Skip to content

मैले देखेको दलित

दलित भनेको भेदभावमा पीडित, दलिएको व्यक्ति, पिल्सिएको व्यक्ति भन्ने बुझिन्छ । कुन क्षेत्रमा मात्र भेदभमाव छैन ? पाइला पाइलामा भेदभाव व्याप्त छ ।

दलित जातमा मात्र होइन हरेक क्षेत्रमा दलित छन् चाहे त्यो व्यक्ति जतिसुकै उच्च जातका किन नहोस् उसले पनि पिल्सिएर बाँच्नु परेको छ । आजको जायज आवाज दलितको आवाज आएको छ । जताततै छाएको छ । समाचार व्याप्त भएको छ । त्यस्तै दलितको कोटाका विरुद्ध पनि जायज आवाज आएको छ ।

कोटासम्बन्धी पनि जायज कुराहरू छन् । जस्तो कि कुरो मैले एसएलसी दिएको ०४२ सालतिरको हो । त्यो समय पढ्नका लागि टियूको सरकारी क्याम्पसहरू मात्रै थियो । म त्यो बेला इञ्जिनीयर पढ्न चाहन्थेँ । पुल्चोकमा मात्र इन्जिनीयरीङको क्याम्पस थियो । मैले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थिएँ । प्रथम श्रेणीमा उत्तीर्ण गर्नेहरू यत्ति थोरै थिए कि गोरखापत्रको आधी पृष्ठमात्र प्रथम श्रेणीकाहरूको सिम्बोल नम्बर थिए । त्यसमाथि राम्रो अङ्कले प्रथम श्रेणी ल्याउने त अत्यन्तै थोरै । त्यसमा म पनि थिएँ । हामीजस्ता प्रायःले कमर्श पढ्न वाध्य हुनुपर्यो । कारण थियो कोटा । त्यो कोटा दूर्गम भेगका लागि बढी हुन्थ्यो । काठमाडौँबाट एसएलसीमा राम्रो नम्बर ल्याएका कारण भए पनि क्षमता भएर पनि पढ्नबाट बञ्चित भयौँ । धेरै धाउँदाधाउँदा पनि सफल नभएपछि हार मानेर हामी मिल्ने साथीहरू सबै ६ महिनाको पढाइ गइसकेपछि भर्ना भयौँ । अर्को वर्ष प्रमाणपत्रतह द्वितीय वर्ष पढेका बेला ती इन्जिनीयर पढ्ने कोटामा परेकाहरू हामी पढेकै क्याम्पसमा प्रविणता प्रमाणपत्रतह प्रथम वर्षमा कमर्श पढ्न आए । ल हेर्नुहोस् त विडम्बना ! उहाँहरूको प्राप्ताङ्क कम भएर पनि कोटामा त पढ्न पाए तर क्षमता नभएकाले फेरि कमर्शमा फर्किए । हामीले भने चाहिँ क्षमता भएर पनि पढ्न पाएनौँ । देशले इन्जिनीयर उत्पादन गर्न पाएन ।

फेरि कोटा यस कारण पनि चाहिन्छ कि यदि पश्चिमा गोराहरूलाई हाम्रो देशका प्रत्येक क्रियाकलापमा सामेल गरायौँ भने उनीहरूले हाम्रो देश खाइदिनेछन् । उनीहरूका अगाडि हामी दलीत भएर जानेछौँ । उनीहरूसँग हामी कुनै कुरामा अहिले पनि प्रतिस्पर्धा गर्न सक्दैनौँ । हामीले त भारतीय श्रमिकले जस्तो कठिन काम गर्न नसकेको कारण स्वदेशमा पनि वेरोजगार बनी बस्नु परेको अवस्था छ । त्यसैले अस्तित्त्वका लागि अवश्य पनि कोटा अपरिहार्य छ तर त्यसको माथि मेरो क्याम्पसको भोगाइजस्तो कोटाको विकासमा योगदान खेर जानु पनि दिनु हुँदैन । नेपालले नेपालीका लागि गम्भीर भएर यस मामिलामा सोच्नु अत्यन्तै आवश्यक छ ।

फेरि आऊँ छ्वाछुततर्फ । पञ्चायतको समयमै मुलुकी ऐनमा छु्वाछुतको अन्त्य भइसक्दा पनि अहिलेको समयमा पनि रुपा सुनार जस्ताले कोठाभाडा नपाउनुले हामी अझै कति पुरानो रुढिवादमा रुमल्लिरहेका छौँ । त्यो उदाङ्गिएको छ ।

पानीमा छुवाछु्त भयो भनेर सुपरस्टार राजेश हमालले एउटा छुवाछुत भएको गाउँमा गएर दलितलाई पनि इनारबाट सँगै पानी तान्न लगाएर नुहाइधुवाइ गरी आए । सबै गाउँले एकजुट भए । समाचारमा पनि समानताको उदाहरणीय कार्य भनी गाउँको पनि राजेश हमालको पनि वाहवाही भयो, प्रशंसा भयो तर भोलिपल्टै इनार सफा गरेको निहुँमा चोख्याउने कार्य गरेर फेरि छुवाछुतको लिँडे ढिपी कायमै गरे ।

यही भेदभावको सिलसिलामा अलिकति शाकाहारीतर्फको पनि कुरा खोतलौँ । शाकाहारी भनी टोपल्ने कन्ठी लगाउने धर्ममा आस्था लगाउनेहरूले कन्ठी नलगाउने शाकाहारी ज्वाइँले पुजाकोठामा पस्यो भनेर चोख्याएर अर्कै कोठामा सारेको यो भुक्तभोगीले आफ्नै आँखा अगाडि देखेको कुरो हो । धर्ममा लाग्नेहरूमा मिजासको नरमपन, खानामा तामसी नभई शाकाहारी मात्रै हुन्छ भन्नु अनि व्यावहारमा छाडापनको हिलो छ्याप्ने हुँदैन भनी आकर्षित भएता पनि त्योभन्दा धेरै उल्टो व्यवहार यो भुक्तभोगीले धेरै भोगिसकेको कुरो हो । धर्मका इन्चार्ज भनाउँदोहरूले यत्ति छुद्र अनि छाडा व्यवहार गर्छन् भन्दा कसैले पनि नपत्याउन सक्छन् । तर वास्तविकता यही हो जुन मैले भोगिसकेको छु । शाकाहारी हुन कन्ठी लगाएर मात्र हुँदैन, तुलसीको माला लगाएर मात्र हुँदैन त्यो त भित्रैबाट आउनुपर्छ । यो भयो कन्ठी लागउनेले कन्ठी नलगाउनेहरूलाई गर्ने विभेद ।

कर्णालीका अति बिपन्न खसआर्यमाथि भएको भेदभाव । मधेसमा डोम, चमारमाथि हुने पराकाष्ठासम्मको भेदभाव । पश्चिमाहरूले गोरा जातिलाई मात्र प्राथमिकता दिनु , एसियन, अफ्रिकन मूलका साना कदकालाई अनि काला जातिलाइ गरिने चरम भेदभाव । त्यसमाथि क्रिश्चियनहरूलाई बढी प्राथमिकता दिनु । अरुलाई पारिश्रमिक नै धेरै कम्ती दिनु र दोस्रो दर्जाका नागरिकको व्यवहार गर्नु ।

यता हाम्रोमा दलितले बनाएको मठमन्दिरमा पुजा गर्ने । दलितले नै बजाएको बाजाबाट विहे वर्तमन गर्ने, मृत्यु संस्कार गरी चोख्याउने । दलितले नङ काट्न लागएर अनि कपाल काट्न लगाएर चोख्याउने । ढल सफा गर्नुपर्यो भने दलित नै चाहिने । कपडा सिउनुपर्यो भने दलित नै चाहिने । यत्ति धेरै समाजमा योगदान गर्ने दलितका कार्यहरू उच्च जातकाभन्दा बढी सह्राहनीय छन् ।

यद्यपि दलितलाई छुवाछुत गर्नु हुँदैन भनी कानुन बनिसक्दा पनि छुवाछु्त कायमै छ । ठुलो सानोको भेद व्याप्त छ । कति यस्ता कार्यले गर्दा हिन्दू धर्म छोडी क्रिश्चियन भइसके । विदेशमा जे काम गरे पनि सम्मान हुन्छ भनी अमेरिका भनी थुक निकाली कुरा गर्नेहरू आफु भने छुवाछुत कायम राखी दलितलाई होच्याउन तल्लीन भइरहेका छन् । सबैभन्दा बढी त पैसा हुनेले पैसा नहुनेलाई दलितलाई झैँ गर्ने व्यवहार सर्वत्र व्याप्त छ । नेतालाई मान कार्यकर्तालाई तुच्छ व्यवहार । त्यस्तै मानिस मानिसबीच ठुलो र सानो भनी विभेद गरिने नीति अझै जताततै व्याप्त छ । अब राज्यले यस्ता विभेद हटाउन महिला, मधेसीलाई मात्र उच्च पदमा पठाएर पुग्दैन दलितलाई पनि उच्च पदमा पु¥याउनु आजको टड्कारो आवश्यकता हो ।

प्रहरी प्रशासनले पनि थुनुवालाई अपराधी सावित नभइकन विभेद गर्नु हुँदैन । अहिलेको समयमा कारागार पनि सुधार गृहको मान्यता लिएर अघि बढ्नुपर्छ भन्ने कानुन बनिसकेको अवस्था छ । गएका आन्दोलनहरूमा थुप्रै व्यक्तिहरूले पराकाष्ठासम्मको यातना खपे । माओवादी आन्दोलनकर्ताहरूले त्योभन्दा बढी यातना खपे ।

दलाएर राख्ने जस्तो काम दलित बनाउनु हो । यो सरकारीभन्दा प्राइभेट कम्पनीमा व्याप्त छ । म आफै भोग्य व्यक्ति हुँ । मैले थुप्रै प्राइभेट कार्यालयहरूमा श्रम गरेर आफ्नो जीवन यापन गरेँ । जहाँ पनि आफ्नो पारिश्रमिकको हक पाउन पनि अझै पाउ मल्नुपर्ने वाध्यता छ । सायदै विभेद नभएको ठाँवै थिएन । ठुला पदकाले पनि यस विवेद विरुद्ध सहानुभूति मात्र दर्शाउँदा उसले पनि विभेदको यातना झेल्नुपर्ने कटु यथार्थ हाम्रा सामु छ । त्यो विभेद तातो तेल भएको कराइमा बस्नुसरह थियो । यस्ता विभेदहरू यसरी मैले भनेको जस्तो पढेर अनि हेरेरै पनि जान्न सकिन्न । प्राइभेट कम्पनीमा सानो पदमा काम गर्ने व्यक्तिले त यो बुझ्छन् । एउटा श्रमिकले जस्तो भोगेपछि मात्रै जान्न सकिन्छ । जति पनि दलितलाई विभेद भएका छन् त्यो भोगेका व्यक्तिलाई जति अरुलाई थाहा पाउन अनुभव हुन गाह्रो छ । त्यसैले यस्ता विभेद हटाउने कानुन बनेर मात्र भएन कार्यान्वयन दह्रो हुनु आजको टड्कारो आवश्यकता हो ।

वैदिक कालमा गार्गीले विद्वानहरूको सभामा भगवानलाई कसले बनाए भनी प्रश्न राखेकै कारण त्योवेलादेखि छोरीहरूलाई वर्तमन गर्न बन्देज लगाई नारी जातिलाई वेद पढ्न वन्देज लगाएको हामीसँग इतिहास साक्षी छ । यसरी ठुला ठुला पण्डितहरूले भनेका कुराहरू दासले झैँ मान्ने भएका कारण छोरीलाई विभेद अद्यापी कायमै छ ।

तसर्थ हामीले वेद, पुराण, साहित्य आदिजस्तामा आएका ठुला व्यक्तिहरूले भनेका कुराहरू दासले झैँ मान्न त्याग्ग्न सक्नुपर्छ । त्यसलाई समाजोपयोगी किसिमले लागू गर्दै समाजलाई सुधार गर्दै लैजानु सक्नुपर्छ । हाम्रो मानव विकसित बनाउन यस्ता मूलमन्त्रहरू अपरिहार्य छन् । दलितलाई विभेद गरिनु हुँदैन । कोटा क्षमतावानले पाउनुपर्छ । यस्ता भेदभाव युक्त समाजलाई स्खलनमा ल्याउने दलित शब्दै नामेट गरिनुपर्छ ।

यसै सन्दर्भमा महाकवि देवकोटाले भनेका थिए कि “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” यो सबैले मनन गर्नुपर्ने भनी थाहा नपाउनेहरू कोही छैनन् तर यहाँ एकले अर्कालाई आफु ठुलो जात अरु सानो जात भनी सामन्ती चरित्र देखाइरहेका छन् । दलित मै पनि तँ सानो जातको दलित म ठुलो जातको भनी टोपल्ने संस्कार सुधार्नु आवश्यक छ ।

रुपा जस्तीलाई पीडा भएको आवाज उठाउँदा घरपट्टी नेवार जातका भएका कारण कदापि पनि नेवार जातिका विरुद्ध कुनै कुनामा पनि विरोध भएको होइन । यी विभेदहरू विरुद्ध आजका युवा पुस्ता अरु बढी सजग छन् । उनीहरू यी कुरा मान्दैनन् । उनीहरू यस विभेद विरुद्ध एक कदम अगाडि छन् । पहिलेपहिले धेरै विभेद भए । बुझौँ रगत सबैको रातै हुन्छ , सबै समान छन् । आफ्नो क्षमता छ भने जुनसुकै जाति विशेषकै भए पनि आफ्नो क्षमता अनुकूल आफ्नो पौरख गर्न पाउनुपर्छ ।

२०७८ असार ११
बिजु सुवेदी विजय
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *