
यसपालाको दशैँ र तिहार मामाघरमै मनाउने भइयो । मेरो मामाघर पूर्वी तराईको सप्तरी जिल्लाको रूपनगरमा पर्छ । तिहार सकिनासाथ फेरि चारैतिर झिलीमिलीले रमाइलो वातावरण बनाएको थियो ।
‘तराईमा दुइटा तिहार मनाइन्छ कि क्या हो मामू ?’
मेरो मुखबाट निस्केको प्रश्न सुनेर मामू मुस्कुराउनु भएको थियो । र, सानो स्वरमा भन्नुभएको थियो, ‘तराईमा मात्रै तिहार जत्तिकै महत्त्वको छठ पर्व आउँदै छ ।’
‘छठ पर्वका बारेमा भन्नुस् न मामू ?’ हत्तपत्त मेरो मुखबाट बोली निस्किहाल्यो ।
मेरो प्रश्न भुइँमा खस्नै नपाईकन आमाले यसो भन्नुभयो– छठ या षष्ठी पूजा कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने हिन्दू पर्व हो । सूर्योपासना गरिने यो अनुपम लोकपर्व हो । मुख्य रूपमा नेपालको तराई क्षेत्रमा मनाइन्छ । भारतको बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेशमा समेत सबैभन्दा ठुलो पर्वको रूपमा मनाइन्छ ।’
‘अरू पनि भन्नुस् न ।’
मेरो प्रश्नको उत्तरमा थप्नुभएको थियो, ‘हिन्दूद्वारा मनाइने यो पर्व इस्लामसहित अन्य धर्मावलम्बीले पनि मनाउन थालेका छन् । विश्वभरमै प्रचलित हुँदै गएको छठ पूजा सूर्य, उषा, प्रकृति, जल, वायु र उनीहरूकी सानी बहिनी छठी मइयामा समर्पित हुन्छ । छठपर्वको अनुष्ठान कठोर हुन्छ । चार दिनसम्म मनाइन्छ । छठमा कुनै मूर्तिपूजा हुँदैन ।’
यत्ति भनेर मामू नयाँ चुलो बनाउन व्यस्त हुनुभयो । हजुरआमा र वर्षा माइजू ठकुवा, भुसुवा र अन्य मिष्टान्न परिकारहरू पकाउन जुट्न थाल्नुभयो । म भन चुपचाप सबै चालचलन नियाल्दिरहेँ ।
२०७८–०७–२१ आइतबार
