
आजको युग विज्ञान र प्रविधिको युग हो । विज्ञान प्रविधिको विकाससँगै पूरै विश्व दिनप्रतिदिन साँघुरिँदै गएको छ । घरमै बसी–बसी देश–विदेशका खबरहरु एक क्लिकमा प्राप्त गर्न सक्छौं । दाहिने हातको चोरऔंला चलाएर पूरै विश्व फन्को मार्न सकिन्छ ।
प्रविधिले मानिसको दैनिकीलाई निकै सहज बनाई दिएको छ । युगको परिवर्तनसंगै सूचना र प्रविधिको विकास र प्रयोगले देशको आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्रले समेत ठूलो फड्को मारिसकेको छ ।
बैंक तथा वित्तिय संस्था र सहकारी संस्थाहरुले सूचना र प्रविधिलाई पछ्रयाउँदै छिटो, छरितो, भरपर्दो र गुणस्तरीय वस्तु तथा सेवा प्रदान तल्लिन देखिन्छन । बैकिङ्ग क्षेत्रमा भित्रिएको सूचना र प्रविधिहरुलाई पनि प्रयोगमा ल्याई पछिल्लो समय नेपालको सहकारी अभियान नयाँ स्वरुप र गतिमा लम्किरहेको छ । परम्पराग कार्यशैलीलाई परिकृत र परिमार्जन गर्दै समयसापेक्ष रुपमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी दैनिक कार्य संचलनमा पेपरलेस र क्याँसलेस अवधारणालाई आत्मसाथ गरी सहकारीले प्रदान गर्दै आएको वित्तिय सेवालाई डिजिटलाजेशन गर्नु समयको माग र आजको आवश्यकता पनि हो ।
गुणस्तरीय सफ्टवेयरको प्रयोग :
सहकारी संस्थालाई सूचना प्रविधिमैत्री बनाउनका लागि आवश्यक पहिलो हतियार नै गुणस्तरीय सफ्टवेयरको प्रयोग हो । सहकारी संस्थाको लेखा ब्यवस्थापन, मानव संसाधन ब्यवस्थापन वा अन्य कुनै कार्यका लागि प्रयोग गरिएको सफ्टवेयर गुणस्तरीय र विश्वस्नीयता भए मात्र त्यस संस्थाले छिटो, छरितो र भपर्दो रुपमा सेवा प्रदान गर्न सक्दछ । पछिल्लो समय सहकारी संघ संस्थाहरुले गुणस्तरीय सफ्टवेयरको प्रयोग गरी सहकारी अभियानलाई सूचना प्रविधिसंग जोड्दै आएको छ ।
एटिएम सेवा :
चेकबुकको विकल्पको रुपमा लिईने एटिएम सेवा सहकारी संस्थाहरुले पनि संचालन गरेका छन । सहकारी संस्थाहरुले शेयर सदस्यहरु थप सेवा तथा सुविधा उपलब्ध हेतुले एटिएम सेवा संचालन गरेका छन । सशकारी संस्थाहरुले शहरी क्षेत्रमा एटिएम मेसिन राखेर सेवा प्रदान गर्दै आएका छन । सहकारी संस्थाको एटिएम कार्डको प्रयोग गरी जुनसुकै बैंकको एटिएम बुथबाट सजिलै रकम निकाल्न सकिन्छ ।
एसएमएस सेवा :
बैंकहरुले जस्तै सहकारी संस्थाहरुले पनि एसएमएस सेवा संचालन गरेका छन । सहकारी संस्थाहरुले यो सेवा संचालन गरेसंगै शेयर सदस्यहरुले आफ्नो खातामा भएको कारोवारको जानकारी एसएमएस मार्फत जानकारी पाउने गर्दछन ।
मोबाइल बैकिङ्ग/मोबाइल वालेट :
सहकारी अभियानका क्षेत्रमा पछिल्लो समय मोबाईल बैकिङ्ग तथा मोबाईल वालेट सेवा निकै नै प्रयोगमा आएको छ । मोबाइल वालेट सेवाबाट शेयर सदस्यहरुले मोवाइल टपअप (मोबाईल रिचार्ज, टेलिफोनको बिल भुक्तानी, एडिसलको बिल भुक्तानी), खानेपानी, इन्टरनेट, बिमाको प्रिमियम, स्कुल फि, टिभि (डिसहोम, सिमटिभि, मेरो टिभि, स्काईटिभि आदी)को बिल भुक्तानी गर्न सकिन्छ । यस्तै फिल्म टिकट, एरलाईन्स टिकट समेत खरीद गर्न सकिन्छ । सहकारी संस्थाको जानकारी र गतिविधिहरु सहित तयार गरिएको मोबाईल एप्लिकेशनबाट शेयरसदस्यहरुले संस्थामा आफ्नो नाममा रहेको शेयर, बचत र ऋणको बारेमा स्पष्ट जानकारी लिन सक्ने र मोबाईलबाटै खाताबाट रकमान्तरण गरी ऋणको किस्ता समेत भुक्तानी गर्न सकिने भएकाले यो सेवा सदस्यहरुका लागि उपयोगी मानिन्छ ।
सहकारीमा रहेको खाताबाट बैङ्कमा र बैङ्क खाताबाट सहकारीमा रहेको आफ्नो खाता फन ट्रान्सफर गर्न सकिनुका साथै इसेवा र खल्तीमा समेत सजिलै फन लोड गर्न सकिने भएकाले मोबाईल वालेट सेवा प्रति आकर्षण बढ्दै गएको छ ।
ट्यावलेट बैकिङ्ग :
सहकारी संस्थाले प्रदान गरेका वस्तु तथा सेवाहरुलाई शेयर सदस्यहरु सहज रुपमा उपलब्ध गराउनका धेरै सहकारी संस्थाहरुले ट्यावलेट बैकिङ्ग सेवा उपलब्ध गराउँदै आएका छन । ग्रामिण क्षेत्रमा रहेका शेयर सदस्यहरुसम्म वित्तिय पहुँच विस्तार गर्नका ट्यावलेट बैकिङ्गलाई प्रभावकारी मानिन्छ । कतिपय सहकारी संस्थाहरुले बजारमा दैनिक बचत संकलन कार्य नै ट्यावलेट बैकिङ्ग मार्फत गरिरेका छन । फिल्डमा संकलन भएको बचत ट्यावलेटमा इन्ट्रीमा गरि सिल्प प्रिन्ट गरेर सदस्यलाई दिने गरेको पाईन्छ । घरदैलोबाट नै सदस्यहरुले बचत जम्मा र बचत फिर्ता गर्न, नयाँ बचत खाता खोल्न, सदस्यको केवाईएम अपडेट गर्न सक्नुका साथै सदस्यहरुको विश्वनियता हाँसिल हुने भएकाले ट्यावलेट बैकिङ्ग सेवा प्रति सहकारी अभियानका लागि उपयोगी छ ।
मिस्कल बैकिङ्ग :
पछिल्लो समयमा सहकारी संस्थाहरुले मिस्कल बैकिङ्ग सेवा प्रयोगमा ल्याएको छ । यो सेवा अन्तर्गत सदस्यहरुले तोकिएको मोबाईन नम्बरमा मिस कल गरे पछि आफुले प्रयोग गरेको मोबाईलमा रिचार्ज हुने व्यवस्था रहेको छ भने मिसकल गरेर आफ्नो खातामा भएको ब्यालेन्सको समेत जानकारी लिन सकिन्छ ।
क्यूआर कोडको प्रयोग :
डिजिटल पेमेन्टका लागि युवाहरुको क्युआर कोड प्रयोग तर्फ आकर्षण बढेसंगै सहकारी अभियानमा पनि यसको प्रयोग भित्रिसकेको छ । क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सजिलो र समयको समेत बचत हुने भएकाले यो प्रविधिप्रति युवाहरुको आकर्षित भएका छन ।
साकोस कनेट :
साकोस कनेट सहकारी अभियानमा भित्रिएको सबै भन्दा नयाँ प्रविधि हो । यो सुविधा अन्र्तगत नेफ्स्कुनसंग आवद्ध सबै संस्थाहरुकोे भुक्तानी पूर्जा अर्को साकोसबाट सटही गर्न सकिन्छ । जसको ब्यवस्थापन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले गर्नेछ ।
वित्तिय कारोवारको क्षेत्रमा विकास बैंकहरुसंग प्रतिस्पर्धामा उत्रिएको सहकारी अभियानलाई सूचना र प्रविधिमैत्री बनाउन जरुरी देखिन्छ । सिमति सहकारी संस्थाहरुले मात्र प्रविधिको प्रयोग गरेर मात्र सहकारी अभियानको यात्रा सफल हुन्न । सहकारीका छाता संघ, संघठनहरुले सिङ्गो सहकारी अभियानलाई डिजिटलाईजेश गर्नका लागि रणनीतिहरु तय गरी मार्गदर्शन गर्न जरुरी छ । प्राकृतिक विपती, समय र परिस्थितीसंगै भित्रिएका चुनौतीहरुबाट नयाँ पाठ सिकेर सहकारीलाई नाफामुखी नभई सेवामुखी बनाउनका लागि शेयर सदस्यहरुमा वित्तिय साक्षरता र प्रविधिमैत्री अभियान संचालन गरी सहकारी अभियानलाई क्यासलेस र पेपरलेस बनाउन जरुरी छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको त्रसका साथै निषेधाज्ञाको समयमा पनि सहकारी सेवालाई निरन्तरता दिनका लागि पनि सिङ्गो सहकारी अभियान सूचना प्रविधिसंग जोडिन आवश्यक रहेको छ । प्राकृतिक विपतीको समयमा पनि सहकारीमा आवद्ध शेयर सदस्यहरुले घरमा बसीबसी मोबाईल थिचेकै भरमा आफ्नो आवश्यकतालाई परिपूर्ती गर्न सक्नुका साथै कार्यालयमा समेत कामको लोड कम हुने भएकाले सहकारी अभियानसंगसंगै सदस्यहरुलाई पनि प्रविधिको प्रयोगकर्ताको रुपमा विकास गर्न जरुरी छ ।
