Skip to content


गोपाल योञ्जन बितेको १३ वर्ष लागेछ । आजीवन नेपाली संगीतका नयाँनयाँ मोड र घुम्तीहरूको चिन्तनमा उनले सिर्जना गरेका आधुनिक संगीत र राष्ट्रिय गीतले उनलाई आज पनि सम्झाइरहन्छ ।
उनका सदाबहार संगीत सुनेर सम्मोहित नहुने पुस्ता छैन । आजको पुस्ता पनि उनको सिर्जनासँग पराजित छ । तर, गोपाल योञ्जन भन्ने व्यक्तिलाई चाहिँ आजको व्यस्तताले भुल्दैछ कि भन्ने अनुभव हुन थालेको छ । यस विस्मृतिको घडीमा हामीले उनलाई सम्झिने कोसिस गर्‍यौँ । गोपालका अनन्य साथी नगेन्द्र थापा, गोपालकी पत्नी रेन्छिन र उनका पछिल्ला मित्र विश्वम्भर प्याकुर्‍यालसँग बसेर गोपालका जीवन र सिर्जनाका बारेमा पालैपालो पन्ना पल्टाउने जमर्को गर्‍याँै ।
नर्थप्वाइन्ट कलेजबाट जिउँदो भ्यागुतो फालेर नभागेका भए सायद गोपाल योञ्जन यति जीवन्त सर्जक बन्ने थिएनन्, सम्भवतः सर्जन बन्थे । तर, उनी सधैँ आफ्नो मनकाे प्रतिध्वनि सुनेर हिँडे, मानिसको चिरफार गर्ने चिकित्सकको साटो उनी महान् संगीतकार बने । संगीत उनको अन्तरध्वनि थियो । उनी गभर्मेन्ट कलेजमा पढ्दा नै राम्रो संगीतकार भइसकेका थिए । “गोपाल बेजोड प्रतिभा थियो,” उनका अनन्य र पारविारकि मित्र गीतकार नगेन्द्र थापा गोपालसँगको भेटको प्रसंग कोट् याउँछन् । उनीहरू एउटै कलेजमा पढ्थे तर गोपालसँग त्यति आत्मीय भइसकेका थिएनन् । एक दिनको कुरा हो, कारणवश कुनै कक्षा चलेन र सबै घाम ताप्न बाहिर निस्के । त्यहीबेला एक जना बंगालीले रेटेर बजाउने एकतारे डुलाउँदै आयो । गोपालले त्यसको हातबाट त्यो लिएर भाइलिन बजाउने शैलीमा यति मार्मिक धुन रेटे, त्यो सुनेर नगेन्द्र मन्त्रमुग्ध भए । “म त्यही क्षण गोपालको फ्यान भएँ,” नगेन्द्र भन्छन्, “गोपालको संगीतमा जादू थियो । ” उनी थप्छन्, “ऊ बाँसुरीको त ओस्ताद नै थियो, त्यसबाहेक भाइलिन, तबला, हार्मोनियम मात्र होइन, जुनसुकै बाजा पनि त्यत्तिकै कुशलतासाथ बजाउँथ्यो ।”
गोपालका हरेक गीतमा मौलिक पृष्ठभूमि हुन्छ । कोरा कल्पनामा कथिएका हुँदैनन् उनका गीतहरू । उनकी धर्मपत्नी रेन्छिनले यो कुरा बुझेकी छन् । “त्यसबेला भारत-पाकिस्तान युद्ध चरममा थियो,” रेन्छिन भन्छिन्, “देशले रगत मागे मलाई बलि चढाऊ त्यही पीडालाई लिएर उहाँले लेख्नुभएको हो ।”
नगेन्द्र र गोपालबीच नङ-मासुजस्तो अन्योन्याश्रतिता थियो । दार्जीलिङको पढाइ सकेर नगेन्द्र काठमाडौँ आए र त्रिभुवन विश्वविद्यालयमा भर्ना भए । तर, उनलाई गोपालको अभाव सीमातीत खड्किन थाल्यो । गोपालबिनाको जिन्दगी पनि के जिन्दगी ? उनलाई सारै निःसारजस्तो लाग्यो जगत् नै । अनि झिकाएका हुन् उनले गोपाललाई पनि नेपालमा । गोपाल नेपाली विषय लिएर अध्ययन गर्न थाले । तर, यहाँ आएपछि पनि गोपालभित्रको मान्छेले शान्ति पाएन । दार्जीलिङ हुँदा बंगालीहरूले ‘गोर्खा’ भनेर हेप्ने प्रवृत्ति यहाँ आएर पनि सकिएन । त्यहाँ त्यो हेपाइविरुद्ध उनले लेखेका थिए, “म आगो सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न ः मेरो शिर उडाऊ बरु त्यो सहन्छु तर शिर परायाले टेके सहन्न ।” नेपाल आएपछि त भातृत्वपूर्ण स्नेह र सद्भावको अपेक्षा गरेका थिए । तर, पाए ‘प्रवासी’को पगरी । अनि, उनीभित्रको विद्रोह गीत भएर उम्लिन थाल्यो, संगीत बनेर पोखिन थाल्यो र स्वर भएर उर्लिन थाल्यो । रेन्छिन् सम्झन्छिन्, “यसरी जन्मियो यो हृदयस्पर्शी गीत, भनि दे नेपाली दाइ ! मेरो देश कहाँ पर्‍यो ?”
“नेपाल आएर पनि गोपालले सुख पाएनन्,” रेन्छिन विगतको पन्ना पल्टाउँछिन्, “नगेन्द्रलाई म भनिरहन्थेँ तपाईंले नेपाल त ल्याउनुभयो तर हामीले खै के पायौँ ?” यद्यपि, नगेन्द्र थापा देशको प्रधानमन्त्री भइसकेको व्यक्तिका भाइ थिए तर त्यसबेलाको शासनका अगाडि उनले पनि घुँडा टेके, केही गर्न सकेनन् । यही लाचारीको अभिव्यक्ति थियो, २०२७ भदौको धूपीमा प्रकाशित उनको त्यो लेख, जहाँ उनी यसरी पोखिएका थिए, “…तिम्रो सिर्जनाको निकास हुने ठाउँ रेडियो नेपाल र सांस्कृतिक संस्थान हुन्, जहाँ तिमीहरूलाई प्रवेश निषेध छ । …गोपाल ! मलाई साथी सम्झेर माफ गर । तिमीलाई मैले काठमाडौँ लिएर आएँ तर अहिलेसम्म केही गर्न सकिनँ । इज्जतसँग राख्न सकिनँ, दुई छाक टार्ने बन्दोबस्त पनि मिलाउन सकिनँ ।”
“उहाँ नेपाल भनेपछि हुरुक्क गर्नुहुन्थ्यो,” गोपालपत्नी आज पनि सम्झन्छिन्, “यहाँ आउँदा उहाँ सारै खुसी हुनुहुन्थ्यो । आफ्नो हृदयले रोजेको ठाउँमा आइपुगेँ भन्नुहुन्थ्यो । ” तर, रेडियो नेपालले उनलाई आफन्त ठानेन, ‘प्रवासी’को बिल्ला भिराएर ‘प्रवेश निषेध’ गरििदयो । नारायणगोपाललाई पनि ढिम्किन दिएन । आफ्नो माटो, नेपालमा उभिएर सिर्जनाका केके न बाली फलाउँछु भनेर गरेका उनका सारा कल्पनाहरू तुहिए । एक दुइटा रेकर्ड भएका गीतका पारश्रिमिक पनि त्यहीँका मान्छेले सही गरेर चप्काइदिए ।
यस पृष्ठभूमिमा उनीभित्रको सर्जकले विद्रोह बोल्यो । उनले गीत लेखे, संगीत भरे र नारायणगोपालले गाए । यसरी,
मेरो गीत म उभेको धूलोले सुनोस्
मेरो गीत यहीँको चुपचापले सुनोस्
मेरो गीत सुन्दैन कोही भने
आकाश, बतासले सुनोस् ।
गोपालले हातमुख जोड्ने क्रममा सेन्ट मेरजि, सेन्ट जेभियर्स, पद्मकन्या कलेज, महेन्द्र पुलिस क्लब आदि ठाउँहरूको चक्कर लगाए । हरेक ठाउँले उनको संगीतमा नौलो आयाम र अनुभव थपे । स्कुलहरूमा नानीहरूलाई संगीत शिक्षा दिनुपथ्र्यो तर केटाकेटीका गीत थिएनन् । उनले बालगीत र संगीत सिर्जना गरे । पद्मकन्यामा लोकसंगीत पढाउनुपथ्र्यो, त्यसैले गीतकार चेतन कार्कीको सहयोगले यसको ज्ञान हासिल गरे । पुलिस क्लबमा लोकनाचका लागि ठेट लोकशैली सिके । उनी घटना, अवस्थासँगै कहिलेकाहीँ पात्र-पात्रालाई हेरेर पनि गीत रच्थे । यसको उदाहरण छ, रन्िछेनसँग । अभिनेत्री मिथिला शर्मालाई पहिलोपल्ट महेन्द्र पुलिस क्लबमा देख्दा गोपाललाई यस्तै भयो । उनी १२ वर्षकी थिइन् । रेन्छिन भन्छिन्, “पहिलोपल्ट मिथिलालाई देखेर उहाँ मोहित हुनुभयो । ” मिथिलाको निश्छलपना, किशोरीसुलभता र रूप-सौन्दर्यले गोपालको कविहृदयलाई मज्जाले चिमोट्यो अनि जन्म्यो यो गीतः
मखमली चोली चाहिँदैन
रेशमको फरयिा चाहिँदैन
नाकैमा फुली नि, कानैमा ढुंग्री चाहिँदैन, मलाई चाहिँदैन
म त सानीसानी पहाडकी नानी
चोखो छ मेरो जवानी ।
यस गीतको प्रसंगमा मिथिलाको पनि आफ्नै अनुभव छ । पुलिस क्लबमा नाच्नेहरूमा तीन जना किशोरीहरू थिए, मिथिला, सुलोचना राणा र शारदा गुरुङ । यस गीतमा तीन कन्याहरूको शारीरकि मापदण्ड विचारेर तीनथरी मादलहरूको प्रयोग गरएिको छ । “म अलिक मोटी थिएँ, त्यसैले मैले घुम्ने बेलामा ठूलो मादल बजाइन्थ्यो, त्यसपछि शारदा र सुलोचनाले घुम्ने बेलामा मझ्यौला र सानो मादल बजाइन्थ्यो । ” अर्थात् ज्यान अनुसारको मादल बज्थे गीतमा । यो थियो गोपालको स्वैरकल्पना ।
गीतकार विश्वम्भर प्याकुर्‍याल गोपाल योञ्जनमा संगीतका सबै पक्ष जीवन्त भएको स्वीकार्छन् । “गोपाल लक्षित समूहलाई विचार गरेर गीत जन्माउँथे,” भन्छन्, “उनको क्षमता भनेको कुनै पनि उमेर र विधाको संगीतले मागेको मर्मलाई मन लुट्ने गरी प्रस्तुत गर्नु नै हो ।” उनी कालान्तरसम्म नमर्ने र हरेक पुस्ताको हृदयमा बास गर्ने संगीत उमार्न चाहन्थे । श्रीमती योञ्जन र प्याकुर्‍याल दुवै सम्झिन्छन्, “यसैका लागि पछिल्लो समय गोपाल संगीतलाई अनुसन्धानमा ढालेर यसको मर्म बुझ्न र बुझाउने प्रयत्नमा थिए । यसैको परण्िाामस्वरूप जन्मेको हो, गोपालय । ” गोपालयबाटै उनले निशानी ५२ नामक एल्बम उत्पादन गरेको बताउँछिन् रेन्छिन । यो एल्बम गोपालको त्यही सोचाइको नमुना थियो । कसरी ? प्याकुर्‍याल भन्छन्, “गोपाल एउटै एल्बममार्फत सबै रुचि र स्वादका श्रोताहरूको धीत मेट्न चाहन्थे । यसमा राष्ट्रिय, रुमानी र सामाजिक जागरणका गीतहरू समेटिएका छन् । ” प्याकुर्‍यालका अनुसार गोपाल साहित्य र संगीतलाई अनुसन्धानको कोलमा हालेर चोटिलो वस्तु निकाल्न चाहन्थे । र, रेन्छिनका अनुसार पनि गोपाल आफ्ना संगीतमा समग्र नेपाली संस्कृतिलाई अभिव्यक्त गर्न र त्यसमार्फत हाम्रो संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न चाहन्थे ।
नेपाली संगीतको यो गिर्दो अवस्थामा गोपाल योञ्जनको अभाव साँच्चि नै खड्किरहेको छ । उनी हुँदा हुन त ? सायद कालान्तरसम्म यो प्रश्न हामीमाझ उभिइरहने छ ।

गोपाल र नारायण
गोपालका कुरा गर्दा नारायणको प्रसंग बिर्सन सम्भव छैन । नारायणगोपालले गोपाल योञ्जनलाई र गोपाल योञ्जनले नारायणगोपाललाई प्रसिद्धिको शिखरमा टेकाए । दुवैलाई मिसाउँदा यिनले नेपाली संगीतलाई सगरमाथाको उचाइ दिए । तर, एउटा समयमा पुगेर यी दुईको सम्बन्ध धमिलियो । संवादका सम्पूर्ण पक्षहरू अवरुद्ध भए । यसको मुख्य कारण बनाइए यिनका पत्नीहरू, नारायणकी पेमाला र गोपालकी रेन्छिनलाई । सारै नजिकका नगेन्द्र थापा पनि यसको खास कारण बताउन सक्तैनन् । र, आज नारायण, गोपाल र पेमाला त हामीमाझ छैनन् । यस अवस्थामा यसको चुरो कुरो बताउन सक्ने एक मात्र पात्रा हुन् गोपालपत्नी रेन्छिन । के हो त कारण  ? यस प्रश्नको जवाफमा उनले भनिन्, “हामी श्रीमतीहरूलाई यसको कारक भनिन्छ । भलै हामीहरूबीच राम्रो थिएन होला तर त्यस्तो नराम्रो पनि थिएन ।” कारण के हो त मित्रता भंग हुनुको  ? “इगो अर्थात् अहम्,” उनी भन्छिन्, “यो कान्छी चलचित्रको रेकर्डिङ्बाट सुरु भएको हो ।”
अहम्ले मानिसलाई कति निष्ठुर मोडमा पुर्‍याउँदो रहेछ ? गोपाल र नारायणको अहम् को त्यस रापबाट आज नेपाली संगीतले त्यही तिक्तता अनुभव गररिहेछ ।

नेपाल साप्ताहिक ३४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *