उ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा सिँदुरे जात्रा नै भएको थियो । गुरुवर्गहरुले भने यो ठिटो यो विद्यालयको सम्पत्ति हो सान हो । धेरै बर्ष पहिले समयमा सदरमुकामको अस्पतालमा उपचारका लागी पुर्याउन नसक्दा अकाल मृत्युवरण गर्न पुगेकी आफ्नी प्यारी आमाको सम्झना गर्दै उसले चौतारीमा भेला भएका सबैका सामु आफ्नो ईच्छा जाहेर गर्यो कि उ यही गाँउमा एउटा डाक्टर भएर आएर गाँउ र देशको सेवा गर्न चाहन्छ । यो उच्च विचारको सबैले महान भनेर प्रशंसा गरे । सबैले भगवानसंग पनि प्रार्थना गरे कि यो ठिटो डाक्टर नै होस । उसका बाउले आफ्नो सन्तानको मुखबाट यस्तो महान विचार निक्लदा हर्षको आँशु झारेका थिए ।
उच्च शिक्षाको लागी उ राजधानी जाने तयारी गर्दा गाँउघरका सबैले उसका बाउलाई आवश्यक सहयोगका लागी तयार रहेको बताए । गाँउबाट उसको बिदाई गाँउघर गुरुजन सबैका लागी हर्ष र बिछोडको संगम जस्तै भएको थियो । साहै भावुक हुनेहरुले आँशु पनि बहाएका थिए । गाँउ छोडेर हिड्दा उसले चौतारीमा पुगेर एकपटक फर्केर आफ्नो गाँउघरलाई हेर्यो अनि मायाले त्यो प्यारो गाँउलाई एकपटक चुमेको थियो ।
मिहेनती भएका कारणले राजधानीमा पनि उसंग समय सधै कम नै रह्यो । डेरामा बसेर छिमेकीका बच्चालाई टयुसन गरेको पैसाले डेरा र खानाको खर्च निकालथ्यो । कलेज फी त माफी नै थियो । त्यसैले उसलाई गाँउ फर्कन समय नै मिलेन । बाउ कहिलेकाही छोरो भेट्न आँउदा उ आफ्ना गुरुवर्ग, गाँउघर, आफन्त सबैलाई सम्झनाका शब्दहरु पठाउथ्यो ।
XXX
अन्तत सरकारी छात्रवृत्ति पाएर उ विदेशमा डाक्टरी पढ्न गयो भन्ने सबैले सुने । आजभोली उ विदेशमा एउटा ठुलो अस्पतालमा डाक्टर छ भन्ने पनि सबैले सुनेका छन । समय समयमा उसका बाउ सदरमुकाममा छोराले पठाएको घर खर्च लिन पुग्छन । बाउको आफ्नै पैतृक सम्पत्ति भएकाले छोराको विदेशको कमाईमा भर गरेर खानु वा मोज गर्नु लक्ष नभएकाले छोराले पठाएको सबै पैशा उसैले बाल्यकालमा शिक्षार्जन गरेको स्थानिय विद्यालयलाई छोराले विद्यालयको लागी पठाईदिएको भनेर दिईदिन्थे । सम्भवत उसका बाउले जीवनमा बोलेको केवल यही एक मात्र झूठ थियो । उता गुरुजनहरु आफ्नो शिष्यले आफुले अध्ययन गरेको विद्यालयप्रति देखाएको सहयोगी भावनाको सराहना गर्थे ।
उसका बाउले गाँउ कहिले फर्कन्छस भन्ने प्रश्न गर्दा उसको छोरो चाहीले दिने एउटै खालको जवाफ झलझली सम्झनामा आईरहन्थयो “बा पढ्दा पढ्दै आधा उमेर बितिहाल्यो । उता आयो भने पढ्नका लागी गरेको यत्रो मिहेनतको वास्तविक फलको एक छेउ पनि मिल्दैन । उता कमाई एकदम कम छ । बच्चाहरु पनि यतैको वातावरणमा भिजिसके । तपाईकी बुहारी पनि गाडी आफै चलाएर ठूला ठूला शपिङ मलमा मात्रै जान रुचाउँछे । अब यी सबै कुराहरु उता मिल्दैन त्यसैले उ पनि आउन मन गर्दिन । म मात्रै एक्लै आएर के गर्नु । तपाई पनि के त्यही गाँउ भनेर बस्नु हन्छ बरु यतै आउनुस टिकट भीसा पठाईदिन्छु । मान्छेले समय अनुसार परिवर्तन पनि हुनु पर्छ ।”
यिनै कुराको सम्झनाले कहिलेकाही आँशुका थोपाहरुले पीढीको डील भिजाईसकेको पनि ति बाउ पत्तै पाउँदैनथे ।
khadkabinod02@yahoo.com

ramro chha
ramro chha
धन्यवाद ।
धन्यवाद ।
Samaye le manish lai kaha
Samaye le manish lai kaha kaha puryauchha…….
के भन्नु र आज भोली का सबै
के भन्नु र आज भोली का सबै मान्छे हरु यस्तै हुन्छन होइन र ?