
खुशी भए भुक्छ मेरो कुकुर
दुखी भए भुक्छ मेरो कुकुर
सबेरै उठ्छ रुन्छ कराउँछ
मलाई देखे नुघ्छ मेरो कुकुर
सिकाएकै छु तालिम दिएकै छु
बेला बेलामा चुक्छ मेरो कुकुर
इमान्दार अति वफादार छ डाम्नो
हड्डीमात्र पाए भुल्छ मेरो कुकुर
स्वाभिमानको सगरमाथा हुँ भन्छ
लोभ लालचले झुक्छ मेरो कुकुर
गल्ली गल्ली घुम्छ चोक चोक डुल्छ
सबै साँईलीकोमा पुग्छ मेरो कुकुर
चुनाव हुने था पाएछ क्यारे
माग्ने देखे टोक्छ मेरो कुकुर
चोर आएपछि मात्र भुक्नु पर्ने
महाशय आए सुँघ्छ मेरो कुकुर
हेर्छ माग्छ पुच्छर हल्लाउँछ
आश गरी ढुक्छ मेरो कुकुर
ठुलाबडासँग उठबस छ उसको
त्यही भएर फुक्छ मेरो कुकुर
मौकामा चौका हान्न माहिर मोरो
पाएजति सबै धुक्छ मेरो कुकुर
गल्ती हजार गर्छ गनीगनी दिनभर
रात परेपछि लुक्छ मेरो कुकुर
२०७८/०२/१९
