Skip to content


आमाले भन्नुभो-
सानो उमेर भएका छोरालाई
बलि दिएको नदेखाऊ
तर ऊ,
बलि दिएको हेर्न आतुर छ
असाध्यै उत्सुक छ
बाबाले फूलपाती चढाएको
बलि पर्सिएकोमा रमाएको छ
पल्लाघरे काकाले
खुकुरी बोकी ताक मिलाएको
ऊ मस्त हेरिरहेको छ
घरका मान्छेहरू बलि चढाउन तयार
धुमधाम गरिरहेका छन्
सानो छोरो खुसीले गद्गद् छ
केही मान्छेहरू रमिते भएका छन्
केही मान्छेहरू बन्दोबस्तीका
सामान लिई तम्त्यार छन्
केही मान्छेहरू खुकुरीलाई साँध लाउँदैछन्
ठूली छोरी अलि रिसाएकी छिन्
उसलाई पनि बाँच्न देऊ भन्दै
उम्लिएको पानीलाई
जिम्ल्याउन आगो निमाउँदैछिन्
उता सानो छोरालाई विषेधाज्ञा जारी छ
ऊ बार्दलीमा पुगी नियाल्दै छ
पल्लाघरे काका निर्दयी
अनि हारको रक्तमुछेल युद्धलाई
शरीर र आँगनसँगै नियालेको छ
काकाको साहसीमा ताली पिटेको छ
ऊ आज साह्रै खुसी छ
पल्लाघरे काकाहरूको तारिफ गर्दै
साहसीका बुद्धि उमार्दै छ
वरिपरिका साथीहरू बटुली
पल्लाघरे काकाजस्तै
रक्तमुछेल भाँडाकुटी खेल्दैछ

-चन्द्रनिगाहपुर-१, रौतहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *