिल वातहरुको बुइ चढेर
अञ्जुली अञ्जुली बादल छर्दै
मेरा समिपमा आई
मलाई जिस्काउछ्न
मलाई उक्साउछ्न
मलाई तर्साउछ्न
अनि मलाई झस्काउछ्न
पहेलै फुलेको तोरीबारीमा नाचेका माहुरी को सङ्ख्या गन्दै
लालुपाते र लालीगुराँसमा झुम्मिएका पुतली देखाउदै
फेरि एक हुल कोइली झ्याउरे भाका सुनाउदै
चिसा सिरेटोको झोक्काले मलाई फकाउछ्न
धानका बाला चुम्न फुस्स फुस्स झरेका शीतका थोपाहरुले साउती मार्दै
शिशिरको त्यो उराठलाई कोमल पालुवा दिने वसन्तले काउकुती लगाइदिदा
म हाँस्छु वा निसासिन्छु
अबोध जुनकीरीहरू मेरो पथ देखाउन त पहिला कि म पहिला को होडबाजी गर्छ्न
बादलको च्यादर खोलेर हेर्न नसक्ने म जुनकीरी सँग कसरी मिसिने होला ?
अनि फेरि ढुक्क भएर सोचे
बाटो देखाउने जुनकिरिले कहिल्यै कुनै कमिसन लिदैन
साउती मार्ने शीतका थोपाले अनर्गल कहिल्यै बोल्दैन
काउकुती लगाउने वसन्तमा कुनै स्वार्थ छैन
कोइलीले गाएको कुनै पारिश्रमिक दिनु पर्दैन
रच्छ्यानमा जुठो खान आएको कुकुर सिमानाको सिपाही झै गर्जियो
घनिभुत तृण रातमा पनि ऊ आफ्नो बफादार पस्किदै छ
मेरा आँखा लोलाउन लागे
तर मेरा चाहनाले चाँदी जस्तै टल्किने एक पाथी हिउँ टिप्न मन लाग्यो
अब मलाई पनि हिमनदी झै बग्न मन लाग्यो
तर अह म त मानव हु
बिना स्वार्थ कसरी म बग्न सक्छु र !
मेरा नाफा र घाटाका फाइलले कम्प्युटर को एउटा फोल्डर भरियो
एक मुठ्ठी अँध्यारोले मेरा आँखा तिर्मिराए
अब यो अँध्यारो पखाल्न गौथली आइनन
बनचरिले कुनै पिरती र बिरहका भाका हालिनन
हत्केला भरी मागेको इन्द्रधनुष बेसाक्षी भए
वर्षा ऋतुले हेर्दै नहेरी मखमलीलाई ओठ लेप्र्याउन लगाइन
अब बिस्तारै म भित्रको चेतना बोल्न खोज्न थाल्यो
केही कुरा ओकल्न खोज्न थाल्यो
मोहन ए मोहन
कर्कलाको पातबाट झर्दै गरेका पानीले बोलाउदै थिए
होली खेल्न लागेका हावाका स्पन्दनहरू सुस्क्याउदै थिए
हरिया बोट माथि निलो चन्द्रमा र कालो घाम मुस्कुराउदै थिए
हरि भित्रको हरिले परेड खेलेको पदचाप सुन्दै थिए
वेदका ऋचाहरुले होमादि गर्दा निस्केका श्लोकहरू यत्र तत्र गुञ्जिदै थिए
चेतना बिस्तारै बिस्तारै शून्य शून्य हुँदै गए
म बग्दै गए म बग्दै गए अनि बग्दै गए ।
