Skip to content

साहित्यिक पत्रकारिताको कष्टकर यात्रा

  • by


साहित्यिक पत्रकारिताले नेपाली पत्रकारिताकै प्रारम्भ गर्ने जस पाएको छ तर एक शताब्दीभन्दा लामो यात्रा पूरा गरिसक्दा पनि यसले शारदाकालीन समस्याबाट समेत पूर्ण मुक्ति पाउन सकेको छैन । संस्थागत विकास र विक्री-विज्ञापनका दृष्टिले यो क्षेत्र न हिजो आत्मनिर्भर बन्न सक्यो, न आज यसले अपेक्षित विज्ञापन र पाठक पाउन सकेको छ । सङ्ख्याका दृष्टिले असन्तोष मान्नुपर्ने ठाउँ नरहला । संस्थागत र निजी प्रयासमा प्रकाशित भइरहेका साहित्यिक पत्रिकाहरूको सङ्ख्या राजधानी र मोफसल दुबैतिर कम छैन । तर सामग्री, मुद्रण, सम्पादन, कागजलगायत तिनका नियमितता, विज्ञापन र विक्रीका आधारमा हेर्ने हो भने निश्चय नै पूर्ण सन्तोष मान्ने ठाउँ छैन । यसको मूलमा आर्थिक अनिश्चितता नै प्रमुख कारक रहेको छ । केही व्यावसायिक साहित्यिक संस्था, केही संस्थागत प्रकाशन गृह र केही आर्थिक दृष्टिले सबल वित्तीय संस्थाहरूबाट प्रकाशित संस्थागत प्रकाशनमा केही मात्रामा आर्थिक सुनिश्चितता देखिए पनि अधिकांश निजी प्रयासबाट प्रकाशित पत्रिकाहरू यसैको अभावमा अपेक्षित रूपले नियमित र स्तरीय बन्न सकेका छैनन् । लामो यात्रा पार गरेर पनि साहित्यिक पत्रकारिताको विकासका लागि आवश्यक पूर्वाधारहरू निर्माण हुन सकेको छैन । जसको अभावमा स्थायित्व र नियमितताको अपेक्षा आफैँमा न्यायसङ्गत नहुन सक्छ । यसर्थ साहित्यिक पत्रकारितालाई संस्थागत स्वरूप दिने, विज्ञापन र राज्यको आवश्यक संरक्षण पाउने वातावरणको निर्माण गर्ने, राष्ट्रव्यापी वितरण प्रणालीको व्यापक संयन्त्र र सञ्जाल निर्माण गर्ने तथा साहित्य र साहित्यिक पत्रिकाका पाठक बृद्धि गर्न पढ्ने बानीको बृद्धिमा सघाउ पुग्नेजस्ता ठोस कार्यक्रमहरू ल्याउन राज्यका तर्फबाट समेत उपयुक्त दृष्टि पुग्नु आवश्यक देखिएको छ ।

आठ/दश अङ्क निस्केर बन्द भएको पहिलो साहित्यिक पत्रिका सुधासागरदेखि येनकेन २८ वर्ष प्रकाशित भएर हराएको शारदासम्मले यिनै बिडम्बना भोग्दै आए । विज्ञापन र पाठक सङ्ख्याको सीमितता, वितरण-मुद्रण आदिका समस्या हिजो जस्ता थिए, आज पनि लगभग त्यस्तै नै छ । साहित्यिक पत्रकारिता अखबारी पत्रकारिताजस्तो पेशा-व्यवसाय दुबै बन्न सकेको छैन । बन्न सक्ने संभावना पनि देखिँदैन । विज्ञापनको स्थायी र भरपर्दो स्रोत अझै देखिन सकेको छैन । प्रकाशित सङ्ख्या सीमित हुनुको कारण व्यापारिक विज्ञापन आकषिर्त हुन नसक्नु स्वाभाविक हो । सम्पादक-प्रकाशकको व्यक्तिगत सम्पर्क र पहुँचबाट जे जति विज्ञापन उपलब्ध हुन्छ, त्योबाहेक विज्ञापन प्राप्तिको कुनै नियमित र स्थायी आधार विकसित हुन सकेको छैन । यस अवस्थामा राज्यले संरक्षणको आवश्यक नीति तय गर्न उपयुक्त देखिन्छ ।

यस पृष्ठभूमिमा पहिलो संस्थागत साहित्यिक पत्रिका मधुपर्कले यही अङ्कबाट आफ्नो प्रकाशनको ४२ औँ वर्षमा पाइलो टेक्नुलाई उपलब्धि नै मान्नुपर्छ । मधुपर्क सञ्चालन-संरचना र स्रोतका हिसाबले संस्थागत प्रकाशन भए पनि यसका आफ्नै सीमा र समस्या छन् । यस्तै समस्या अन्य संस्थागत प्रकाशनमा पनि सहजै अनुभव गर्न सकिन्छ । आर्थिक सुनिश्चितता रहेका प्रतिष्ठान, संस्थान, समिति र सहकारी संस्थाहरूद्वारा प्रकाशित संस्थागत प्रकाशनमा त यो समस्या छ भने साहित्यिक पत्रकारहरूको व्यक्तिगत प्रयासमा प्रकाशित सीमित स्रोत-साधनमा प्रकाशित भइरहेका राजधानी भित्र र बाहिरका साहित्यिक पत्रिकाको अवस्था के होला भन्ने अनुमान गर्न गाह्रो पर्दैन । त्यसैले निजी स्तरका साहित्यिक पत्रिका जेनतेन प्रकाशित हुनुलाई नै चमत्कार ठान्नुपर्ने अवस्था विद्यमान छ । साधन, स्रोत र क्षमताका हिसाबले संस्थागत प्रकाशन निजी क्षेत्रका प्रकाशनभन्दा सम्पन्न देखिए पनि व्यापकता तथा प्रसारका दृष्टिले अझै सशक्त बन्न सकेका छैनन् । ती संस्थाहरूमा पनि साहित्यिक पत्रिका प्रकाशनलाई अनुत्पादक ठान्ने व्यवस्थापकीय मानसिकता छँदैछ । यही मानसिकताका कारण संस्थागत प्रकाशनमा पनि साहित्यिक पत्रिका प्रकाशनमा स्तरीय कागज, छपाइ र अन्य क्षेत्रमा अपेक्षित लगानी प्राथमिकतामा पर्दैनन् । अखबारी लेखनमा लेखकले जति पारिश्रमिक पाउँछ, तिनै प्रकाशनमा सिर्जनात्मक लेखन दोस्रो श्रेणीका ठान्छिन् र अखबारी लेखनको आधा पारिश्रमिक पनि पाउन सक्दैनन् । निजी प्रकाशनको त झन कुरै भएन ।

आधुनिक सञ्चार क्रान्तिका कारण भाषा, साहित्य र संस्कृतिको विकास तथा प्रसारणमा जति अवसर र संभावनाको ढोका खुलेका छन्, त्यति नै चुनौतीहरू पनि थपिँदै छन् । आजको साहित्यिक पत्रकारिताले सामग्री चयन र सम्पादनको क्षेत्रमा मात्र नभएर छपाइ, साजसज्जा र समकालीन पाठकको रूचि तथा आवश्यकताका पक्षमा समेत उत्तिकै ध्यान पुर्‍याउनु आवश्यक भइसकेको छ । तर सधैँ घाटाको व्यापार मानिने साहित्यिक पत्रकारितामा सबैभन्दा ठूलो व्यवधान आर्थिक पक्ष नै हो । साहित्यिक प्रकाशन नाफामूलक व्यवसाय बन्न नसक्ने अहिलेको परिप्रेक्ष्यमा ठूला पूँजीपति यसतर्फ आकषिर्त हुने संभावना नदेखिनुले पनि वैकल्पिक उपायको खोजी आवश्यक ठानिनु पर्छ ।

पाठकसङ्ख्यामा अपेक्षित बृद्धि हुन नसक्नु नेपाली साहित्यिक पत्रकारिताको एउटा प्रमुख समस्या बनेको छ । साक्षरता, क्रयशक्ति र बजारको पहुँच आदिका अनुपातमा पढ्नेेको सङ्ख्या बढेको देखिए पनि स्तरीय साहित्य र साहित्यिक पत्रिका पढ्ने पाठकको सङ्ख्यामा अपेक्षित बृद्धि देखिएको छैन । अङ्ग्रेजी भाषाका आयातित पाठ्यसामग्री, रङ्गीचङ्गी र ग्ल्यामरयुक्त अङ्ग्रेजी र नेपाली भाषाका पुस्तक-पत्रिकाका पाठकमा बृद्धि भए पनि नेपाली पुस्तक-पत्रपत्रिकाप्रतिको रुचि त्यति बढेको देखिँदैन ।

कमजोर परिस्थिति पूर्वाधारमा मात्र नभएर साहित्यिक पत्रकारिता स्वयंमा पनि विद्यमान छन् । यसले न त पूर्णरूपमा समकालीन साहित्य, कला र संस्कृतिको अद्यावधिक आकलन गर्न सकेको अनुभव हुन्छ न सञ्चार क्रान्तिले उपलब्ध गराएको साधन-सुविधाका कारण पाठकमा आएको ज्ञान र रुचिगत परिवर्तनको राम्ररी अध्ययन गरेर त्यसअनुरूप आफूलाई अघि बढाउन नै सकेको देखिएको छ । यसले गर्दा नेपाली साहित्यिक पत्रकारिता पनि समयको आवाज र धारलाई समातेर हिँड्न नसकेको हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । तर संस्कृति निर्माणको अभिन्न अङ्ग बन्ने साहित्यिक पत्रकारिता अखबारी पत्रकारिताजस्तो विकाउ बन्नका लागि बजार निर्देशित र नियन्त्रित मात्र भएर जान सक्दैन भन्ने यथार्थलाई पनि बिर्सनु हुन्न ।

जे होस्, एकचालीस वर्षको अनवरत यात्रामा मधुपर्क सधैँ सर्जक र पाठकप्रति जिम्मेवार रहँदै आएको छ । पाठक र सर्जकको माया पाएर नै यति लामो यात्रा सम्भव भएको हो । यही मायाले निरन्तरता र नियमितता कायम गर्दै नेपाली साहित्यिक पत्रकारितामा एउटा अभिलेख (रेकर्ड) कायम गर्न मधुपर्कले सफलता पाएको छ । अबको यात्रामा पनि पाठक, विज्ञापनदाता र नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा समर्पित सबैको सहयोग पाउँदै जाने कुरामा हामी विश्वस्त छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *