
भारतको केरलामा कार्यरत जीतबहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो ।
गाउँको घर, थोरै मात्रै जग्गा जमिन, त्यसमा खेतीपाती गरेर जेनतेन मुख र मुठ्ठी जोड्ने काम चल्दै थियो । जीतबहादुरकी श्रीमती मैनाले तीन ओटा बाख्रा पालेकी थिइन् । छोरीहरू सानै थिए । बुढा भएका बुवा आमा र साना बाल बच्चालाई गोरसको लागि दएउटा दुहुनो भैंसी गोठमा थियो ।
आज लाहुरे आएको दिन घरमा छिमेकीहरू जम्मा भएका थिए । तीन वर्षपछि परिवार आफन्त र छिमेकीलाई भेट्न पाउँदा जीतबहादुर असाध्यै खुशी थियो । छोरीहरू नयाँ लुगा लगाएर चकलेट खाँदै रमाउँदै, खेल्दै थिए ।
भारतमा हुँदा जीतबहादुरसँगै काम गर्ने गोपालमानको घर पनि त्यहीँ गाउँमा थियो । गोपालमानले केही सामान घर पठाएको हुँदा नासो छोड्न भन्दै जीतबहादुर माथिल्लो गाउँतिर लाग्यो । नयाँ बिहे गरेर आएकी अनितासँग भेट भयो । अनिताले गाउँको स्कुलमा पढाउने गर्थिन् । जीतबहादुरलाई देख्न साथ अनुमान लगाइन यो लाउरे पक्कै मैनाको श्रीमान हुनुपर्छ भनेर । अनिताले उनीहरुको बच्चालाई पढाउँथिन् ।
अनिताः नमस्कार सर ! हजुर मैनाको श्रीमान है ? कता हिड्नुभएको ? आरामै आइपुग्नुभयो ?
जीतः हजुर म मैनाको श्रीमान हुँ ! राम्रै आइपुगे । तर मैले हजुरलाई चिन्न सकिन नि ?
अनिताः म अनिता थापा हजुरकी छोरीहरुलाई पढाउँछु । छोरीहरू अनि मैनाले हजुरको कुरा गरिरहन्थे अनि सोधकी ।
एकछिन् कुराकानी गरी दुवै छुट्टिए । जीतबहादुरले साथीको घर गएर नासो बुझायो र परिबारलाई भेटेर आफ्नो घर फर्कियो ।
दिनहरू बित्दै गए । जित बहादुरको फेरि भारत फर्किने बेला नजिकिँदै थियो । यता, तीन छोरी हुँदाहुँदै सामाजिक दवावमा छोरा जन्माउने चाहनाले मैना फेरि गर्भवती भई । पढेलेखेकी बुझेकी अनिताले धेरै सम्झाउने कोशिस गर्थिन् तर मैनाको सोच परिवर्तन गर्न सकिनन् । अनिता स्कुल पढाउने कामको अलावा जीवन बीमाको काम गर्थिन ।
चाडबाड सकिए, हिउँद लाग्यो, घरमा खर्चको जोहो गर्नुपर्ने दिन आउदै थियो । अन्ततः जीतबहादुर पुनः भारत जानुपर्ने भयो ।
आज जीतबहादुर भारत जागिरमा फर्किने दिन । गाउँलेहरू भेटघाट गर्न घरभरि जम्मा भएका थिए । कसैले आफ्ना छोरालाई पठाउन गुन्द्रुक र अचारको पोको लिएर आएका थिए । बाहिर सबैजना बसेर गफगाफ गर्दै थिए ।
यत्तिकैमा जीतबहादुरका बुढा बाउले दुखेसो पोखेः अब कहिले आउँछस् नि जितु ?
हामी डाँडामाथिका घाम भैगयौं, कति बेला अस्ताउने हो थाहा हुदैन । फेरि भेट्न पाइने हो कि होइन ।
यति भन्दै सुक्क सुक्क रुन लागे ।
आमाले छोरालाई बाटोमा खानेकुरा बनाएर झोलामा राख्दै भनिन्ः बाबु केही खानेकुरा बाटोमा खानू, केही डिउटीबाट आउँदा भोकाएको बेला खाएस है ?
अब कहिले आउने होस् तँ आउँदासम्म मरिन्छ कि बाबु । (आमाको पनि उस्तै कुरा)
आमाः चाडै फर्केस है …
मझेत्रोले आसुँ पुछ्दै आमा भित्र पसिन् ।
बिदावारी गरी जीतबहादुर भारततर्फ लाग्यो । अलि तल पुगेपछि शिक्षिका अनितालाई भेट्यो, केहीबेर कानेखुसी गरे । जीतबहादुरले झोलाबाट केही समान निकालेर अनितालाई दिँदै अघि बढ्यो । गोरखपुरको रेल भेट्न हतार भैसकेको थियो ।
सुनौलीमा पुगेर खाजा खायो । बाटो खर्चको लागि भारतीय पैसा साट्यो र गोरखपुरको बसमा चढ्यो । दुई तीन घन्टाको यात्रा पछि गोरखपुरको रेल स्टेसन पुग्यो । त्यहाँ अरु नेपालीहरुसँग भेट भयो । केरला जाने साथीसँगै टिकट काटेर रेलमा चढेर जीतबहादुर आफ्नो गाउँ छोडेर टाढाको यात्रा तय गर्दैछ ।
मनभरी परिवारको सम्झना आयो । यो लाहुरे जिन्दगी न परदेश लागेर टन्न पैसा कमाउन सकिने न परिवारसँग बसेर आँटो पिठो खान पुग्ने । घरिघरी आफैलाई धिक्कार्थ्यो । आफ्नो गरीबी प्रति । राज्यले देशका युवालाई स्वदेशमै रोजगार नदिँदा बिदेशिनु परेको व्यथाले भरिएको र कुडिएर अमिलो भएको मन लिएर रेलको आवाजसँगै उसको यात्रा छोट्टिदै थियो ।
छकछक् छकछक् गदै रेल आफ्नै गतिमा हुईँकिँदै थियो । जीतबहादुरलाई कटक्क पेट काट्यो । शौचालयभित्र अर्को मानिस रहेछ । ढोका खुलेन । पालो पर्खिरहेको बेला झुक्किएर जीतबहादुर रेलबाट खस्यो । उसको घटनास्थलमै मृत्यु भयो ।
जीतबहादुर रेलबाट खसेको खबर अर्को स्टेसनमा पुगेपछि बल्लसँगै हिडेका साथीले थाहा पाए । घटनास्थल फोन गएर पुलिसले जानकारी गराए । नेपालीहरू मिलेर दाहसँस्कार गरे ।
यता घरमा पुरै परिवारको बोझ एक्लैले टाउकोमाथि बोकेर हिडेको व्यक्ति दुनियाँबाटै हरायो । केहीदिन पछि घरमा खबर आयो । बुढा भएका बुवा आमा स–साना छोरी गर्भवती स्वास्नीको बिजोग भयो । सबैजना रुन कराउन लागे गाउँलेहरू आए । सम्झाउने बुझाउने र लागे ।
आफै डाँडामाथिको घाम, छोराको काजकिरिया गर्नु पर्यो बुढेसकालमा पर्नु शोक पर्यो । जवान छोरो गयो म बुढो किन बाँच्नु पर्यो भन्दै बुवा मुर्छा परे । बृद्ध शरीर अनि शोकमा छोराको काजकिरिया गर्नै नसक्ने अवस्थामा पुगे जित बहादुरका बाबु अनि छिमेकीलाई क्रिया गर्न लगाइयो ।
चौध दिनपछि साहुहरू ऋण उठाउन आए । जीतेले यति लगेको थियो भनी नभएको पैसा पनि माग्न थाले । बिचरा घर एक पैसा छैन के दिनु ? मौकाको फाइदा लुट्नेले कसैले भैसी फुकाउन लागे कसैले बाख्रा । घरमा बीचल्ली भयो बुवा थला परे । छोराको खबर सुनेदेखि बृद्ध बाबु आमा शिथिल बन्दै गइरहेका छन् । पतिको नासो यस पटक छोरा जन्माउने आशामा रहेकी मैना गर्भवती अवस्थामा शोकले भोक न प्यासको अवस्थाबाट जीवन गुजार्दै थिइन् ।
गाउँका मुखियाले घर खाली गर्देऊ भन्दै थिए । मैना बिरामी हुँदा जग्गा धितो राखेको स्मरण गराए । गाउँलेले टुलुटुलु हेरिरहेका थिए । साहुको ऋण कसले तिर्न सक्छु भन्ने कोही थिएनन् । बिचरी मैना हतास, निराश र स्तब्ध थिइन् । बज्र उनको शिरमाथि बजारिएको थियो । गाउँले आउँथे, सान्त्वन्ना दिएर जान्थे, गर्ने, दिने कोही थिएनन् ।
महिनादिनको मासिक सकिएको थियो, मैना र बृद्ध आमा बुवा बसेर कुराकानी गर्दै थिए । अलि तलबाट जित बहादुरको कुरा गर्दै तीनजना सुकिला मान्छेहरू घरतिरै सोझिएर आउँदै थिए । जित बहादुरका बृद्ध बाबु आत्तिए, फेरि को के माग्न वा भन्न आएका हुन् भन्दै डराए ।
सबैभन्दा अगाडि शिक्षिका अनिता थिइन् । अर्का एक जना वडा अध्यक्ष र अर्का एक जना नचिनिएका पुरुष थिए ।
जित बहादुरका बुवाले शिक्षिकलाई अघि लगाएर वडा अध्यक्ष आफै आएको देखेपछि नातिनीहरुले केही बिगारेका पो थिए कि ? वा छात्रवृत्ति दिन्छौं भन्दै आएछन् वा जित बहादुरले अरु पनि ऋण लिएको थियो र उठाउन पो आएकी भन्दै अनुमान गर्दै बसे ।
पिंढीमा बसेकी मैना मलिन भएर बसिरहेकी थिइन् । एकैछिनमा गाउँका अरु भद्रभलाद्मीहरुपनि भेला भए । आगनीको पुत्र वियोगमा परेका बुढा बा–आमा टोलाइरहेका थिए ।
अनिताले मैनालाई अँगालो हालिन् । सानो भेला नै भैसकेको थियो । अनिता एक जीवन बीमा कम्पनीकी अभिकर्ता थिइन् । उनले जीतबहादुर विदेशबाट आउने वित्तिकै छलफल गरेर ४० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गरी पहिलो किस्ता बुझाएर गएको बताइन् । बीमा बाँचेमा आफैले पाउने र कुनै कारणबश मृत्यु भएमा आफूमा आश्रित परिवारले पाउने लाभ भएकोले सोही जोखिम बापतको दावी भुक्तानीको लागि आफूहरू आएको जानकारी गराइन् । अनिताले झोलाबाट एउटा फाइल निकालिन् । मैनालाई हस्ताक्षर गर्न लगाइन् । वडाध्यक्षको हातबाट मैनालाई चालिस लाखाको चेक हस्तान्तरण गरियो ।
अध्यक्षले छोटो मन्तव्यमा भनेः जीतबहादुरजीले अनिता म्याडम मार्फत जीवन बीमा गर्नुभएको थियो । दुर्घटनाबाट उहाँको दुखद निधन भैसकेको हुनाले उहाँलाई हामीले पाउन नसकेपनि उहाँले परिवारप्रति छोडेको यो जिम्मेवारी हो । यो रकम हजुरको परिवारको पीडामा मलहम बन्न सकोस् । जीतबहादुरप्रति हाम्रो श्रद्धा छ ।
मैनाले लामो सास फेरिन्, पेटमा हुर्कदै गएको जित बहादुरको गर्भ अनि उनले छोडेर गएको नासो सम्झिन् । उनका लागि सबै सपना जस्तो लाग्यो । मैनालाई समूहबाट ऋण काडेर जबर्जस्ती नौगेडी र झुम्का किन्दिन बाध्य पारेको याद आयो । गहनाकै लागि कति झगडा गरको स्मरण समेत गरिन् ।
जीतबहादुरले गाउँले साथी गोपालमानसँग पैसा सरसापट गरेको कुरा अनिताबाट थाहा भयो ।
सो भेलामा मैनालाई केही बोल्न मन लाग्योः मैले मेरो राजालाई किन बुझ्न सकिन ? कहाँ जानुभयो मेरो प्रिय ? आफू जाँदा जाँदै हाम्रो लागि यति ठुलो महान् काम गरेर छोड्नुभएको रैछ बल्ल मेरो होस् खुल्यो बुद्धी पस्यो तर के गर्नु मैले हजुरलाई गुमाइसके । उनी छाती पिटी पिटी रुन थालिन् ।
यदि आज यो पैसा आउने थिएन भने हाम्रो घर बास उजाडिने थियो । म कहाँ जान्थे होला ? बृद्ध अवस्थाका सासू ससुरा र यिनी लालाबाला कहाँ लैजान्थे होला । जिन्दगीको केही भरोषा नहुँदो रैछ । भोलि म पनिरहिन भने यो परिवारको मेरा लालाबालाको अवस्था के होला ?
एकैछिनमा शरीरमा भएका सबै गहना फुकालेर एउटा मुट्ठीमा राख्दै हात उचाल्दै भनिन्ः
अब मैले यी गहना लगाउँदिनँ । यी गरगहना र मेरो श्रीमानको नासो यो पेटको बच्चा जन्मिएपछि यिनै गहना बेचेर सन्तानको नाममा बीमा गरिदिन्छु । बार्षिक रुपमा किस्ता तिर्न नसकुँला त्यसैले ऋण तिरेर बचेको पैसा सबै बच्चाको नाममा फिक्स बीमा जम्मा गरिदिने बाचा गर्छु । गाउँले सबै स्तब्ध भए । बीमाको महत्व केहीहदसम्म बुझे ।
मैना अनिताको काखमा घोप्टो परेर रोइरहिन् ।
कल्पना पौडेल ‘जिज्ञासु “
गैंडाकोट नवलपुर
हाल खजुरा बाँके
