Skip to content

सप्तरीमा मनाइयो देवकोटाको जन्मजयन्ती

  • by

सप्तरीको कञ्चनरूप नगरपालिकामा साहित्यिक गोष्ठी गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती मनाइएको छ ।

सप्तरीको कञ्चनरूप, सप्तकोशी र राजविराज नगरपालिका तथा उदयपुरका सहित्यकारहरूले देवकोटाको चर्चा र रचनावाचन गरेर देवकोटाको जन्मजयन्ती मनाएका हुन् ।

सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा भएको गोष्ठीीमा नन्दलाल आचार्य, मेघराज पौडेल, मनोहर पोखरेल, शम्भु कार्की, ईश्वरीप्रसाद नेपाल, मान्सी मनोहर, सुजता बुढाथोकी, दिनीशा कटुवाल, अञ्जली कटुवाल, कृतिका न्यौपाने, प्रज्ञा कोइराला, विपाशा चौधरी, सुमित्रा परियार, प्रतिक विष्टले कविता र गजल वाचन गर्नुभयो ।

प्रलेस सप्तरीका उपाध्यक्ष मेघराज पौडेलको अध्यक्षता र कञ्चनरूप नगरपालिकाका नगरप्रमुख वसन्त मिश्रको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्वागत सर्वोदय माविका प्रधानाध्यापक तारानन्द मल्लिकले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि मिश्रले अलौकिक प्रतिभाका धनी महाकवि देवकोटाले नेपाली साहित्यलाई विश्वमा परिचित गराउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले साहित्यिक पुस्तकालय निर्माण र जिल्लास्तरको प्रतियोगितात्मक साहित्यिक कार्यक्रम गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो । उहाँले अब नगरपालिकाको ध्यान कोभीड १९बाट सबैभन्दा बढी प्रभावित बनेको शिक्षा क्षेत्रमा जाने बताउनु भयो ।

यसैगरी सप्तकोशी नगरपालिका नगर प्रमुख उत्तम गौतमले महाकवि देवकोटा विशिष्ट साधक भएको विचार व्यक्त गर्नुभयो । उहाँले महाकवि देवकोटाको योगदानलाई चीरस्थायी राख्न र सप्तरीमा साहित्यिक गतिविधिलाई प्राथमिकता दिन सरोकारवाला गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेल, सचिव नन्दलाल आचार्य, प्राध्यापक विश्वराज खतिवडा, पूर्व प्रधानाध्यापक तीर्थराज उपाध्याय, शिक्षक नारायण खडका, पत्रकार उत्तम आचार्यलगायतले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको विशद् चर्चा गर्नुहुँदै देवकोटा नेपाली साहित्यका विशिष्ट साधक तथा विराट र शिखर प्रतिभा भएको विचार व्यक्त गर्नुभयो ।

महाकवि देवकोटाको जन्म विसं १९६६ कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै नेपालसहित नेपाली भाषी बाहुल्य रहेका अन्य देशका विभिन्न क्षेत्रमा पनि लक्ष्मीपूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।
पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साइँलो छोराको रूपमा जन्मिनु भएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रगतिवादी धाराको सुरुवात गर्नुभएको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।

दस वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृतिदिनुभएको छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु भयो ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।

वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।

नानीमैया कटवाल
सप्तरी, १८ कात्तिक, २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *