वरपरका पहाडहरूलाई हेर्दा त्यस्तो साह्रै केही पनि बदलिएको छैन । कालो तुवाँलोले हम्मेसी ढाक्दैनथ्यो उपत्यकालाई । खाल्डोलाई घेरेर बसेका उत्तरतर्फका मध्यम अग्लाइका पहाडको टुप्पोमाथि कतै अलिकति पनि तुवाँलो देखियो भने मानिसहरू सहरवस्तीमा रोग आउने भयो भनेर चिन्तित हुन थाल्दथे । पहाडको टुप्पोमा तुवाँलो होइन, भ्रम हुन्थ्यो मानिसका आँखामा । त्यो उचाइलाई कालो तुवाँलोले होइन चीसो र सेतो कुहिरोले ढाकेको हुन्थ्यो । सहर जतिजति फराकिलो हुँदै जान्थ्यो त्यति त्यति तुवाँलो बाक्लिदै जान्थ्यो । अहिले धेरै बदलिएको छ । पहाड देखिँदै देखिँदैनन् । अग्ला घरहरूले ढपक्क छोपेका छन् पहाडलाई । पहाड पुड्को भएको भ्रम फैलिएको छ चारैतिर । आँखाले भ्याएसम्म पर जता हेरे पनि मानिसको कोलाहल मात्र सुनिन्छ । कोलाहलमा सङ्गीत र शोक दुवै मिसिएको छ ।

राजाकी रानी यस्तै अठार कि बीसकी थिई यो घरमा पस्दा । मात्र दुई वर्षले खासै फरक पार्ने त होइन । तै पनि, उसलाई औंला भाँचेर वर्षको हिसाब गर्न रमाइलो लाग्दछ । मनैमनमा अङ्कहरू केलाउँदै आफैँसँग भीडन्त गर्छे । होइन, अठारकी । होइन, बीसकी । बेलाबेलामा भ्रम हुन्छ । उमेर भनेको भ्रम नै त हो । अठार वा बीस, जुन उमेरमा पसेकी भए पनि त्यसले के फरक पार्छ र अहिले ? त्यसो त ऊ यो घरमा पसेकी पनि त होइन । उसले पाइला टेकेको घर भत्किइसकेको छ । त्यो घर बाँके थियो । एकातिर दुई कोठा र अर्कोतिर दुई कोठा । कहिलेकहीं झसङ्ग पार्छ परिवेशले । ऊ यहाँकी स्थायी बासिन्दा भएर आउँदा यस्तो बाक्लो वस्ती कहाँ थियो र यतातिर ? कहिलेकहींँ साँघुरो कुमारी गल्ली छिचोलेर पशुपति मन्दिर जाँदा ऊ बाटामा पर्ने ढुङ्गेधारा देख्दछे । ढुङ्गेधाराले ओगटेको फराकिलो ठाउँ खुम्चिँदैखुम्चिँदै गएको छ । ढुङ्गेधाराका छिमेकीहरूले साँध मिचेका छन् । धारा खुम्चिएको छ ।

ऊ जहिले पनि त्यो बाटो हिँड्छे, धारा उसको अतीत बनेर उभिन्छ । उसले यो धाराबाट असङ्ख्य पटक पानीका असङ्ख्य गाग्री काखी च्यापेर घर पुर्‍याएकी छे । दुःख पाएर होइन, आवश्यकताले । जताततै खानेपानीको पाइप आविष्कार नभएको जमानामा पनि प्यास त लागि हाल्दथ्यो मानिसलाई । उसको राजा धाराबाट पानीको गाग्री काँधमा हालेर ल्याउनेखालको थिएन । कपालमा व्रायल क्रिम लगाउँथ्यो, जुल्फी कोर्थ्यो र ठाँटिएर कलेज जान्थ्यो । ऊ पनि पानीको गाग्री उचाल्न नसक्ने ज्यानकी थिइन । मेजर साहेबकी छोरी । शान र रवाफमा हुर्किएकी थिई ऊ । उता, उसले कहिल्यै यसरी गाग्री उचाल्नु परेको थिएन । तै पनि, उसको मनमा कुनै खेद र दुःख गडेको थिएन ।

त्यो समय पनि अलि अर्कैखालको थियो । विद्यार्थी आन्दोलनको चर्चा सुने पनि राजाकी रानीले नारी आन्दोलनको कुरै सुनेकी थिइन । उसले मङ्गलादेवी सिंह र शैलजा आचार्यको नामै सुनेकी थिइन । साहना प्रधानले पद्मकन्यामा पढाउँछिन् भन्नेसम्म सुनेकी थिई । साहना कम्युनिस्ट नेताकी पत्नी हुन् भन्ने सुनेकी थिइन । बिहे नहुँदासम्म एसएलसी पास गरेर पद्मकन्यामा पढ्न जानुपर्छ भनेर सोचेकी थिई । बिहे भैसकेपछि पद्मकन्या जानुपर्ने आवश्यकता नै परेन । उसको राजा नारी आन्दोलनको कथा पढ्दथ्यो । उसको कोठामा उसको राजाले पढ्ने पत्रपत्रिकाका चाङ हुन्थे । त्यही चाङमा रहेको एउटा अङ्ग्रेजी पत्रिकाको कभरमा उसले नारी मुक्ति आन्दोलनकी नेतृ ग्लोरिया स्टेनमको तस्बिर देखेकी थिई । पत्रिकाको नाम आक्कल-झुक्कल ऊ अहिले पनि सम्झिन्छे । न्युजविक । एक साँझ उसको राजाले ती आइमाईका बारेमा बताएको थियो । ती आइमाईको देशका बारेमा पनि बताएको थियो । अमेरिका – त्यो कस्तो देश होला ? घरमा भित्रिएको दुई महिनापछि नै उसको महिनावारी रोकिएको थियो । त्यसपछि उसले पत्रिकामा छापिएको तस्बिर देख्न मात्रै छाडेकी होइन, अङ्ग्रेजी र नेपाली वर्णमालाका सबै अक्षरहरू पनि चिन्न छाडेकी थिई ।

उदेक लाग्दछ उसलाई । भर्खरै देशको एउटा सहरमा नारी आन्दोलनमा लागेका केही महिलाले एउटी अर्की एक्ली महिलामाथि दुराचारको आरोप लगाउँदै उनको हुर्मत लिएका छन् । घटना टेलिभिजनमा देखेपछि राजाकी रानीको आँखामा ग्लोरिया स्टेनमको तस्बिर अचानक टल्किन थालेकोछ । हुर्मत लिइएकी ती महिलाले त्यसरी सार्वजनिक रूपमा आफ्नो इज्जतको लिलाम भएको सहन सकिनन् । घाँटीमा पासो लगाएर मरिन् । सबै टेलिभिजनहरूले उनको लास देखाए । दृश्यहरू लगातार हेर्दाहेर्दै राजाकी रानीको आँखामा आँसु रसाए । उसलाई लाग्यो, टेलिभिजन पनि मानिसका लागि खुसीभन्दा बढी त दुःख नै हो । व्यर्थको दुःख । हिजोआज त गीतहरू पनि दुःखी हुन थालेका छन् ।

स्टेनमको त्यो देश कस्तो होला ? तीन दशक बितिसकेपछि मात्रै तीन दशकदेखि त्यो देशका वारे मनमा उठेको जिज्ञासा र उत्सुकता मेटिएको थियो उसको । आफ्नो राजाको हात समाएर ऊ अमेरिका पुगेकी थिई । त्यहाँ पुगेर ग्लोरिया स्टेनमको घर कता छ ? भनेर सोध्ने इच्छा पनि जागेको थियो । धेरै ठूलो भीडभाडमा पुगेपछि मानिसले धेरै कुरा बिर्सिने गर्दछ । उसले पनि बिर्सिइछ अन्यथा, उसलाई ठिकठिकै लागेको थियो त्यो देश । एउटा कुरा भने ताज्जुब नै लागेको थियो उसलाई । आँखाले छिचोल्न नसक्ने अग्ला घरका बीचमा पनि सहरमा बस्ने मानिसको आकार कतै होचिएको थिएन । टि्वन टावरको विनास उसले टेलिभिजनमा देखिसकेकी थिई । उसको राजाले त्यो ठाउँ पनि देखाइदियो जहाँ कुनैवेला टि्वन टावर जीवित थियो । अमेरिकाको सबैभन्दा अग्लो, चुलिएको सभ्यता । टि्वन टावरको विनासपछि अग्लो अमेरिकी सभ्यता धानेको एम्पायर इस्टेट बिल्डिङ पनि चढी उसले । विभिन्न देशबाट आएका रङ्गीचङ्गी मानिसहरूको लामो लाइनमा उभिएर सुरक्षा जाँच गराई । माथि उचाइमा पुगिसकेपछि भने उसलाई खासै त्यस्तो केही लागेन । अग्ला घरहरूको टुप्पोमा पुगेर हेर्दा पनि न्युयोर्क सहर उस्तै देखिएको थियो । एम्पायर स्टेट बिल्डिङबाट निस्किएर स्टेच्यु अफ लिवर्टीलाई छोएपछि भने राजाकी रानीले उसको राजालाई पनि उछिनी । उसको राजा अनेक पटक अमेरिका आएर पनि स्वतन्त्रताको त्यो प्रतीकलाई छोएको थिएन ।

राजाकी रानी चालीस वर्षअघि पनि राम्री थिई । हात-पाखुरा बराँठिएका थिए । छरितो थियो शरीर । शृङ्गार सामान्य मात्रै गर्दथी । कपाललाई बीचबाट चिरेर सिउँदो निकाल्थी र सिँदुर हाल्थी । कहिले छुस्स पातलो र कहिले निकै बाक्लो । आँखामा अलिकति गाजल लाउँथी । त्यसपछि ऊ सारै सेक्सी देखिन्थी । अहिले पनि उत्तिकै राम्री छ र पनि उसलाई आफू नराम्री हुँदै गएको त होइन ? भन्ने भ्रम छ मनमा । खासै केही बदलिएको छैन । यत्ति हो कि कपाल पन्ध्र पन्ध्र दिनमा बनाउनै गर्नै पर्दछ । छाला पहिलेजस्तो कस्सिएका छैनन् । चाउरीले ढाकिएका पनि छैनन् । पाखुरामा बल छैन । बलको ठाउँमा राजाकी रानीको अझै बलियी छु भन्ने भ्रम मात्र थुपुक्क बसेको छ ।

राजाकी रानीलाई थाहाछ, उमेर भ्रम भए पनि जीवन सबैभन्दा ठूलो सत्य हो । यो सत्यलाई उसले पाइला पाइलामा भोगेकी छ । गाउँको स्कुलमा सूर्यमान सरसँग पढेकी थिई उसले । दशकक्षा पास गरेपछि एक डेढ वर्षसम्म प्राइमरी शिक्षकका रूपमा पढाएकी पनि थिई । बिहे भएपछि पढ्ने-लेख्ने कामको जिम्मा उसको राजाले लियो । ऊ टुकीको उज्यालोमा रातरातभर पढ्थ्यो । घरमा सासू र बुहारीको भूमिकामा ऊ एक्लै थिई । गाईको भकारो पनि सोहोर्थी । उसको राजा अक्सर साँझ पिएर आउँथ्यो र कोठामा छाद्थ्यो । कुनै गुनासो नगरी ऊ त्यो पनि सोहोर्थी । कस्तो बदमास थियो उसको राजा । राजाकी रानी बेलाबेलामा पुराना तस्बिरहरू केलाउँछे । उसको राजा अमेरिकामा पढ्दाका तस्बिरहरू । समुद्रको किनारामा कट्टूमात्रै लगाएका केटीहरूसँग खिचेका तस्बिर । उसलाई रमाइलो लाग्दछ, जतिसुकै वदमास देखिए पनि उसको राजाले आफ्नो मायामा चुर्लुम्म डुबाएको छ उसलाई । जवानीका दिनहरूमा उसको राजाको चर्तिकलाका कथा सुनाएर धेरैले भड्काउन नखोजेका होइनन् उसलाई । त्यस्तो कथाले ऊ कहिल्यै प्रभावित भइन । कागहरू कराउँदै गर्दथे, ऊ आफनो गृहस्थीको बिस्कुन सुकाउँदै गर्दथी ।

घरको आँगनमा थियो हलुवावेदको बोट । त्यसको छेउमा उसको राजाले बल्ल-तल्ल रुपियाँको जोहो गरेर एउटा धारो गाडी दिएपछि उसले ढुङ्गेधाराबाट पितलको गाग्रीमा पानी ओसार्न परेको थिएन । सम्झेर ऊ फिस्स हाँस्छे । अहिलेका ठिटाठिटीहरू हलुवावेदभन्दा बुझ्दैनन् । आलुचा र आलुवखडा पनि बुझ्दैनन् । नासपाती पनि बुझ्दैनन् । खुर्पानी, ऐँसेलु र आल्चा त झन् बुझ्दै बुझ्दैनन् । राजाकी रानीको नातिले त ए माने एप्पल मात्रै भन्न जानेको छ । जे माने ज्याकफुट भन्छ । क माने काफल भन्न जानेको छैन, अ माने अमला त झन् थाहै पाएको छैन । राजाकी रानीलाई थाह छैन ज्याकफुट कस्तो हुन्छ ।

के भएको होला यो संसार ? राजाकी रानी कहिलेकहींँ त छक्क पनि पर्छे । परिवर्तन हुँदैमा मानिसको व्यवहार पनि यति सारो बदलिनु पर्दछ र ? तर बदलिएको छ । उसले केही गर्न पनि त सक्दिन । आफैँ पनि कति बदलिइसकेकी छ ऊ । दुई दशक अघिसम्म पूजाकोठामा मुश्किलले पाँच मिनेट लगाउँथी । अहिले पक्का सनातनी हिन्दू नारी भएकी छे । तीन घण्टा त सजिलै बिताउँछे पूजाकोठामा । साताको तीन दिन ब्रत बस्दछे । महिनामा सातदिन लश्करै निराहार ब्रत बस्ने उसको सासूजस्तै । मनबहादुर डाक्टरले उसको शरीरमा उच्च रक्तचापको सङ्केत फेला पारेर भोको पेट नबस्ने सुझाव दिएपछि ब्रत बस्ने कुरामा अलिकति उदार भएकी छे । उसले सासूसँग साथ-सङ्गत गर्न पाइन । पन्ध्र दिन पनि सँगै बस्न पाइन । अन्तिम अवस्थामा घर आउनु भएकी सासूको केही दिन सेवा गर्ने मौका पाए पनि त्यो कारुणिक अवस्था थियो । आठ-दस दिन घरमा राखेर उसको राजा आमालाई लिएर दिल्ली पुगेको थियो । त्यसको चारदिनपछि वनारसमा उसको सासूले देहत्याग गर्नुभएको थियो ।

सासूसँगै बस्न नपाए पनि सासूको सबै धार्मिक र सामाजिक संस्कार उत्तराधिकारमा सम्हालेकी छे उसले स्वतःस्फूर्तरूपमा । उसलाई कसैले सिकाउनु परेन । पितृहरूको पूजा र सम्मानमा ऊ वढी नै संवेदनशील छ । उसका आफ्नै कुनै सांस्कारिक र धार्मिक आग्रह छैनन् । जानेसम्मका ईश्वरको आराधना गर्ने र पाएसम्मका मन्दिरमा भक्तिपूर्वक धाउने वानी छ उसको । आफूले सुनेका हरेक तीर्थयात्राको अभिलाषा राखे पनि उसको आफ्नै चयनका कुनै तीर्थस्थल छैनन् । पोखरा पुगेका बेला विन्ध्यवासिनी र तालवाराहीको दर्शन गर्छे । देशभित्र वराहक्षेत्र पुगेकी छैन ऊ । डोल्पाकी त्रिपुरासुन्दरीको बारेमा उसलाई कसैले सुनाएका छैनन् । त्यहाँ उसका आफन्त पुगेका पनि छैनन् । आफन्त र साथी सङ्गाती पुगेको ठाउँमा उसलाई पुग्नै पर्दछ । गङ्गासागर पुगेर आएकी उसकी बहिनीले विकट यात्राको वर्णन गर्दै तँ त्यो ठाउँमा जानै सक्दिनस् भनेर चुनौतीको भाषा बोलेपछि उसको मनले त्यहाँ नपुगी नछाड्ने अठोट गर्‍यो । उसको राजाले त्यो अठोटलाई बोल्नासाथ पूरा गरी दियो । ऊ बडो सुविधाजनक हिसाबले हिमालयबाट बहँदै आएका नदीहरूको त्यो विशाल सङ्गमस्थलमा पुगी । मध्यरात बाह्र बजेपछि गङ्गासागर स्नानको साइतमा ऊ उसको राजाको हात चपक्क समाउँदै समुद्रको किनारामा पुगी । नदीको सङ्गमबाट उठेका उत्ताल छाल ऊतिर बढ्दै आएपछि निकै डराएकी थिई । छालले एकपटक सर्वाङ्ग भिजाइदिएपछि मोक्ष प्राप्तिको असीम आनन्द लिएकी थिई उसले ।

केही वर्षदेखि ऊ शाकाहारी बनेकी छे । तै पनि, दसैंँको अष्टमीमा मासु पकाउन छाडेकी छैन । जवानीको अन्तिम प्रहरसम्म पनि दसैँमा खुब मासु खान्थी । रमाइलोका लागि अष्टमीको दिन घरको सवै कामकाज सकेर एक बोतल बियर पनि पिउँथी । उसको राजालाई उसले पकाएको कवाब खुब मन पर्दथ्यो । अहिले त उसको राजा पनि शाकाहारी बनेको छ । आफू शाकाहारी भए पनि छोराहरू र विजय बाबुका लागि मासु पकाउँछे । विजयकुमारलाई भाउजूले पकाएको मासु खुब मीठो लाग्दछ । अष्टमीको दिन आएर भाउजूले पकाएको कवाब नखाई विजयकुमारको चित्तै वुझ्दैन । भाउजू विजयकुमारलाई माया गर्छे । उसको कार्यक्रम आउने दिन छ भने दस मिनेट अगाडि नै टेलिभिजन आफ्नो नियन्त्रणमा राख्छे । त्यसो त उसको यो घरमा आएर उसले पकाएको कवाब धेरैले खाएका छन् । तीमध्ये धेरैलाई ऊ अचेल टेलिभिजनमा विभिन्न अवतारमा देख्दछे । ती सवैले उसलाई चिन्न छाडिसकेका छन् । उसले पनि विजयकुमार बाहेक अरूलाई चिन्न छाडिसकेकी छे । विजयकुमार मात्र आउन छाडेको छैन दुःखमा पनि र सुखमा पनि । यो घरमा जुनसुकै बेला आउने र जाने विजय बाबु मात्रै हो ।

घरेलु जीवनका सुरुआती दिनहरूमा राजाकी रानीको मनमा कुनै रहर नै थिएन जस्तो लाग्दथ्यो । उसको राजा दिनभरि हराउँथ्यो, कहिलेकहींँ त रातभरि पनि हराउँथ्यो । छोराछोरी हुर्काउनुभन्दा पनि उसको राजाको उद्देश्य र आकाङ्क्षालाई सघाउनु मुख्य कर्तव्य मान्थी ऊ । त्यसमा ऊ आफ्नै हिसाबले सफल भएको सोच्दछे अहिले । उसका मनमा दवेका रहरहरू सबै पूरा भएका छन् भने पनि हुन्छ । पहिलो पटक भारतका पाँचवटा सहरहरू घुम्दा उसलाई काठमाडौँभन्दा धेरै विशाल लागेको थियो संसार । त्यसपछि लन्डन सहरपुग्दा त्यसको विशाल आकार र वैभव देखेर ऊ निकैबेर अल्तालिएकी थिई । अहिले त उसले संसारका ठूला सहरहरूलाई धान्न सक्ने क्षमताको विकास गरी सकेकी छ ।

उसको राजाले धारा गाडेपछि चर्पी बनाएको थियो कि चर्पी बनाएपछि धारा गाडेको थियो ? सम्झना र समयको सिलसिला फेरि टुटेको छ । समयको सिलसिला टुटिरहने कुरा हो । मानिस जेलाई निरन्तरता भन्दछ, त्यो कहिल्यै निरन्तर हुँदैन । घरमा तरुनी केटी छ, एउटा चर्पी नबनाई भएन बाबु, ऊ सम्झिन्छे, बाले उसको राजालाई भनेको कुरा । उसको छोरो बाबुकी फुपूलाई बा भन्दथ्यो र बाबुलाई बुबा । उसको राजा अमेरिकामा पढ्न बसेका बेला बाको मृत्यु भएको थियो । राजाकी रानीले त्यसपछिका सबै अभिभारा एक्लै सम्हाल्दै आएकी छे । धारा र चर्पी शायद सँगसँगै बनेको थियो । चर्पी नबनुन्जेलसम्म खरीको डाँडाको झाडीमा जानुपर्थ्यो बिहानै झिसमिसेमा । सबै त्यसै गर्दथे । अहिले राजाकी रानीका लागि सामान्य प्यान भएको चर्पी सुविधाजनक हुँदैन । कमोड नै चाहिन्छ । मोटाउनु पनि त समय केहीबेर टक्क अडिनुजस्तै हो । राजाकी रानीको वजन बढेको छ झण्डै पच्चीस किलो । एकपटक बढ्न थालेपछि वजन कहिल्यै घट्दैन । ऊ आफैँसँग प्रश्न गर्दछे, किन यतिबिधि मोटाएको होला ? उसका साथीहरू भन्दछन्- त्यस्तै हो मोटाउन थालेपछि पानी मात्रै पिए पनि मोटाउँछ मान्छे ।

ग्लोरियादेखि अनुराधासम्म । नारी आन्दोलन रोकिएको छैन । नारी आन्दोलनकै नाममा तीजले अनुहार फेरेको छ । राजाकी रानीले ब्रतको अघिल्लो दिन मात्रै तीजको दर खाने गरेकी थिई । उसका वहिनीहरू तीज आउनुभन्दा महिना दिन अघिदेखि नै दरमा रमाउन थालेका छन् । निर्वाचित प्रतिनिधिहरू आफ्ना क्षेत्रका सबै महिलाहरूलाई दरखान बोलाउँछन् । आन्दोलन तीजको दरखानु र खुवाउनु, तीजमा नाच्नु र नचाउनुसम्म सीमित भएकोछ । गहना त लाउनै पर्दैन । त्रिपन्न सय तोलामा किनेको सुनको मूल्य त्रिपन्न हजार तोला पुगेकाले पनि सतर्क भएका छन् महिलाहरू । नारीका गलाबाट सुनका सिक्री लुछिन थालेका छन् । नारी आन्दोलनसँगै अब सिक्री बचाउ आन्दोलन चलाउने बेला भएको छ । धेरै आन्दोलन भएका छन उसका आँखा अगाडि । पहिलो जनआन्दोलनका बेला ऊ धेरै आन्दोलनकारीकी संरक्षक बनेकी थिई । पुलिसको गिरफ्तारीबाट जोगिन उसको राजा सुरक्षा घेरालाई छल्दै हिँड्थ्यो । आन्दोलन उचाल्नेहरूमा उसको राजाको नाम सबैभन्दा माथिल्लो लहरमा थियो । त्यही जनआन्दोलनपछि त चिनिएको थियो नेपाली मानिसको असली हैसियत । त्यसबेलासम्म त जनता महाराजका चाकरजस्ता मात्रै मानिन्थे ।

राजाकी रानीको पुरानो घर पर्खालले घेरिएको थिएन । त्यो घरको छाना ढलानले छोपिएको पनि थिएन । दलिनहरू माथि चिर्पट ओछ्याएर, चिर्पटमाथि ईंटा छापेर छानालाई आकार दिएर टिकाइएको थियो । ईंटामाथि पहिले खस्रो र त्यसपछि मसिनो सिमेन्ट लगाइएको थियो । त्यसमाथि ओछ्याइएको थियो अलकत्राको टाट । त्यतिगर्दा पनि पानी चुहिन छाडेको थिएन । केही वर्षपछि दलिनको चेपमा एउटा सानो सर्प देखिएको थियो । त्यो बेलाबेलामा देखिन्थ्यो र बेला बेलामा अदृश्य हुने गर्दथ्यो । कोठामा एक्लै हुँदा सर्पदंशको डरले ऊ कहिलेकहींँ कहालिने गर्दथी । त्यो सानो सर्पलाई त्यहाँबाट भगाउन निकै प्रयत्न गरे पनि त्यो भागेको कहिल्यै थाहा भएन । नयाँ घर बनेपछि वरिपरि पर्खाल लाग्यो । पर्खालका छेउमा रोपिएका बोटविरुवाहरू हुर्किने, झाङ्गिने र छिमल्नेक्रम चलिरह्यो ।

राजाकी रानीका लागि जीवन एउटा पोखरीजस्तै हो । पोखरीमा सधँै माछा मात्रै कहाँ पाइन्छ र ? भ्यागुता र पाहा, शङ्खेकीरा र लेउ सबै कुरा केलाउनु पर्दछ । जीवन विस्मय बनेको छ राजाकी रानीका लागि । उमेरको यो कुनामा आएर उसको जीवनमा अवसादको एउटा ठूलो खाडल थपिएको छ । यस्त्ाो खाडल जसलाई ऊ चाहेर पनि पुर्न सक्दिन । बेलाबेलामा आफ्नो मनभित्र उठ्ने संवेगहरूलाई रोक्न ऊ अनेक वहाना गर्दछे तर पीडाका ती निमेषहरू छल्न धौधौ पर्छ उसलाई । आफ्नो शरीरको एउटा महत्त्वपूर्ण पिण्ड शरीरबाट अलग भएर शून्यमा बिलाएको छ । बाहिरबाट समुद्र जति शान्त देखिन्छ त्यति नै सुनामीहरू मच्चिइरहेका हुन्छन् त्यसको गर्भमा । समुद्रमा एक्कासि उठ्ने छालहरूसँग ऊ तर्सिन्छे । गङ्गासागरमा पनि तर्सिएकी थिई र मद्रासमा पनि । अहिले त उसलाई आफ्नै मनको समुद्रमा उठ्ने छालहरूले निरन्तर तर्साइरहेका छन् । ऊ राजाकी रानीभन्दा बढी आमा हो । राजा उसको साथी मात्रै हो । सन्तान त उसको आत्माको निरन्तरता हो । उसको अस्तित्वको गतिशील अवस्था ।

समय कहिलेकहीँ टक्क अडिएजस्तो गर्दछ । त्यस्तो बेला, राजाकी रानीको कानमा नारी आन्दोलनका नाराहरू गुञ्जिने गर्दछन । ती नाराहरूले समयको गतिशीलताको सङ्केत दिने गर्दछन । अनि ऊ उसको राजालाई सम्झिन्छे । कति दुःख खेप्न सक्दछ यो मान्छे । आराम त एकदिन र एकछिन पनि गर्दैन । ऊ मोबाइलमा उसको राजासँग सम्पर्क गर्न खोज्दछे । मोबाइलमा जनाउ आउँछ- नेटवर्क कनेक्सन छैन । डिस्कनेक्टेड !! राजाकी रानीलाई थाहा छ- मोबाइल कनेक्सन नभए पनि उसको राजा हर पल उसंँग कनेक्टेड छ । बेल कनेक्टेड ।

मधुपर्क २०६८ कार्तिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *