मान त्यहीँ थियो, शान त्यहीँ थियो
साँच्चै जिन्दगीको उठान त्यहीँ थियो ।
हल्लै हल्लाको पछि किन दौडेँ म
छाम्छु आखिर आफ्नो कान त्यहीँ थियो ।
पसिनाले पत्थर पगाल्नुपर्छ भन्ने
आफैँले बनाएको विधान त्यहीँ थियो ।
एकान्तमा डुल्दै-घुम्दै दुःखसुखमा
गुन्गुनाउने झ्याउरे गान त्यहीँ थियो ।
कसले चिन्छ, कसले बोलाउँछ र यहाँ ?
सानोतिनो पहिचान त्यहीँ थियो।
जब छोडेँ गाउँ, सबै गुमाएँ मैले
पातीकै होस्, बासस्थान त्यहीँ थियो।
