Skip to content

मेरो बाबाको साइकल

HariThapaUAE

हिरो रेञ्जर
दुई ठुला चक्का बीचमा क्रस बार
पछाडिको चक्कामा डाइनामो
खिन्द्रिङ्-खिन्द्रिङ् बज्ने घण्टी
हाम्रो फरारी लेम्बोर्गिनी
हाम्रो मज्राती हाम्रो बेन्टिली ।

यो त्यो बेला हो जुन बेला
चन्द्रमाले हात पक्डेर बादलमा बाह्रखरी लेख्न सिकाउदथे
बिग्रेका भत्केका गल्तीहरू
अर्को हुल बादलले झप्क्की मारेर मेटाउने गर्दथे
तीनै बादलको हुलमा
खिइदै गरेका हवाइ चप्पलमा
फुटेका कुर्कुच्चाले जीवन चक्र रुपि पाइडल चलाउदै
गोरु गाडा र रागा गाडा चल्ने बाटाका लिखका बीचमा
एउटा नुतन साइलक दौडन्थ्यो
मेरो बाबाको साइकल

त्यो साइकल मात्रै साइकल थिएन
दु:ख र सुखको साथी थियो
हाम्रो परिवारको सदस्य थियो
मेरो बाबाको प्रिय मित्र थियो
उसैको पैयामा हामी घुघुती घाँ खेल्ने गर्थ्यौ
हो बाबाको तीनै मित्रको बुइ चढेर हामी गाउँ घुम्ने गर्थ्यौ
निस्फिक्री .. कुनै डर बिना
त्यही साइकलले हामीलाई बोकेर आनन्दित पार्थ्यो
आधा पाइडल ख्याट ख्याट ख्याट ख्याट पार्दै
कहिले लडायो त कहिले चोट लगायो
कहिले घण्टी बजाउन बिर्सेर
कहिले आफ्नो साइड थाहा नभएर
कहिले चेन खुकुलो भएर त
कहिले पञ्चर भएर
जीवन पनि यस्तै हो भन्ने सिकायो
अँझै भनौ जीवनमा आउने सङ्घर्ष सिकायो
मेरो बाबाको साइकल
दन्तेकथा कथामा आउने ठुला ठुला राक्षसहरुलाई
बाबा एक्लैले भगाइदिनुहुन्छ
कति ढुक्क हुन्थे म
जब म बाबाको साइकलको पछाडि बस्थे

त्यो साइकल बाबाको आत्मीय मित्र
मेरा लागि उतिनै प्रिय पनि
म लड्दाको साथी म दौडिदाको साथी
ममा किशोरावस्था चड्दाको साथी
मेरो जुङ्गाको रेखी बस्ताको साथी
मनले खाएकी मान्छेको घर अगाडि
चेन फुकालेर नजर जुदाउदाको साथी
मेरो बाबाको साइकल

मेरो आत्मीयतामा, मेरो प्राणत्वमा
हातमा हात र खुट्टामा खुट्टा मिलाउदै हिडेका
कति स्वर्णिम पल त कति दुखद पल
सब एक एक कैद छ्न मेरा अन्तर्हृदयमा
साइकलको त्यो घण्टी ती पाइडल ती हेन्डल
अँझै सजीव छ्न मेरा अगाडि
एउटा ज्युदो पुस्तक सरि…
बिस्तारै बिस्तारै खिइदै गएका उसका मेरुदण्डहरू
कमजोर हुँदै गए उसका सामर्थ्यहरू
शिथिल हुँदै गए उसका अगाडि बढ्ने पैयाहरू
तर आफू हारेर सधैं जीताउदै गयो
आफू रोएर सधैं हसाउदै गयो

दिन गते बार बित्दै कयौ वर्ष फेरिदै गए
कयौ शिशिरले गुँण लगाएर वसन्तमा उडि गए
छेवैमा गुँण लाएर बसेको ढुकुरका कति पुस्ता फेरिए
मेरा बाबाको दौतरी कति साइकल आए कति गए
स्मृतिमा त त्यही साइलक बस्यो जस्ले
मेरा बाबाको साइकलको पछाडि बसेर
मेरी आमाले अनुभव गरेका जीवन्त कथाहरू बुन्यो

आज मेरो बाबाको कपाल पनि हिउँ जस्तै भएकाछ्न
रिङ भाचिदा खाली भएको साइकलको चक्का जस्तै
ती दातहरू फुक्लिएर हाँस्दा सुनौला देखिन्छ्न
अब ती साइकलका पाइडलहरू दौडीन छोडे
बुबाको पछाडि बस्ने अबोध म आज बुबाको ठाउमा आइपुगे
मेरो साइकल पछाडि म जस्तै अर्को अबोध बसेर
ऊ पनि नियाल्दै होला ढुक्क भै
ए पर्खन उडेरै पनि गन्तव्यमा पुग्न सकिन्न भने
दौडनुको के अर्थ
म सम्झाउने कोसिस गर्दिन
ऊ बामे सर्दै छ ऊ बुझ्दैन लड्दै छ
ऊ उठ्दै छ, दौडदैछ फेरि
उसलाई पनि त लाग्दो हो कि
मेरा बाबा सँग दन्तेकथाको राक्षस सँग लड्ने सामर्थ्य छ
ऊ निस्फिक्री छ
म जस्तै बाबाको साइकलको पछाडि

म साउने झरीमा सम्झिन्छु बर्खे हिलोमा सम्झिन्छु
भदौरे भेलमा सम्झिन्छु
तृष्णामा र तृण रातमा सम्झिन्छु
सपनामा मृदङ्गा बजाउदै
क्षोभमा सम्झिन्छु अनि फेरि सम्झनामै बिलिन हुन्छु
बाबाको त्यो साइकल अनि
बाबाको त्यो काध सम्झेर

अथाह नमेटिने यादहरूको सागर बोकेर
त्यही दृश्य ठ्याक्कै त्यही आवाज जस्तो
खिन्द्रिङ्-खिन्द्रिङ् बज्दै
डाइनामोको प्रकाशले धरती उज्यालो पार्दै
बुवाको त्यो साइलक
आज पनि जिउदो छ मेरा कवितामा
ठिक उसै गरी जसरी म जिउदो छु
बाबाको त्यो साइकलको पछाडि …. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *