(भक्त आफ्नो घरको आँगनमा खेलिरहेको हुन्छ । उसका दुई भाइ पनि ऊसितै खेलिरहेका हुन्छन् । त्यत्तिकैमा उदिन भक्तको आँगनमा आइपुग्छ ।)
उदिनः खेलिरहेछौ भक्त ?
भक्त ः (उदिनलाई हेर्दै) हो, खेलिरहेको छु ।
उदिन ः हिजो र आज तिमी विद्यालय किन
नगएको ? (खेलिरहेको ठाउँमा पुगेर उदिनले भक्तलाई सोध्यो ।)
भक्त ः त्यसै ! (उसले सजिलै छिटो जवाफ दियो ।)
उदिन ः त्यसै पनि विद्यालय नजाने ? त्यसरी त पढाइ छुट्छ त !
(त्यसैबेला घरभित्रबाट भक्तकी आमा बाहिर आँगनमा आइपुग्नु हुन्छ । उहाँ सबैलाई हेर्नुहुन्छ ।)
उदिन ः नमस्ते काकी !
भक्तकी आमा ः नमस्ते बाबु ! (एक छिनपछि) हेर न बाबु काका बिरामी हुनुभयो । त्यसैले भक्ते विद्यालय जान पाएन । आउ न बस ।
उदिन ः ए, हो र ! के भयो काकालाई ?
भक्तकी आमा ः हेर न, ज्वरो आउँछ । कामज्वरो आउँछ । जिउ बेस्सरी दुखेको छ भन्नुहुन्छ । कुनै बेला खलखली पसिना पनि आउँछ । फेरि एकछिनपछि सिताङ्ग हुन्छ ।
उदिन ः ए, हो र ! खै हेरौँ त काकालाई ।
(उदिन भक्तकी आमाको पछिपछि लाग्छ । ढोकाभित्र पस्दै गर्दा उदिनले काकालाई भित्र खाटमा ओछ्यानमा सुतिरहनु भएको देखेको हुन्छ ।)
उदिन ः (दुई हात जोडेर अघि बढ्दै) काका, नमस्ते !
काका ः (हेर्दै सिकिस्त बिरामी देखिन्छन् । मलिन अनुहार र साह्रै गलेको । उदिनलाई नमस्के फर्काउँदै) नमस्ते बाबु !
भक्तकी आमा ः (उदिनलाई उभिरहेको देखेर) बस न उदिन ।
उदिन ः काकालाई त औलोको लक्षण देखिन्छ । उपचारको लागि स्वास्थ्य संस्था लगिहाल्नुपर्छ । ढिलो गर्नुहुँदैन ।
भक्तकी आमाः औलो ! (आश्चर्य मान्दै) के हो औलो भनेको ?
उदिन ः यो एक सरुवा रोग हो । यो लामखुट्टेको टोकाइबाट सर्छ । पहिलापहिला औल भनिन्थ्यो नि ! हो, त्यो खासमा औलो हो ।
(यतिबेला भक्त पनि कोठाभित्र पसेर बाबु छेउमा बसिरहेको हुन्छ । ऊ ध्यान दिएर सुनिरहेको छ ।)
उदिन ः (कुरा थप्दै) यो उपचारपछि ठीक हुन्छ ।
काका ः कसरी भयो होला त हँ, मलाई यो औलो ?
उदिन ः यो क्युलेक्स जातको पोथी लामखुट्टेले टोकेर हुने हो । हाम्रो घर वरपर फोहर, फोहर पानी जमेका खाल्डाखुल्डी होला । त्यही खाल्डाखुल्डीमा लामखुट्टेले फुल पार्दै हाम्रो घरमा बास बस्छ । फेरि नि यो पोथी लामखुट्टेले मात्र हामीलाई टोक्छ । भालेले त पात, फलफूलका रस मात्र चुसेर खान्छ । त्यही सङ्क्रमित पोथी लामखुट्टेले टोकेपछि सर्छ ।
भक्त ः (आश्चर्य मान्दै) हो र उदिन ?
भक्तकी आमा ः यसबाट बच्ने उपाय होला त ?
उदिन ः किन नहुनु नि ! पहिलो कुरो त हामी लामखुट्टेबाट जोगिनुपर्छ । यसको लागि सरसफाइमा ध्यान दिन अति जरुरी छ । घरका भित्ताहरू सफा हुनुपर्छ । प्वाल भए टालिदिनुपर्छ । घर वरिपरि भएका खाल्डाखुल्डी पुरिदिनुपर्छ । करेसाबारीमा लगाइने पानी दिनहुँ फेर्नुपर्छ । घरमा झुल लगाएर सुत्ने गर्नुपर्छ । साँझपख घरबाहिर निस्कनु हुँदैन । निस्कनु परे लामो बाहुला भएको लुगा लगाएर निस्कनु राम्रो हुन्छ ।
काका ः (जिज्ञासा मिसिएको स्वरमा विस्तारै ) उपचार लाग्छ कि ?
उदिन ः समयमै उपचार गरे निको हुन्छ । फेरि नि यो उपचार सरकारले निःशुल्क गरिदिन्छ । हामीजस्ता गरिबले पनि यो उपचार निःशुल्क पाउँछौँ । यसको लागि स्वास्थ्य-चौकी वा अस्पताल जानुपर्छ ।
काका ः त्यसो हो भने बाबु अब स्वास्थ्यचौकी जानुपर्छ होला । मलाई त सहनै नसाकिने भएको छ ।
भक्तकी आमा ः हो, अब ढिला गर्नुहुँदैन । सबै कुरा बुझिहालियो । अब पनि ढिला गर्नु बुद्धिमानी चाहिँ हुँदैन है !
उदिन ः हो काकी, हामीले अब ढिला गर्नु हुँदैन ।
भक्त ः मचाहिँ गएँ है फोहर पानी जमेको खाल्डाखुल्डी पुर्न ।
काका ः लौ लौ !
उदिन ः लौ लौ !
भक्तकी आमाः लौ लौ ! (सबैजना एकै स्वरमा स्वर मिलाई भन्छन्)
भक्तकी आमा ः करेसाबारीको पानी पनि फेरिदेऊ है भक्ते ।
भक्त ः हुन्छ आमा ।
भक्तकी आमा ः घर र घरवरपर सरसफाइ गर्नुपर्छ । घरका भित्ताका प्वाल टालिदिनु पर्छ । हैन त उदिन ?
उदिनः (हाँस्दै) हो….हो ।
(पर्दा खस्छ)
