‘ओ सर यता आउनू न !’
घाम डुब्न थालेपछि लाङटाङ हिमालबाट परावर्तित रातो किरणले धुन्चे बजार रातो देखिएको छ । खाम, सिटामोलदेखि च्याङ्ग्राको सुकुटीसमेत एकैठाउँमा पाइने साइँलाको होटलमा लोकल लाएर निस्कनेहरूको अनुहार त्यो प्रकाशले अझ रातो पारेको छ । त्यही भीडको कुनै कुनाबाट आएको आवाजलाई नियाल्नतर्फ म लाग्छु ।
पिठ्यूँमा गतिलो झोला भिरेकी मेन्दोमायालाई अघिल्तिर देख्दा म झस्किएँ । आँखा जुधिसक्दा उसले भनी- ‘मलाई बिर्सेउ सर ?’ ‘कहाँ बिर्सनु तिम्रो गाउँ, तिम्रा आफन्त, तिम्रा घरमा उफ्रेने बाख्राका पाठाहरू र गाईका बाच्छाहरू सबैलाई सम्झिरहन्छु, बरू तिमीले पो आजसम्म हामीलाई बिर्सिछ्यौ ।’ ऊ अक्मकिई, झोलाको फित्ता टोक्दै भनी ‘सरलाई बिहे गरौँ न भन्दा मान्नुभएन नत्र पलपल सम्झिरहने थियौं ।’ मैले ‘पलपल’ दोहोर्याई-तेहेर्याई सम्झिरहेँ । सम्झनामा उसमा रहेको लुप्त अनुराग छ्यालब्याल भएर पोखिएको अनुभव हुन्थ्यो । ती नोस्टालजिया बनेर एकपछि अर्को ‘प्ले’ हुँदै आए । शरीरका कुनाकुनामा झड्का दिन पुगे । उमेर, यौवन, जिन्दगी र अर्थतन्त्र यी सबैै मान्छेका जीवनमा कुन ठाउँमा मिसिन्छन्, कसरी मिसिन्छन् ? धेरै अचम्म लाग्ने कुराहरू छन्, मेन्दोको घर, रक्सी बनाउन उठाइएका धरहराजस्ता तीन फैक्ट्री, अभिजात ‘कखरा’ नसिकेको संस्कृति, भर्सेलीमा राख्दाराख्दा च्यातिइसकेको उसको बाबुको नागरिकता, बेखबर बाबुको कथा, मैलिएर मक्किसकेका पछ्यौराहरू, मान्छे हुनुपछिका केही अनुरागहरू आदि ।
‘मेन्दो मलाई के ल्यायौ कोसेली ?’ होटलको एउटा मेचमा झोला बिसाएर झोला खोल्न थालेकी थिई ऊ मैले सोधिहालेँ । ‘यी यो’ उसले हातमा एउटा अडियो क्यासेट राख्दै भनी । ‘यसैमा भनेको छ सुन्नु । ऊ लजाएजस्तो गरी । पासपोर्ट बनाउन आएका साथीहरू पल्ल्ाो होटलमा छन् । तपाईंको साथीहरूलाई भनेर पासपोर्ट बनाइदिनुस्, जसरी भए पनि यसपाली त जाने ।’ म असमञ्जसमा परेँ, उनले कान नजिकै मुख ल्याएर भनी- आफ्नो साथीलाई यति त गर्नु पर्यो नि । मैले मनमनै सोचेँ भोलि त बिहानै मेरो बिदाइ छ, रसुवा छाडने दिन । साथीहरू भीमको होटलमा गइसकेका थिए । उनलाई मैले तत्काल भन्न सकिनँ, भोलि म रसुवा छाड्दै छु । ‘मेन्दो’ तिमी अझै केही वर्ष पर्ख तिम्रो उमेर पुगेको छैन । तिमी विदेशमा गएर पनि बोल्न जान्दिनौ बरू केही वर्ष स्कुल जाऊ, अनि अठार वर्ष पुगेपछि जानू । मेन्दो बोलिन ।
मेन्दोले खाना अर्डर गरी । मेरोलागि अन्तै खाना तयार छ भन्दा ऊ मानिन । ‘मैले दिएको केही खाएको छैन, आज खाना चाहिँ सँगै बसेर खाऔँ ।’ मैले भोलि रसुवा छाड्दै छ भन्ने फेरि सम्झिएँ । उनको आग्रह स्वीकार गरेँ । ‘आज मेरो साथीहरूलाई छाडेर तपाईंसँगै बसेर खाना खाने ।’ मैले भने ‘ठीकै छ, उनीहरू त तिम्रा सधैँका साथी हुन्, म त भोलि तिम्रो गाउँबाट अन्तै जानुपर्ने हुनसक्छ ।’ मैले भोलि रसुवा छाड्ने कुरा चाहिँ स्पष्ट भनिन । ‘के तपाईं घर जाने र ? साँचि कहाँ हो तपाईंको घर ?’ ‘बिस्र्यौ र ? इलाम’ ‘त्यो कहाँ हो ?’ मैले भने ‘दार्जिलिङ सुनेकी छौ ?’ ‘छैन’ ‘हाम्रो देश नेपालको सबैभन्दा पूर्वपट्ट िपर्छ ।’ मैले दायाँ हातले पूर्वतिर देखाउँदै भने । ‘घर पुग्न कतिबेर लाग्छ ?’ ‘एक दिन र आधा’ ‘बाऽऽऽ’ ऊ गोलाकार मुख बाएको बायै भई ।
एउटा बस्ती जहाँ मान्छेहरू नै बस्छन् तर गरिबी, कुपोषण, अशिक्षा, र अन्धकार हेर्दा लाग्छ अझै सोह्रौँ शताब्दी त्यहाँ चल्दैछ, मेन्दोको गाउँमा । जीवनका रहस्यहरू प्ौसासँग गाँसिएका छन् । त्यहाँ एउटा धुमिल अर्थतन्त्र छ, जहाँ मसिना किशोरीहरूले विदेश गएर पठाएको केही विप्रेषणले कुपोषणका विरुद्ध सङ्घर्ष गर्छ । सरकारका राहतका हातहरू त्यहाँका स्थानीय जान्नेसु्न्नेकहाँसम्म मात्र पुग्छ । त्यतिमात्र कहाँ हो र, विदेश पठाउने जिम्मेवारी लिएकाले ठगेका, बाटैमा अलपत्र परेका, तलव नपाएका अनि शारीरिक र मानसिक शोषणमा परेका कथा हुलाकमार्फत पठाएका अडियो क्यासेटमा सुन्न पाइन्छ । पत्रिकाका समाचार, माइती नेपालका रिपोर्टहरू आदिमा दिउँसै बलात्कृत कथा पढ्दा हाम्रा आँखा पनि रसाएका छन् ।
‘के भयो सर किन नबोलेको ?’ केहीबेरको सन्नट्टापछि ऊ बोली । ‘केही होइन, तिमीले हामीलाई तिम्रो गाउँलाई, तिम्रा बाख्राका पाठाहरूलाई छोडेर कसरी जान्छौ होला भनेर सोचिरहेको ।’ ‘माया, ढिकी, कामीसार्कीहरू त गइसके म पनि त गइहाल्छु नि ।’ ‘कहिले र्फकन्छौ ?’ ‘पैसा कमाएपछि, तर सचिव (गा.वि.स.)ले नागरिकता दिदैँन तपाईंले भनिदिनु पर्छ नि ।’ म बोलिनँ । मौन स्वीकृति लक्षणम्झैँ ऊ सन्तुष्ट देखिई । ‘मेन्दो म त्यति वरिष्ठ मान्छे कहाँ हुँ र उमेर नपुगेकोलाई नागरिकता बनाइदिन सक्ने तर पनि यो तिम्रो बाध्यताभित्र म विवश छु ।’ सम्भवतः मैले सानो सहयोग गर्दा उनको ठूलो काम बन्ला तर खै के गरौं ?,
म सोचिरहेथेँ । उसका साथीहरू उसलाई खोज्न आए । उनीहरूको भाषामा के भनेर गललल हाँसे । यति निष्कपट हाँसो, जहाँ पीडाको लेस छैन । बरू यति मसिना नानीहरू विदेशिन लागेकामा मलाई चिन्ता लागेको छ । आफ्नै भाषामा केही भनेर उनीहरूलाई फर्काई । ‘उनीहरूले के भने मेन्दो ? मैले सोधेँ । ‘राम्रो जोडी मिलेछ भने’ ऊ बेस्सरी लजाई ।
खाना खाइसक्दा नौ बजिसकेको थियो । पुसको रात ९ बजे निकै ढिला हो मैले उसलाई पल्लो होटलमा पुर्याएँ । मसिना गाँठागुठीजस्ता देखिने कृतिम स्तन बनाएका साथीहरूका बीच ऊ मिसिई । म आफ्नो कोठातर्फ लागेँ । बाटो छेउका मसिना होटलहरूमा निकै चहलपहल थियो । दिनभर सन्नट्टा हुने यी होटलहरू रातमा कसरी ब्यूँझेका होलान् । अचम्म ।
अघिल्लो दसैँमा टीका लगाउँदा अर्जुन काकाले आशीषमा भन्नुभएको थियो । केटा साथीहरूसँग गाउँमा लोकल पिउन जाने बानी बस्ला है, संयमित भएर बस्नू । त्यो आशीष कति फराकिलो थियो मैले अझै बुझेको छैन तर ठीकै छ म भोलि फिर्दैछु, मेन्दोको गाउँमा त गएँ तर काकाको शब्दले चोखो थिएँ । पुराना सल्लाका काठका कापबाट चिसो हावा चलिरहन्छ । गतिलो घाँसको भारीले थिचे जसरी तीनवटा सिरकले थिचेको छु । भर्खरै रसुवागढी जाँदा ल्याएको ब्ल्याङ्केट त झण्डै साढे सात किलोको छ । ननिदाउँदै उसको क्यासेट सुन्नुछ । क्यासेट प्लेयरमा क्यासेट घुसारेँ । कसैले विदेशबाट खबर भरेर पठाएको क्यासेट रहेछ । भाषा बुझिएन । अन्तिमतिर मेन्दोको आवाज सुनियो ‘सर तपाईं साह्रै राम्रो लाग्छ, म तपाईंलाई हृदयदेखि मन पराउँछु शायद तपाईंलाई मजति मनपराउने अर्को जन्मिएको छैन । म विदेश गएर पैसा कमाएर ल्याउँछु, अनि बिहे गराँै न ल ।’ अचम्म ! कति आनन्द लाग्दोरहेछ, जीवनमा पहिलोपटक कसैले मलाई प्रेम प्रस्ताव राखेकी थिई, म विविध कारणले त्यो निश्छल प्रस्तावलाई स्वीकार गर्न सक्दिनथेँ, तर पनि मलाई खुसी लाग्यो, मलाई पनि कसैले मन पराउँदोरहेछ, त्यो मेरो जीवनका लागि ऊर्जा हो । ‘यसको उत्तर भोलि दिनु ल ।’ क्यासेट प्लेयर स्टप हुँदाको आवाजले म झस्किएँ । टाउको उचाल्दा हिउँको सिरेटोको तीखो झोक्का आइरहेको थियो । हातले कलम समाउने आँट थिएन । मेन्दोको गाउँमा म वि.सं. २०६३ को अन्त्यमा नागरिकता बाँड्ने टोलीसँग गएको थिएँ ।
त्यहाँका अधिकांश युवतीहरू विभिन्न खाडी मुलुकतिर विदेशिने रहेछन् । अभिभावकले करिब १०/१२ वर्षजतिकी देखिने बच्चीलाई १८ वर्ष भएकी भनेर नागरिकता लिने कोसिस गर्दारहेछन् । ती बच्चीसँगै आएका समूहले आफू मामा, काका भएको भन्दै नागरिकता दिन दबाब पनि दिँदारहेछन् । त्यो उनीहरूको गरिबीसँगैको बाध्यता पनि थियो । त्यहाँ आम्दानीको एकमात्र दरिलो विकल्प विदेशिनु नै हो । ती मामा, काका र बाबु भन्नेहरूको तर्क भने छुट्टै थियो, उनीहरू भन्थे-‘सानै उमेरमा आमा मर्यो, दूध खान पाएन, सानैदेखि घाँस र दाउराको भारीले थिचेर बढ्नै सकेन ।’ यस्तै भीडमा आएकी थिई ‘मेन्दो’ पनि । द्वन्द्वमा एक्कासि हराएको बाबुको नागरिकता बोकेर आएकी मेन्दोले आफ्नो नागरिकताका लागि हरतरहले बिन्ती गरेकी थिई तर कानुनी तबरले उनी नागरिकता पाउन सक्षम थिइनन्, उनीजस्ता सयौँ मेन्दोहरू थिए त्यहाँ ।
नागरिकता बाँड्दा मेन्दो र मेन्दोको गरिबीसँग मेरो चिनजान भएको हो । मेन्दो ! त्यतिबेर तिमीले भनेकी थियौ नागरिकता दिने भए ‘बिहा खेल्न’ पनि तयार छु । तिम्रो त्यो खेल्ने बिहा मलाई राम्ररी थाहा छ । सयौँ पुरुषत्वको बीचमा तिमीले मलाई ‘नामर्द’ भन्यौ होला । मैले तिम्रा कुरा अस्वीकार गरेकै हो । तिमीले मैले बजाइरहेको रेडियो बेस्सरी मागेकी थियौ । त्यो नदिने भए ‘तीनपाने लोकल’ एककप खान भनेकी थियौ तर मेन्दो म आम पुरुषभन्दा फरक त्यही छु जुन तिम्रा ती अवोध र अपरिपक्व मस्तिष्कले कल्पना गर्यो गरेन मलाई थाहा भएन । तिमीले द्वन्द्वमा हराएका तिम्रा बाबुको नागरिकता धुवै-धुवाँले पुरिएर चिन्नै नसकिने अवस्थामा भर्सेलीबाट झिकेर दिएकी थियौ । तिमी, तिम्रा दिदीबहिनी, आमा र छिमेकीहरू अझै शान्त भएका छैनन् होला किनकि द्वन्द्वमा हराएका तिम्रा बाबु अझै पनि कागजमा समेत फेला परेनन् ।
मनमा एउटा खुसी थियो रसुवाको दुई वर्षे बसाइपछि भोलि अन्तिमपटक राम्चेको कच्ची सडक हिँड्नु छ, तल हेर्दा भगवान् भरोसा जप्नुपर्ने त्यो सडक अब बाध्य भएर फेरि हिँड्नुपर्ने छैन । मनमा यस्तै अनेक तर्कना र मूर्छनाले डेरा जमाएको थियो । कोल्टे फेर्दा-फेर्दा रात धेरै बितिसक्यो तर निद्रा लागेन । भोलि बिहान उठेर मैले मेन्दोलाई धोका दिनु छ, आखिर म धोका दिनेछु नै । म ‘धोकेवाज’ कर्मचारी हुनेछु हाम्रो साँच्चै धोकेवाज भनिने कर्मचारीतन्त्रमाँझ ।
मधुपर्क २०६८ कार्तिक
