साहित्यिक कृतिहरू बनेका चलचित्रहरू विवादमा अल्झिने परम्परा नयाँ हैन । कुशलताका साथ बनाउन सकेमा यस्ता चलचित्रहरू कालजयी चलचित्रको रूपमा आउन सक्छ । अन्यथा आलोचनाको पात्र मात्र बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । विश्व प्रसिद्ध ‘ओस्कार अवार्ड’ मा सर्वोत्कृष्ट चलचित्रलगायतका आठवटा र विश्वका अन्य प्रतिष्ठित पुरस्कारहरूमा समेत वर्चस्व कायम गर्न सफल भएको चलचित्र ‘स्लमडग मिलेनियर’ पनि एउटा साहित्यिक कृतिमा आधारित चलचित्र हो । भारतीय मूलका साहित्यकार विकास सरूपको ‘क्यु एण्ड ए’ मा बनेको ‘स्लमडग मिलेनियर’लाई दाँजेर हेर्ने हो भने मूल कृति र चलचित्रमा आकाश जमिनको अन्तर रहेको पाइन्छ । यो स्वाभाविक पनि हो । साहित्य भनेको लेख्य माध्यम हो । चलचित्र श्रव्यदृश्य माध्यम हो । यी दुवै अभिव्यक्तिका सशक्त माध्यमहरू हुन् ।
लेखनमा कलमलाई घुमाउने स्वतन्त्रता छ । चलचित्रको पर्दामा अभिव्यक्तिको स्वतन्त्रता हुँदैन । त्यहाँ केही प्राविधिक कठिनाइहरू रहेको हुन्छ । कृतिमा वणिर्त परिवेश वा कलात्मकतालाई पर्दामा प्रस्तुत गर्न नसक्ने अवस्थाहरू रहेको हुन्छ । झन् नेपालमा त चलचित्रको व्यावसायिक सफलता नै चलचित्र मापन गर्ने कसीको रूपमा रहेकोले गर्दा त्यसलाई दृष्टिगत गरी चलचित्र बनाउनु पर्ने बाध्यता छ । त्यस्तो अवस्थामा साहित्यिक कृतिको मूल कथामा केही थपघट गर्नुपर्ने बाध्यता सिर्जना हुनजान्छ । ‘कट्टेलसरको चोटपटक’ माथि ‘वासुदेव’ बनाइदा निर्देशक नीर शाहसमक्ष त्यस्तै खालको बाध्यता तेर्सिएको हुनुपर्छ । यस्तो परिस्थितिमा प्रकाशित कृतिमा बनेको चलचित्र दुरुस्तै कृति जस्तै बन्ने सम्भावना क्षीण हुँदै जान्छ ।
कथा भनेको चलचित्रको मूल विषय मात्रै हो । साहित्यिक कृतिमा चलचित्र बनाइदा कथा मात्रै कृतिबाट उठाउनु श्रेयस्कर ठहरिनेछ किनभने कथालाई चलचित्रको पर्दामा आकर्षक र प्रभावशाली ढड्ढले अगाडि बढाउने काम पटकथाले गर्छ । पटकथालाई कुनै बन्धनमा बाँध्नु हुँदैन । यसलाई स्वतन्त्र छोड्नु पर्छ र पटकथा भनेको चलचित्र निर्माण प्रविधिका जानकार लेखकले मात्रै राम्रो लेख्न सक्छ । यसरी राम्ररी लेखिएको पटकथामा बनेको चलचित्र राम्रै हुने गर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुना मदन’ मा बनेको चलचित्रको पटकथालाई राम्रो पटकथाको दर्जामा राख्न सकिने लेखन मान्नुपर्दछ । पटकथा राम्रो बनाउने क्रममा भएको केही फेरबदलको कारण ‘मुना मदन’ चलचित्रलाई कृतिमाथि अन्याय गरेको आरोप लागेको कुरा त्यत्ति पुरानो हुन पाएको छैन । यसरी आरोप लगाउनेहरूले ‘मुना मदन’ चलचित्रभित्र कृतिमा भएको जस्तो संवेदना र हृदयस्पर्शी संवाद अभिव्यक्ति नभई त्यसको ठाउँमा आधुनिक शैली थोपरियो भनेका छन् । आमाको सपना पूरा गर्न भोट (तिब्बत) गएको मदनलाई चलचित्रमा साहूको प्रताडनाले गर्दा विदेशिनु परेको देखाएर गल्ती गरेको भन्ने आरोप लगाएका छन् ।
चलचित्र ‘मुना मदन’का निर्माता नवराज ढकाल यस्ता आरोपहरूको सिधै खण्डन गर्छन् । कृतिमा ‘क्षेत्रीको छोरो यो पाउ छुन्छन घिनले हैन’ भन्ने पङ्क्ति उल्लेख भएको छ र त्यो पङ्क्तिले त्यहाँ मदनले पाउ नै छुनुपर्ने पात्र छ भन्ने स्पष्ट गरेको छ र त्यो पात्र अरू कुनै नभई मदनको परिवारको गर्जो टार्न ऋण दिइरहने साहू नै हो भन्ने दावी निर्माता ढकालको छ । ‘मुना मदन’ चलचित्रले मोफसलका सहरहरूमा व्यावसायिक सफलता आर्जन गरिरहेकोले पनि यो दर्शकले मन पराएको चलचित्र हो भन्ने कुरा पुष्टि हुन्छ । साधारणतया कृतिमा बनेका चलचित्रले दर्शकको मन जितेको उदाहरण कमै मात्र छ । यस्तै कममध्येको एक चलचित्र ‘वसन्ती’ पनि हो ।
इतिहासको कथालाई उपन्यासमा समेट्न सिपालु मानिने उपन्यासकार डायमनशमशेरको उपन्यास ‘वसन्ती’माथि बनेको चलचित्र ‘वसन्ती’ पनि व्यावसायिकरूपमा सफल नै मानिएको चलचित्र हो । व्यावसायिकरूपमा सफल भए पनि ‘वसन्ती’ चलचित्रभित्र केही ऐतिहािसक तथ्यहरूमा त्रुटि भएको भन्दै कृतिकार शमशेरले त्यो चलचित्र आफूले सोचे जस्तो नबनेको बताउँछन् ।
नेपालमा चलचित्रको निर्माणको इतिहास नै साहित्य र साहित्यकारहरूसित सम्बद्ध छ । नेपालभित्र बनेको पहिलो चलचित्र भनिएको ‘आमा’ का कथाकार दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ पनि साहित्यिक व्यक्तित्व नै हुन् । हिजो आज भोलि र मनको बाँध चलचित्रका लेखक श्रीधर खनाल पनि साहित्यकार नै हुन् र साहित्यिक कृतिमा बनेका नेपाली चलचित्रको इतिहास केलाउने हो भने ‘परिवर्तन’लाई अग्रपङ्क्तिमा राख्नुपर्दछ । यो चलचित्र साहित्यकार जनार्दन समको ‘चेतना’ शीर्षकको नाट्यकृतिमा आधारित छ तर यो चलचित्र बनिंदा ‘चेतना’ पुस्तकका रूपमा प्रकाशित भने भइसकेको थिएन । त्यसको पाण्डुलिपि पढेरै चलचित्रको पटकथा लेखिएको कुरा वरिष्ठ चलचित्र निर्देशक चेतन कार्की बताउँछन् ।
सङ्ख्यात्मक दृष्टिले हेर्दा नेपालमा साहित्यिक कृतिहरूमा थोरै मात्र चलचित्र बनेको देखिन्छ । बनेकामध्ये पनि अधिकांश चलचित्रहरू आलोचनाको शिकार भएको कारणले गर्दा यतातिर पाइला बढाउनेहरू घटेको ठहर निर्देशक नारायण पुरीको छ । कृतिमािथ बनेका अहिलेसम्मका चलचित्रहरूमध्ये गुरूप्रसाद मैनालीको कथामाथि निर्देशक प्रताप सुब्बाले बनाएको चलचित्र ‘परालको आगो’, डा. धु्रवचन्द्र गौतमको ‘कट्टेलसरको चोटपटक’ मा बनेको ‘वासुदेव’ र काजीमान कड्ढदड्ढवाको ‘घरबार कि कारोबार’ मा बनेको ‘नुमाफुङ’लाई उल्लेखनीय मान्न सकिन्छ । व्यावसायिक सफलताको चर्चा गर्दा निर्देशक प्रकाश थापाको ‘सिन्दूर’लाई कोशेढुड्ढाको रूपमा लिइन्छ । यो चलचित्र पनि साहित्यकार दौलतविक्रम विष्टको कृतिमा आधारित चलचित्र हो । यस्तै गरी ‘जीवन रेखा’ शीर्षकको एउटा चलचित्र केशवराज पिंडालीको कृति ‘अन्त्यदेखि सुरु’ मा आधारित चलचित्र हो ।
साहित्यलाई बौद्धिक खुराकको रूपमा लिइन्छ । बौद्धिक वर्गलाई चलचित्रप्रति आकषिर्त गर्ने हो भने साहित्यिक कृतिमा यथेष्ट सङ्ख्यामा चलचित्र बन्न जरुरी छ । त्यसरी बनिने चलचित्र कलात्मक हुनु जरुरी छ । कृतिको कलात्मक अभिव्यक्ति नै निमिट्यान्न हुने गरी बनाइएका चलचित्रहरूले भने नकारात्मक प्रभाव छाड्ने कुरामा द्वैमत गर्ने ठाउँ छैन ।
लीलबहादुर क्षेत्रीको कृतिमा बनेको ‘बसाइँ’, इन्द्रबहादुर राईको कथामा बनेको ‘जार’, प्रकाशको बिदको उपन्यासमा बनेको ‘अर्को जन्म’, वासु शशीको ‘नगद नारायण’मा बनेको ‘लोभिपापी’जस्ता चलचित्रहरूले कृतिभित्रको कलात्मकतालाई प्रष्फुटन गर्न नसक्दा यी चलचित्रहरूले न त बौद्विकरूपमा प्रभाव छोड्न सके न त व्यावसायिक सफलता नै हासिल गर्न सके । नरु थापाको उपन्यासमा आधारित ‘सीमा रेखा’ मोदनाथ प्रश्रतिको ‘सपनाहरू उपहार देशलाई’ मा बनेको ‘बलिदान’ चर्चित र लोकपि्रय पनि भए । यस्तो हुनुको कराण भनेको कृति भित्रको कलात्मक जीवनलाई चलचित्रको पर्दामा आकर्षक ढड्ढले प्रस्तुत गर्न सक्नु हो । साहित्यिक कृतिमा आधारित चलचित्रहरूको चर्चा गर्दा छुटाउनु नहुने नाम भनेको ‘प्रेम पिण्ड’ को हो । बालकृष्ण समको नाट्य कृतिमा बनेको चलचित्र ‘प्रेम पिण्ड’ प्रशंसित चलचित्र हो तर यो कृतिसँग परिचित व्यक्तिहरूले चलचित्रले कृतिको सतांशको एक अंश पनि अभिव्यक्त गर्न नसकेको आरोप लगाए ।
अहिले पारिजातको अमर कृति ‘शिरीषको फूल’ मा बनिरहेको चलचित्र पनि विवादको विषय बनिरहेको छ । लामो समय अगाडि नै निर्माण थालनी गरिए पनि विभिन्न कारणवश पूरा हुन नसकिरहेको चलचित्र ‘शिरीषको फूल’ अहिले निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । यस्तो अन्तिम अवस्थामा विवाद सिर्जना गरेर चलचित्र निर्माण गर्ने पक्षलाई हतोत्साहित गर्नुको सट्टा चलचित्र राम्ररी बन्ने वातवारण बनाइदिनु नै वेश हुने देखिन्छ । चलचित्र सार्वजनिक हुन दिनु नै उत्तम हुनेछ । चलचित्र कस्तो बन्यो भन्ने कुरा सार्वजनिक भई सकेपछि मात्रै थाहा हुने कुरा हो । चलचित्र राम्रो बनेको छ भने कृतिको समेत प्रतिष्ठा बढ्ने निश्चित छ । नराम्रो बनिहाले पनि अमर कृतिको प्रतिष्ठामा कुनै आँच नआउने कुरामा शङ्का गर्ने ठाउँ नै छैन भन्नुपर्दछ ।
