
म त हारेको मान्छे
आफैसँग आफन्तसँग
यो अजनबी दुनियाँसँग
लर्बराइरहन्छ्न मेरा पाइलाहरू
चिप्लिरहन्छ्न भाग्योदयका नक्षत्रहरू ।
दिशाविहीन उबडखाबड गोरेटोमा
बिकिरहन्छ्न मेरा नाराहरू
मलाई उठाउन न आऊ
म त आफ्नैले त्यागेको मान्छे
आकाश पनि खालि छ्न मेरा लागि
जमिन इन्द्रधनुषसँग खेल्छ लुकामारी
पातालको टुङ्गो दिन सक्दिन म ।
यी हेर खाली हात छ्न मेरा
पैतलामा टासिएका धुलो बाहेक
म त दागै दाग लागेको मान्छे
दुनियाँलाई देखाउन पुछ्न न आऊ
किनकि म त मरेको मान्छे
फोहोरका कन्टेनरसँग
गल्लीका भुस्यहाँ कुकुरहरूसँग
शहरका सटर र भित्ताका काखहरूसँग
भो नसोध मेरो दैनिकी
म दौडिदै गरेको दिन हुँ
रोकिएको रात हुँ
ढल्दै गरेको गोधूलि हुँ
स्वर भासिएको कोइली हुँ
दाग लागेको चादनि हुँ ।
म त खोटै खोट लागेको मान्छे
भो फोहरमा न आऊ
किनकि म त दाग लागेको मान्छे
त्यो रातसँग त्यो दिनसँग
त्यो कोकिल कण्ठि स्वरसँग
चादनिको रोशनीसँग
ममता र करुणाको गहिराइसँग
अनि आफन्त को मायासँग
म त हारेको मान्छे
यी स्तुपाहरूसँग
यी शङ्ख ध्वनिसँग
यी सदा नीरा, यी भागीरथीहरूसँग
मानिसहरुकोको मुटु बिझाउने वचनसँग
त्यो निलो गगनमा देखिने सप्तरङ्गी इन्द्रधनुषसँग
त्यसैले त श्याम र श्वेतमा कुनै अन्तर देख्दिन म
खुला आकाश र सागरको रङ्ग
क्रन्दन होस या उमङ्ग
कुनै रङ्गको आकार क्यानभासमा सजाउन सक्दिन
म त रोग भोक र शोकसँग हारेको मान्छे
प्याससँग मृत्युको सम्झौता गरेको मान्छे
इच्छा र रहर जलाएर
तृण रातमा लाख बत्ती ताप्ने मान्छे
म त मेरा बाबा र आमाले त्यागेको मान्छे
ए स्वार्थी दुनियाँ …
भो मलाई कुनै सम्बोधन चाहिन्न
म त आफ्नैसँग हारेको मान्छे ।

शिर्षक कसरी अलग भयो म आफै मा अनभिज्ञ छु । घर परिवार बाट अलग गरिएको एउटा अनाथ मानिसलाइ यतीम भन्ने कुरा संस्कृतको शब्दकोष मा सुसज्जित छ । यस लेखको शिर्षक यति म नभै यतीम रहेको कुरा यहाँ हरु सबैमा सुचित गर्न चाहन्छु । धन्यवाद
शीर्षक सच्याइएको छ, हरिजी ।
धन्यवाद एडमिन ज्यु